कार्यालय प्रमुख नहुँदा पालिकाका काम ठप्प

मन्त्रालयले सरुवा गरेका हाकिम जिल्ला आउन नमानेपछि पालिकाको योजना सम्झौता लगायतका सम्पूर्ण काम रोकिएको नगर प्रमुख जनचन्द्र रोकायले बताए ।

पुस २६, २०८२

रामचन्द्र न्यौपाने

Municipality's work stalled due to absence of office chief

What you should know

डोल्पा — हिमाली जिल्लाका स्थानीय तहदेखि सरकारी कार्यालयमा प्रमुख र अन्य कर्मचारी नटिक्दा कामकाज प्रभावित भइरहेको छ । सरुवा गरेर जिल्लामा आउन नमान्ने र केही गरी आइहाले पनि धेरै समय नटिक्ने कर्मचारीका कारण सेवाग्राही मारमा छन् ।

यहाँको त्रिपुरासुन्दरी नगरपालिका अहिले कार्यालय प्रमुखविहीन छ । गत मंसिरमा सुर्खेतमा आयोजित कार्यशालामा सहभागी हुन गएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नोखिराम वली जिल्ला फर्किएनन् । पुस पहिलो साता सरुवा भइसकेको जानकारी गराएर उनी फर्किएनन् । राय सल्लाह नलिई मन्त्रालयले वलीको काभ्रेको पनौती नगरपालिकामा सरुवा गरेपछि स्थानीय तहको कामकाज ठप्प भएको जनप्रतिनिधिको गुनासो छ ।

उक्त पालिकाका जनप्रतिनिधिले मन्त्रालयसँग परामर्श गरेर त्यहाँ कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्त कार्यालय प्रमुख बनाउन खोजेका थिए । उनीहरूले कृषि शाखामा कार्यरत कृषि विकास अधिकृत दीपेन्द्र ऐडीलाई प्रमुख बन्न अनुरोध गरेका थिए । तर, एडीले जनप्रतिनिधिको प्रस्ताव अस्वीकार गरे । त्यसपछि अर्का वरिष्ठ कर्मचारी इन्जिनियर चन्द्रशेखर वली र जनस्वास्थ्य अधिकृत थानेश्वर पनेरुलाई पालैपालो निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्न अनुरोध गरे पनि मानेनन् ।

तीन जनाले नमानेपछि नगरपालिकाका सूचना अधिकारी हेमन्त शाहीलाई प्रमुखको जिम्मेवारी निभाउन अनुरोध गरेका थिए । शाहीले इच्छा देखाए पनि वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठलाई जिम्मेवारी दिन नमिल्ने भन्दै मन्त्रालयले अस्वीकार गरेको जनप्रतिनिधिले बताए । 

पालिकामा कार्यालय प्रमुख नभएपछि आर्थिक लगायत कामकाज ठप्प भएको सूचना अधिकारी शाहीले बताए । कुनै उपाय नलागेपछि नगर उपप्रमुख देवी घर्ती फाइल बोकेर सामान्य प्रशासन मन्त्रालय पुगिन् । त्यसपछि मन्त्रालयले बाँकेस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका कार्यालय प्रमुख हरिबहादुर खत्रीलाई खटाएको थियो । 

मन्त्रालयले खटाए पनि झण्डै एक महिना पुग्दासमेत खत्री कार्यक्षेत्र पुगेका छैनन् । मन्त्रालयले सरुवा गरेका हाकिम जिल्ला आउन नमानेपछि पालिकाको योजना सम्झौता लगायतका सम्पूर्ण काम रोकिएको नगर प्रमुख जनचन्द्र रोकायले बताए । सामान्य प्रशासन मन्त्रालयले खटाएका कर्मचारी पालिकामा आउन नमान्दा समस्या उत्पन्न हुने गरेको उनले बताए ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully