स्याउ बगैंचा व्यवस्थापनमा जुटे जुम्ली किसान

सडक सञ्जालले ढुवानीमा सहज भएपछि मुख्य आम्दानीको स्रोत बनेको स्याउ खेतीमा किसानले समय खर्चिन थालेका हुन्।

पुस २६, २०८२

डीबी बुढा

Jumli farmers engaged in apple orchard management

What you should know

जुम्ला — जुम्लाका किसान स्याउको बगैंचा व्यवस्थापनमा जुटेका छन्। गत मंसिरदेखि नै विरुवाको रेखदेख, काँटछाँट र मलखाद व्यवस्थापनमा किसानहरु कस्सिएका छन्।

अहिले किसान र कृषि प्राविधिकको अधिकांश समय बगैंचामा बित्ने गरेको छ। सडक सञ्जालले ढुवानीमा सहज भएपछि मुख्य आम्दानीको स्रोत बनेको स्याउ खेतीमा किसानले समय खर्चिन थालेका हुन्।

चन्दननाथ नगरपालिका–९ की धनलक्ष्मी गिरीले बगैंचा व्यवस्थापन जति ध्यान दिन सक्यो, उति नै उत्पादन लिन सकिन् बताइन् । उनले भनिन्, ‘पहिले जस्तो स्याउ फलिरहेको छैन । रोगको समस्या पनि बढ्दो छ, स्याउको आकार र गुणस्तर कमजोर छ । त्यही भएर जोडतोडका साथ बगैंचा व्यवस्थापनमा खटिनुपरेको छ ।’ 

उनले बगैंचाको व्यवस्थापन हुन सकेमात्र बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय स्याउका दाना दिन सकिने बताइन्। अहिले अधिकांश बगैंचामा किसानहरु आफैले स्याउको काँटछाँट, मलखाद तथा सिँचाइ व्यवस्थापनको काम गरिरहेका छन्।  

कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीले वर्षौदेखि व्यवस्थापन हुन नसकेका बगैंचा पनि किसानले व्यवस्थापन गर्न थालेको बताए । ‘विरुवाहरु अनावश्यक रुपमा फैलिँदा घाम र हावा छेक्ने गरेको देखिएको छ,’ कार्यालय प्रमुख अधिकारीले भने, ‘फल लाग्ने हाँगामा मात्र ध्यान दिनुपर्नेमा अनावश्यक फैलिएका हाँगामा उर्जा खर्च गर्नुपर्ने अवस्था छ । त्यो कम गर्न जिल्लाव्यापी बगैंचा व्यवस्थापनको काम भइरहेको छ ।’

अहिले पनि बगैंचामा रोग व्यवस्थापन कमजोर नै छ । किसानले रोग देखेपछि अनुमानका आधारमा बिषादी प्रयाग गर्ने चलन छ । निलोथुतो, चुन, बोडोमिक्सर जस्ता उपाय माक्रा र समयबारे किसानहरु जानकार छैनन् । ‘अहिले त्यही विषयमा केन्द्रीत रहेर सचेतनाका कार्यत्रम भइरहेका छन्,’ कार्यालय प्रमुख अधिकारीले भने। 

उनका अनुसार पहिले किसानलाई कार्यालयमा बोलाउने चलन थियो । समस्यामा बगैंचामा भइरहेको हुन्थ्यो । अहिले जहाँ समस्या देखिएको छ, त्यही कृषि प्राविधिक पुगिरहेका छन् । बगैंचामै पुगेर किसानसँग रोग नियन्त्रणको व्यवहारिक अभ्यास हुन्छ । बगैंचा व्यवस्थापन बारेमा पनि सीप प्रदान भइरहेको छ ।  

कृषि विकास कार्यालय जुम्लाले जिल्लाका ८ स्थानीय तहका ३० वटा वडाका कृषि शाखाहरुमा समन्वय गरेर बगैंचा व्यवस्थापनको सीप प्रदान गरिरहेको छ । सदरमुकाम खलंगामै १३ जना कृषि प्राविधिकलाई प्रशिक्षकका रुपमा तालिम दिइएको छ।  

उनीहरुले स्याउको आकार, प्रकार र उत्पादनका विषयमा किसानलाई सिकाइरहेका हुन्छन् । कृषि कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा १७ हजार ५ सय ५८ मेट्रिकटन भन्दा बढी स्याउ उत्पादन भएको थियो । जसमा ५ हजार ५ सय ९१ क्विन्टल स्याउ जिल्ला बाहिर निर्यात भयो। यसबाट जिल्लामा ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ भित्रिएको कार्यालयको अनुमान छ। 

अहिले ४ हजार ४ सय ४५ हेक्टरमा स्याउ रोपिएको छ । २ हजार १ सय २५ हेक्टरमा रोपिएको स्याउले फल दिइरहेको छ । जुम्लामा १९ हजार १५० घरमा स्याउका बगैंचा छन्। 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully