गुरुकुलमा ज्याला मजदुरीका क्रममा सदरमुकाम मान्ममा बस्दै आएका परिवारका बालबालिका बढी छन् ।
What you should know
कालीकोट — खाडाचक्र-१ मान्म बजारको छेउ राताखालमा रहेको सरस्वति गुरुकुल आधारभूत विद्यालयमा दलित र जनजाति बालबालिकाको बाहुल्यता छ।
संस्कृत विषय पढाउने उद्देश्यले ०७० बैशाखमा मान्म बजारमा महायज्ञ संचालन गरेर सोही वर्ष माघ २४ गते विद्यालय स्थापना गरिएको थियो। महायज्ञमा खााडाचक्रका ५० जनाले विभिन्न ठाउँमा जग्गादान गरे पनि काम लाग्ने खालको नभएकाले खाडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको खाली जमीनमा तत्कालीन जिविस र जिल्ला शिक्षा कार्यालयको सहयोगमा ६ कोठे भवन बनाइएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयचन्द्र अधिकारीले यहाँको भवन जीर्ण भएर चुहिन थालेपछि आवासीय रुपमा बालबालिकालाई राख्न कठिनाई भएकाले संस्कृत पढ्ने २० जना बालबालिका देवघाट पठाइएको बताए। ‘जीर्ण भौतिक संरचना र बजेट अभावले आवासीय राख्न कठिनाई भयो,’ उनले भने ‘नयाँ भवनसहितका संरचना बनाएपछि फिर्ता बोलाउने योजना छ ।’
हाल कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत सामाजिक विकास कार्यालयले ३० लाख रुपैयाँमा दुई कोठे पक्की भवन निर्माण प्रक्रिया सुरु गरेको छ।
मान्म बजारमा ज्याला मजदुरी गरेर ३ जना छोराछोरी पढाउने कमला रोक्का मगरले गरिबले पढ्ने विद्यालयमा अभावै अभाव रहेको सुनाइन् । उनका माइला छोरा राजेश कक्षा ५ मा पढ्छन् भने छोरी सरिता कक्षा २ मा पढ्छिन् ।
विद्यालयमा आवासीयरुपमा हाल विद्यार्थी नभए पनि अभिभावकसँग बस्ने विपन्न समुदायका ३७ जना बालबालिका भर्ना रहेको प्रधानाध्यापक शशि चौलागाईले बताइन् । उनकाअनुसार कक्षा १ देखि ५ सम्म १८ जनजाति, १० दलित र ९ अन्य समुदायका बालबालिका छन् ।
गुरुकुलमा ज्याला मजदुरीका क्रममा सदरमुकाम मान्ममा बस्दै आएका परिवारका बालबालिका बढी छन् । कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा ४ जना महिला शिक्षक छन् । प्रधानाध्यापकको मात्र अनुदान वापत वार्षिक २ लाख ६० हजार तलब आउँछ भने अन्य निजी स्रोतका शिक्षक छन् ।
संस्कृत पाठशालाको रुपमा स्थापना गरिएको भए पनि जीर्ण भौतिक संरचना, कमजोर आर्थिक अवस्थाले विद्यालय समस्यामा रहेको प्रधानाध्यापक चौलागाईले बताइन् । उनले १० वर्षअघि बनाएको भवन जीर्ण भएर एउटा भत्किएको र अर्को पनि बस्ने नमिल्ने अवस्था रहेकाले सामाजिक विकास कार्यालयबाट नयाँ दुई कोठे भवन बनेपछि केही राहात हुने सुनाइन् ।
०७० मा मान्म बजारमा एक सातासम्म संचालन भएको महायज्ञमा ५० जनाले करिब १ करोड मूल्यको जग्गा दान घोषणा गरे पनि उपयोगमा नआउने खालको भएकोले भवन बनाउन विद्यालय रहेको पुरानो भवन भत्काइएको व्यवस्थापन समिति सदस्य धर्मदत्त उपाध्यायले बताए।
विद्यार्थीको नियमितता, सिकाई उपलब्धि, विद्यालयको वार्षिक आयव्ययको लेखाजोखा गर्न विद्यालयले बिहीबार अभिभावक भेला गरेर सरोकारवालासहित सामाजिक लेखापरीक्षण गरेको सामाजिक विकास कार्यालय प्रमुख अविराज शाहीले बताए । ‘विद्यालयमा थुप्रै समस्या भएको पाइयो । भवन, खानेपानी, शौचालय सबै जीर्ण रहेछ,’ उनले भने । उनले विपन्न समुदायका बालबालिका पढ्ने भएकाले सामाजिक विकास कार्यालयले यसवर्ष २ कोठे पक्की भवनका लागि ठेक्का गरेको बताए ।
लेखापरीक्षणमा सहभागी जिल्ला समन्वय समिति कालीकोटका प्रवक्ता अजय बमले नाम गुरुकुल भए पनि सबै जातजातिका बालबालिका पढ्ने विद्यालयलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखे । ज्याला मजदुरी गर्ने, भारी बोक्ने, गिट्टी कुट्ने विपन्न समुदायका बालबालिका पढ्ने विद्यालयलाई खाडाचक्र नगरपालिकालगायतका सरोकारवालाले सहयोग गर्नुपर्ने उनले सुझाव दिए ।
शैक्षिक सत्र ०८०/०८१ मा शिक्षकको तलब, छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तक, आवासीय अनुदान, र मसलन्द गरी ११ लाख २९ हजार ७५ रुपैयाँ आय रहेको विद्यालयले ६ लाख ७८ हजार २ सय ९ रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि १६ लाख ५ हजार १ सय ५१ आय र ७ लाख ७ हजार ३ सय ६९ ब्यय हुने अनुमान गरेको छ ।
