गत आर्थिक वर्षमा मात्र पालिकाले १ करोड २७ लाख रुपैयाँ स्वास्थ्य उपचारमा खर्च गरेको नगरपालिकाले जनाएको छ।
वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारमा १ करोड भन्दा बढी रकम खर्च गरेको छ । नगरपालिका भित्रका दीर्घरोगीको उपचारमा पालिकाले खर्च गरेको हो ।
गत आर्थिक वर्षमा मात्र पालिकाले १ करोड २७ लाख रुपैयाँ स्वास्थ्य उपचारमा खर्च गरेको जनाएको छ ।
२ सय ३३ दीर्घरोगी (क्यान्सर, डायलाइसिस, मिर्गौला प्रत्यारोपण, मेरुदण्ड, पक्षाघात)लगायतकालाई उपचार खर्च दिइएको स्वास्थ्य शाखा संयोजक भूपेन्द्रदेव गिरीले जानकारी दिए । पालिकाले कार्यविधि नै बनाएर मासिक ५ हजारका दरले खर्च गरेको उनले बताए ।
यस्तै नगरपालिकाले विपन्न नागरिकलाई औषधि उपचारका लागि भन्दै १ सय ८० जनालाई सिफारिस गरेको छ । सिफारिस अनुसार सेवाग्राहीले आफूले चाहेको स्वास्थ्य संस्थामा १ लाख बराबरको उपचार सहयोग पाउँछन् ।
वीरेन्द्रनगरले विपन्नलाई दिइने उपचार खर्च दुरुपयोग भएको गुनासो आएपछि अहिले वास्तविक विपन्नको निःशुल्क बिमा गरिदिएको उपप्रमुख नीलकण्ठ खनालले जानकारी दिए । यसवर्ष पनि थारू समुदायमा सिकलसेल एनिमिया रोगको परीक्षण गर्ने कार्यक्रम रहेको पालिकाले राखेको छ ।
दीर्घरोग मानिने सिकलसेल एनिमिया थारू समुदायलाई लाग्ने गरेकाले उपचारका लागि पनि नगरपालिकाले परीक्षण मेसिन खरिद गरेर सुर्खेतस्थित प्रदेश अस्पताललाई दिएको छ ।
गत आवमा २० लाखको लागतमा परीक्षण गर्ने मेसिन खरिद गरी प्रदेश अस्पताललाई प्रदान गरिएको हो । प्रत्येक वर्ष परीक्षण गर्ने किट खरिद गर्न २ लाख बजेट पनि विनियोजन गरिएको संयोजक गिरीले बताए ।
