पछिल्ला तीन वर्षमा कालीकोटका सामुदायिक वनमा आगलागीका कारण सात जनाको मृत्यु, ९ जना घाइते, ५९ चौपाया मरेका छन् ।
What you should know
कालीकोट — गएको मंसिर ११ गते खाँडाचक्र–४ स्थित सालडाँडा सामुदायिक वनमा बिहान ५ बजे सुरु भएको आगलागी स्थानीयको सक्रियतामा दिउँसो २ बजे नियन्त्रणमा आयो । गाईभैँसी र भेडाबाख्राका लागि घाँस छिटो पलाउँछ भनेर लगाइएको आगोले वृक्षारोपण गरिएका ५ हजार बिरुवा जलेर नष्ट भए ।
सालडाँडामाथिको सुख्खा डाँडो हरियाली हुने लागेको थियो । खाँडाचक्र–४ का वडाध्यक्ष प्रभानन्द आचार्यले भने, ‘आगोले सबै सखाप भयो ।’ उनका अनुसार ठाडो पाखोमा लगाइएको आगो नियन्त्रणमा लिन १० घण्टा लाग्यो ।
यही पुस १२ गते सान्नीत्रिवेणी–१ लुसास्थित अम्बिका सामुदायिक वन, पुस १३ गते तिलागुफा नगरपालिका–४ राचुलीको महाबैपातल सामुदायिक वनसहित खाँडाचक्र, शुभकालिका, नरहरिनाथ, तिलागुफा, पलातालगायतका स्थानीय तहका सामुदायिक वनमा आगलागी भएको छ । ती सबै वनमा स्थानीयले आगो लगाएको जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । ‘छिटो घाँस पलाउँछ भनेर आगो लगाउने अचम्मको चलन रहेछ,’ उनले भने, ‘वन, वनस्पति र वन्यजन्तुको क्षतिबारे समुदायमा सचेतना छैन ।’ उनले बुधबार पनि तिलागुफाको राचुलीमा आगलागी भइरहेको जानकारी दिए ।
गत चैत २ गते खाँडाचक्र–५ दाहा घोडेनाको ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनको खरपाखोमा एक्कासि आगलागी हुँदा बाख्रा चराउन गएका ५० वर्षीय नन्दाराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती जलेर घाइते भए । नन्दाराम बिहान ९ बजे ५१ वटा बाख्रा लिएर चराउन वनमा गएका थिए भने छोरी हेमन्ती दिउँसो बुबालाई खाजा–रोटी पुर्याउन गएकी थिइन् । एक्कासि वनमा आगो लागेर घाइते बाबुछोरीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । आगलागीमा परेका उनका ४५ बाख्रा मरे भने ६ घाइते भए ।
अज्ञात व्यक्तिले चुरोट खाने क्रममा सलाई कोरेर ननिभाई भुईँमा फ्याँक्दा खरपाखो मात्र भएको वनमा आगो सल्किएको प्रहरीको अनुमान छ । प्रहरीले आगो फ्याँकेको आशंकामा एक जनाविरुद्ध मुद्दा चलाए पनि अदालतबाट सफाइ पाइसकेका छन् । कालीकोटमा जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति रहेको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए । ‘खड्किलो पाखोमा घाँस छिटो उम्रिएला भनेर आगो लगाउने चलन रहेछ,’ उनले भने, ‘यो अक्षम्य अपराध हो ।’
दुई वर्षअघि कालीकोट र अछामको सिमानामा पर्ने नरहरिनाथ–८ स्थित सालघारी सामुदायिक वनमा आगलागी हुँदा काठ चिरानका लागि गएका लालुका आदनसिंह विष्ट र खाँडाचक्र–२ का जैपाल कामीको जलेर मृत्यु भयो । वनमा आगलागी भएपछि भाग्ने क्रममा शरीरमा आगो लागेर घाइते भएका उनीहरूको उपचारका लागि जुम्ला लैजाने क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार ३ वर्षमा वनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । यस वर्ष मात्र भदौयता १५ वटा आगलागीका घटना भएका छन् । स्थानीयले घाँस छिटो पलाउँला भनेर आगो लगाउने प्रवृत्ति छ । वनमा आगो लाग्दा यस वर्ष मात्र ५९ पशु चौपाया मरेको रेकर्ड छ ।
वनमा आगो लगाउनेलाई कानुनी कारबाही नहुँदा आगलागीका घटना बढ्दै गएको नागरिक समाजका अगुवा सदानन्द तिमिल्सेनाले बताए । ‘वनमा आगो लगाउनुलाई अपराध मान्ने चलन छैन,’ खाँडाचक्र–५ का बासिन्दा तिमिल्सेनाले भने, ‘गाउँघरमै मिलेमतो गरेर मिलाउने प्रवृत्ति छ ।’ उनले खरमेलामा आगो लगाउनेलाई देखिने गरी कारबाही नहुँदा आगलागीका घटनामा वृद्धि भएको बताए ।
कालीकोटमा आगलागीका घटना बढ्दै गएपछि विभिन्न निकायबाट सचेतनाका अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाभरका १९ वटा प्रहरी चौकी तथा बिटबाट समुदाय–प्रहरी साझेदारी अन्तर्गत ५६ वटा सचेतनाका कार्यक्रम गरेको डीएसपी खत्रीले बताए । आगलागीसम्बन्धी घटना भए तत्काल खटिन र घटना हुन नदिन सचेतना अभियान सञ्चालन गर्न मातहतका सबै प्रहरी युनिटलाई परिपत्र गरिएको उनको दाबी छ ।
कालीकोटको भिरालो पाखोमा आगलागी हुन सक्ने भएकाले सचेत रहन र वनको संरक्षणमा जुट्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र समूहका सदस्यलाई टेलिफोनमार्फत अनुरोध गरिएको डिभिजन वन प्रमुख धर्मराज उपाध्यायले बताए । ‘वनमा आगो लगाउनुलाई सामान्य मान्ने चलन रहेछ,’ उनले भने, ‘आगो लगाए हुने कानुनी कारबाहीबारे सचेतना गरिरहेका छौँ ।’
उनका अनुसार घाँस छिटो पलाउने र बँदेल, दुम्सी, बाँदरलगायतका वन्यजन्तुबाट अन्नबाली जोगाउन पनि वनमा आगो लगाउने प्रवृत्ति छ । उनले सामुदायिक वनमा आगो लगाउनेलाई सामुदायिक वनको विधान र कार्ययोजनाअनुसार फरक–फरक कारबाहीको प्रावधान रहेको जानकारी दिँदै समूहले उन्मुक्ति दिए वन ऐनअनुसार कारबाही गरिने बताए ।
सामुदायिक वन उपभोक्ता समूहको विधानमा पहिलो पटक आगो लगाए सचेत गराउने, धनजनको क्षति भए जरिवाना गर्ने र कतिपय वनले आगो लगाउनेलाई उपभोक्ताबाट हटाउने नियम कार्ययोजनामा रहेको उनले बताए ।
कालीकोटको अधिकांश भूगोल ठाडो र भिरालो भएकाले आगलागी भए निभाउन ज्यानको जोखिम हुने अवस्था रहेको उनले सुनाए । ‘धेरैजसो भूभाग ठाडै भिरालो छ,’ उनले भने, ‘आगो लागिसकेपछि निभाउन निकै कठिन हुन्छ ।’
डिभिजन वन कार्यालयले सामुदायिक वनलाई विधानअनुसार कारबाही गर्न निर्देशन दिँदै आएको छ । ‘हामीले सिधै कारबाही गर्न मिल्दैन,’ डिभिजन प्रमुख उपाध्यायले भने, ‘सामुदायिक वन उपभोक्ता समितिको नियमानुसार कारबाही गर्नुपर्ने हुन्छ ।’ उनले उपभोक्ताको मिलेमतोमा दोषीमाथि कारबाही नहुने अवस्था रहेको बताए ।
वन ऐन २०७६ को दफा ४९ अन्तर्गत आगो लगाउने कसुर (घ) को सजायसम्बन्धी व्यवस्थाअनुसार बिगो असुल गरी ३ वर्ष कैद वा ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर, कालीकोटको वन कार्यालयले हालसम्म कसैमाथि मुद्दा चलाएको छैन ।
