स्वास्थ्यसंस्था र अस्पताल टाढा भएका कारण गर्भवती महिला, वृद्धवृद्धा र बिरामीहरू घण्टौं हिँड्न बाध्य छन् र समयमै उपचार नपाउँदा ज्यान जोखिममा परेको छ।
What you should know
सल्यान — कुमाख गाउँपालिका–२ खारखोला लंगेटाका ५० वर्षीय रूपलाल ओलीलाई दुई साताअघि ज्वरोले सतायो । घर नजिकै मेडिकल तथा आधारभूत स्वास्थ्य इकाई केन्द्र नहुँदा परिवारले उनलाई बोकेर घरदेखि आधा घण्टा तल गाडी चल्ने सडकसम्म पुर्याए। आधा घण्टा गाडी कुर्दा पनि गाडी आएन ।
समयमै गाडी नपाएपछि आत्तिएका परिवारले बिरामीलाई बोकेर ढाई घण्टा हिँडेर नेटा बजारमा रहेको स्वास्थ्यसंस्थामा पुर्याए। स्वास्थ्यकर्मीले ओलीको स्वास्थ्य परीक्षण गरेर सिटामोल दिएपछि परिवारका सदस्यले उनलाई घर फर्काए। अहिले ज्वरो ठीक भएपछि उनी सामान्य रूपमा घर वरिपरि घुम्न सक्ने भएका छन्।
ओली मात्र नभएर बस्ती नजिकै मेडिकल तथा स्वास्थ्य चौकी नहुँदा खारखोला लंगेटाका स्थानीय सामान्य स्वास्थ्योपचारका लागि ढाई घण्टा हिँडेर स्वास्थ्यसंस्था जान बाध्य छन्। लामो समय हिँडेपछि अहिले स्थानीय नेटा बजारमा रहेको स्वास्थ्य चौकीमा जाने गरेका छन्। भौगोलिक विकटताका साथै गाडी चल्ने सडक खनिए पनि मर्मतसम्भार नहुँदा स्थानीय सामान्य उपचारका लागि घण्टौं हिँडेर स्वास्थ्यसंस्था जान बाध्य भएका हुन्।
सरकारले घर नजिकैबाट बिरामीले स्वास्थ्य सेवा पाउन भनी आधारभूत स्वास्थ्य केन्द्रको अवधारणा ल्याए पनि पालिकाले सबै स्थानमा व्यवस्था गर्न नसक्दा स्थानीय सहज स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्। बस्ती नजिकै स्वास्थ्यसंस्था नहुँदा खारखोला लंगेटाका ३० भन्दा बढी घरपरिवार प्रभावित भइरहेका छन्। सामान्य स्वास्थ्य सेवाका लागि उनीहरूले विगतदेखि सास्ती भोग्दै आएका छन्।
पहिला स्वास्थ्य चौकी स्विकोटमा रहेको थियो र पालिकाले नेटा बजारमा राखे पनि आफूहरूको लागि पायक परेको छैन भनी लंगेटाकी ४० वर्षीया सीता ओलीले बताइन्। नेटा बजारमा रहेको स्वास्थ्यसंस्थामा सबै खोलेर उपचार हुन नसक्दा कहिले काही फर्केर मिसन अस्पताल, चौरजहारीसम्म पुग्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिइन्।
'सामान्य उपचारका लागि उकालो, ओरालो र जंगलको बाटो लामो समय हिँड्नु पर्दा सामान्य बिरामी झन् थला पर्छन्। बिरामी बोकेर लैजाने समेत उल्टै बिरामी पर्ने अवस्था छ,” उनले भनिन्। 'स्वास्थ्यसंस्था टाढा भएकाले गर्भवती महिला झन् समस्यामा परेका छन्। गर्भवतीले नियमित चेकजाँच गर्न पाएका छैनन्। त्यत्ति मात्र नभई कहिलेकाही स्वास्थ्यसंस्था लग्दा लग्दै गर्भवती महिला बाटैमा असुरक्षित सुत्केरी हुने गरेका छन्।”
स्वास्थ्यसंस्था टाढा भएकै कारण आउजाउमा समस्या हुँदा ज्वरो, रुघाखोकी लागेमा घरमै थलिएर बस्ने गरेकी ५५ वर्षीया रमा ओलीले बताइन्। आधारभूत स्वास्थ्य इकाई केन्द्र सञ्चालनका लागि बारम्बार सम्बन्धित निकायमा आग्रह गर्दा पनि अहिलेसम्म कुनै चासो नदेखाइएको उनले जानकारी दिइन्।
'स्थानीयले घर नजिकै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा पाउन भनी सरकारले प्रत्येक पालिकामा १५ शय्याको आधारभूत अस्पताल बनाउने कार्यक्रम ल्याएपछि कुमाख गाउँपालिकाको रागेचौर नजिकै भवन निर्माण गरिएको छ। पालिकाले स्थानीयको सुविधाका लागि पाँच शय्याको अस्पताल सञ्चालन गरेको छ। तर त्यो पनि टाढा भएको र भने जस्तो सेवा पाउन नसकिने अवस्था रहेकाले समस्या जति भए पनि समाधान भएको छैन। स्वास्थ्यसंस्था टाढा भएकाले विशेषज्ञ सेवाका लागि चौरजहारी अस्पताल तथा नेपालगन्ज जानुपर्ने बाध्यता छ,' उनले भनिन्।
खारखोला लंगेटाका स्थानीयलाई सहजताको लागि नजिकै स्वास्थ्यसंस्था संचालनको माग राख्दै आएको भए पनि पुरा हुन नसकेको वडा सदस्य लालबहादुर रावतले बताए। भौगोलिक विकटताका कारण स्थानीय स्वास्थ्यसेवाको पहुँचबाट धेरै टाढा हुनु परेको र समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको उनले जानकारी दिए।
'स्थानीयलाई अस्पताल तथा स्वास्थ्यसंस्था आउजाउमा सहज होस् भनी सडक निर्माण थालियो। केही वर्षको अवधिमा ५० लाखभन्दा बढी खर्च भयो। सडकले पूर्णता पाएको भए गाडी चले आधा घण्टामै स्थानीय स्वास्थ्यसंस्था पुग्न सक्थे। सडक मर्मत सुधार नभएकाले झन् समस्या भएको छ,' उनले भने।
कुमाख गाउँपालिका–२ का अध्यक्ष ईश्वरी शाहीले भौगोलिक विकटताका कारण खारखोला लंगेटाका स्थानीय स्वास्थ्य सेवाका लागि लामो समय हिँड्नुपर्ने बाध्यता रहेको बताए।
'पहिला ज्वरो आएमा पनि उपचारका लागि र सिटामोल लिन ३ घण्टा बढी समय हिँडेर स्विकोट जानु पर्थ्यो। स्थानीयलाई सहज होस् भनी नेटा बजारमा स्वास्थ्यसंस्था सञ्चालन गरियो। तर पनि खारखोला लंगेटाका स्थानीयको समस्या समाधान हुन सकेको छैन। स्थानीय स्वास्थ्यसेवाबाट वञ्चित नहुन र घर नजिकै सेवा पाउन पालिकाले बेलाबेलामा स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार गर्दै आएको छ,' उनले थपे।
