भूमि बिचौलियालाई डोल्पा पठाउँछु भनेपछि मन्त्री इङ्नामको डोल्पामा चर्को आलोचना सुरु भएको छ । यस प्रकारको अभिव्यक्तिले मन्त्रीको विज्ञता र क्षमतामा समेत प्रश्न उठेको उनीहरूको भनाइ छ ।
डोल्पा — देशभरका मालपोत कार्यालयमा बिचौलियाको काम गर्ने कर्मचारीलाई डोल्पा पठाउँछु भनेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामको चर्को आलोचना भएको छ ।
नेपालकै भू–भागभित्र पर्ने प्राकृतिक एवं सांस्कृतिक रूपमा सम्पन्न डोल्पालाई हेपेर काम नगर्ने, बिचौलिया, खराब नैतिक आचरण भएका कर्मचारी डोल्पा पठाउँछु भनेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै डोल्पामा आलोचना भएको हो ।
देशको एक जिम्मेवार मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिनु आफैंमा दुःखद भएको डोल्पाका बुद्धिजीवी युवा बबिकिशोर गुरुङले बताए । ‘डोल्पा आफैंमा विकट र दुर्गम छ । विकास निर्माणमा तुलनात्मक रूपमा पछि छ,’ उनले भने, ‘तर, त्यसो भन्दैमा डोल्पा के नेपालमै पर्दैन त !’ डोल्पालाई हेपाहा नजरले हेर्ने परिपाटीले नै यस्तो भनाइ आएको पनि उनको आरोप छ ।
मन्त्री इङ्नामको अभिव्यक्तिप्रति डोल्पाली सरोकारवालाले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । यस प्रकारको अभिव्यक्तिले मन्त्रीको विज्ञता र क्षमतामा समेत प्रश्न उठेको उनीहरूको भनाइ छ ।
जिल्लाका कानुन व्यवसायी एवं अधिवक्ता पूर्ण प्रसाद हमालले मन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै मन्त्री इङ्नामको राजिनामा समेत मागेका छन् ।
