उपल्लो डोल्पामा पर्ने बस्ती धो तराप, फोक्सुण्डो ताल, प्राचीन शे–गुम्बा, याङ्जेर गुम्बा, साम्लिङ् गुम्बा, राप गुम्बा, बोन गुम्बालगायतका सम्पदालाई मिश्रित विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको हो।
What you should know
डोल्पा — उपल्लो डोल्पालाई विश्व सम्पदा सूचीमा राख्न तयारी बढाइएको छ। शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकाभित्र पर्ने प्राचीन धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् ऐतिहासिक सम्पदालाई सूचीकृत गर्न प्रक्रिया अघि बढाइएको हो ।
उपल्लो डोल्पामा पर्ने बस्ती धो तराप, फोक्सुण्डो ताल, प्राचीन शे–गुम्बा, याङ्जेर गुम्बा, साम्लिङ् गुम्बा, राप गुम्बा, बोन गुम्बालगायतका सम्पदालाई मिश्रित विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको हो।
दुई वर्षदेखि इकोमस नेपालले यसका आवश्यक काजगाज तयार गर्ने काम गरिरहको छ। ‘उपल्लो डोल्पा प्राकृतिक सँगै ऐतिहासिक सम्पदाले भरिपूर्ण क्षेत्र हो। सन् २०१८ देखि नै त्यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा कुरा उठेको हो,’ इकोमस नेपालकी परियोजना प्रमुख ऐनी जोशीले भनिन्।
‘अहिले सूचीकृतका लागि डकुमेन्टेसनको काम हुँदैछ । पुरातत्व विभाग, वन विभाग, युनेस्को, गुम्बा व्यवस्थापन समिति, स्थानीय सरकारलगायत मुख्य सरोकारवाला पक्षसँग निरन्तर छलफल भइरहेको छ । यस विषयमा सबै सकारात्मक हुनुहुन्छ ।’ शे–फोक्सुण्डो गाउँपालिकाबाट मात्र ९ सय वटा प्राचीन सम्पदाको पहिचान गरिसकेको र यसै वर्ष सूचीकृतका लागि युनेस्कोमा आवेदन दिने योजना रहेको जोशीले बताइन्।
उपल्लो डोल्पालाई विश्व सम्पदा सूचीमा समेट्न सके नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदानका साथै स्थानीयलाई रोजगारीको अवसर सृजना हुने उनले बताइन्। यो कार्यका लागि पुरातात्विक सम्पदा संरक्षणको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको संस्था ब्रिटिस काउन्सिलले सहयोग गरेको इकोमस नेपालले जनाएको छ ।
शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने प्राकृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले विश्व सम्पदा सूचीमै राखेर संरक्षण गर्न उपयुक्त हुने गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले बताए । ‘यो क्षेत्रलाई मिश्रित विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको छ । जिल्लाका सरोकारवालाको पनि राय लिइरहेका छौं । स्थानीय सरकारले नै पहलकदमी लिएर काम गरिरहेको छ,’ उपाध्यक्ष गुरुङले भने ।
विगतदेखि नै यस विषयमा स्थलगल अध्ययनका अनुसन्धानका काम भइरहेको उनले बताए। मिश्रितभित्र प्राकृतिक धार्मिक, ऐतिहासिक सबै क्षेत्र पर्ने भएकाले नेपाल सरकार मार्फत युनेस्कोलाई पहल गर्न आवश्यक काम भइरहेको उनले बताए । यसबारे गत शनिबार र आइतबार काठमाडौंमा सरोकारवालासाग छलफल समेत भएको उनले सुनाए।
धेरैजसो प्राकृतिक तथा प्राचीन सम्पदाहरु शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्छन् । निकुञ्जको प्रमुख आकर्षणको रुपमा रहेको फोक्सुण्डो ताल रामसार सूचीमा समेत छ भने प्राचीन गुम्बा र दुर्लभ वन्यजन्तु हिाउ चितुवा पाइने नेपालमै धेरै घनत्व भएको निकुञ्जको रुपमा समेत परिचित छ । ‘यो विषय लामो समयदेखि उठिरहेको हो । बीचमा पुरातत्व विभागको टोली पनि समन्वयका लागि निकुञ्ज कार्यालयमा पुगेको थियो,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने ।
