कर्णालीबाट एमालेका उम्मेदवार सिफारिस : पुरानै अनुहार दोहोरिँदै

सुर्खेत क्षेत्र नम्बर १ मा ध्रुवकुमार शाही एकल सिफारिस भएसँगै कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग तेस्रोपल्ट प्रतिस्पर्धा हुने पक्का भएको छ ।

पुस २१, २०८२

कृष्णप्रसाद गौतम

UML candidate recommendation from Karnali: Same old faces repeating

What you should know

सुर्खेत — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एमालेले कर्णालीका विभिन्न जिल्लामा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिसलाई तीव्रता दिएको छ । जसमध्ये अधिकांश पुरानै अनुहार छन् । 

एमालेले सुर्खेत क्षेत्र नं. १ मा पुनः ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाउने भएको छ । निर्वाचन क्षेत्र समन्वय समितिको पूर्ण बैठकको निर्णयअनुसार शाहीको एकल नाम केन्द्रमा पठाइएको हो ।

शाही एकल सिफारिस भएसँगै कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग तेस्रोपल्ट प्रतिस्पर्धा हुने पक्का भएको छ । कांग्रेसबाट पनि खड्का एकल सिफारिस भएका छन् । शाही गत प्रतिनिधिसभा निर्वाचन–२०७९ मा खड्कासित पराजित भएका थिए भने २०७४ सालको निर्वाचनमा शाहीले खड्कालाई पराजित गरेका थिए । 

सुर्खेत क्षेत्र नं. २ मा एमालेले जिल्ला अध्यक्ष कुलमणि देवकोटाको नाम सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको बैठकले उनलाई सर्वसम्मत उम्मेदवार बनाएको हो । यो क्षेत्रबाट गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका हृदयराम थानी निर्वाचित भएका थिए । कांग्रेसले थानीसहित ६ जनाको नाम सिफारिस गरेको छ । 

रुकुम पश्चिममा जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई एकल सिफारिस भएका छन् । उनी २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार थिए । उनले त्यसबेला उनी पूर्व माओवादीका जनार्दन शर्मासँग पराजित भएका थिए ।

जुम्लामा पनि जिल्ला अध्यक्ष शान्तिलाल महत एकल सिफारिसमा परेका छन् । जहाँ यसअघिको निर्वाचनमा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका थिए ।

त्यस्तै सल्यानमा कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहलाई एकल उम्मेदवार सिफारिस गरिएको छ । २०७४ सालमा प्रदेशसभामा जितेका उनी २०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार सुरेश अधिकारीसँग पराजित भएका थिए । 

जाजरकोटमा केन्द्रीय सदस्य निरज आचार्यसहित ४ जनाको नाम सिफारिस गरिएको छ । आचार्यसहित डम्बरबहादुर सिंह, कौशिला वली खत्री, गणेश थापा र नारायण घर्तीलाई उम्मेदवारको लागि सिफारिस गरिएको हो ।

एमालेले दैलेख क्षेत्र नम्बर २ मा युवा नेता विष्णु रिजाल र लक्ष्मीप्रसाद पोखरेलको नाम सिफारिस गरेको हो । दैलेखमा उम्मेदवार सिफारिसका क्रममा आन्तरिक मतदान गराइएको थियो । जसमा रिजालले ६७ मत प्राप्त गरे भने  पोखरेल ६६ मत ल्याए ।

बुधबारसम्म सबै जिल्ला र निर्वाचन क्षेत्रबाट उम्मेदवारको सिफारिस भइसक्ने एमाले प्रदेश अध्यक्ष गुलावजंग शाहले बताए ।   

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully