डोल्पा घटना : असईसहित ५ जना प्रहरीविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा मुद्दा दायर

प्रहरीकै कारण बेपत्ता भएको जुनका आफन्तले आरोप लगाएका छन् । प्रहरीले भने लागुऔषधको ओसारपसारको आशंकामा चेक गर्न खोजेपछि आत्तिएर भेरी नदीमा हाम फालेको दाबी गरेको छ ।

पुस २१, २०८२

रामचन्द्र न्यौपाने

Dolpa incident: Case filed against 5 police officers including ASI for causing a person to disappear

What you should know

डोल्पा — डोल्पामा स्थानीय युवक बेपत्ता भएको घटनामा असईसहित ५ जना प्रहरीविरुद्ध मुद्दा दायर गरिएको छ । इलाका प्रहरी कार्यालय खदाङमा कार्यरत चौकी इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक(असई) हेमराज कार्कीसहित ५ जना प्रहरीविरुद्ध मुद्दा दायर गरिएको हो ।

कार्कीसँगै कार्यरत प्रहरी जवान लालबहादुर घर्ती,भगिरथ जैसी,जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी जवान अशोक साउद र जिल्ला प्रहरी कार्यालयमै कार्यरत घुमुवा प्रहरी नरेन्द्र खड्का विरुद्ध मुद्दा दर्ता गरिएको स्रोतले जनाएको छ । उनीहरू सबैलाई व्यक्ति बेपत्तासम्बन्धी कसूरमा  मुद्दा चलाइने प्रहरी स्रोतको भनाइ छ  ।

पाँचै जनाविरुद्ध बेपत्ता युवक जुन रोकायकी श्रीमती धनमतीले किटानी जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा जाहेरी दर्ता भएसँगै स्थानीयले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएका छन् । आज बिहानैदेखि डोल्पामा सवारीसाधन चल्न थालेका छन् ।

आइतबार बेलुकी त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित प्रहरी चौकी त्रिपुराकोटमा स्थानीय र प्रहरी प्रशासनबीच भएको वार्तामा घटनामा संलग्न सम्पूर्ण प्रहरीविरुद्ध मुद्वा चलाउने  मौखिक सहमति भएको थियो । 

शुक्रबार साँझ ल्हाँ गाउँका ३४ वर्षीय युवा जुन रोकाय चेकिङका क्रममा आत्तिएर ठूलीभेरी नदीमा हाम फालेको प्रहरीको दाबी छ । चार जना प्रहरी नै चेकिङका लागि खदाङस्थित प्रहरी चौकीभन्दा तीन किलोमिटर टाढा पर्ने छेप्के पुलमा पुगेका थिए भने इप्रकाको नेतृत्व असई कार्कीले गरेका थिए ।

दुई दिनदेखि बेपत्ता रोकायको खोजीकार्य भइरहे पनि केही पत्ता लाग्न सकेको छैन । अहिले पनि ११ जना प्रहरीको टोलीले छिमेकी जिल्ला रुकुम पश्चिम र जाजरकोटस्थित भेरी नदी किनारमा खोजी गरिरहेको छ ।

प्रहरीकै कारण बेपत्ता भएको जुनका आफन्तले आरोप लगाएका छन् । प्रहरीले भने लागुऔषधको ओसारपसारको आशंकामा चेक गर्न खोजेपछि आत्तिएर भेरी नदीमा हाम फालेको दाबी गरेको छ । 

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully