कांग्रेसको समानुपातिक सूचीमा बादी समुदायकी एक्ली महिला

कांग्रेसको नीति प्रतिष्ठान विभागकी केन्द्रीय सदस्य हजारीले २०५८ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थिइन्।

पुस १९, २०८२

कृष्णप्रसाद गौतम

The only woman from the Badi community in the Congress' proportional list

What you should know

सुर्खेत — कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको सूचीमा बादी समुदायबाट एक्ली हजारी नेपाली बादी समावेश भएकी छिन् ।

कांग्रेसको नीति प्रतिष्ठान विभागकी केन्द्रीय सदस्य हजारीले २०५८ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी हुन् । जाजरकोटको भेरी नगरपालिका–१ की स्थायी बासिन्दा हजारीले ९/१० वर्षको हुँदा बाबु गुमाइन् भने अहिले पनि एक्लै बस्छिन् । उनको यसअघिको पुरानो घर भूकम्पले भत्काएको थियो। 

गत वर्ष जनता आवास कार्यक्रममार्फत ४ आना जग्गामा बनाइदिएको दुईकोठे घरमा बस्दै आएकी हजारी नेपाली विषयमा स्नातक तह उत्तीर्ण हुन् भने भेरी ज्ञानोदय क्याम्पसमा स्नात्तकोत्तर अध्ययनरत छिन् । ‘अरुका घरमा भाडा माँझेर हुर्किएकी हुँ, ३ कक्षा पढ्दा होटलमा पनि काम गरियो,’ उनले भनिन्, ‘अझै पनि राम्रो घर छैन, तैपनि राजनीतिलाई निरन्तरता दिइरहेकी छु, राजनीतिमा अझै धेरै गर्न बाँकी छ ।’

आफू दलित, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रकी भएकाले पार्टीले निर्वाचित गराउने उनको विश्वास छ । ‘अनेक दुःख–संघर्ष गरेर राजनीति गरिरहेकी छु,’ उनी भन्छिन्, ‘पार्टीले न्याय गर्नेछ भन्ने आशा छ ।’ 

उनका दुई आमाका ६ बहिनी छोरीमध्ये उनी साईली हुन् । एकमात्र भाई डिप्रेसनका बिरामी छन् भने आमा जाजरकोटकै शिवालय मन्दिरमा बस्छिन् । 

यसअघि राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस भए पनि संसद प्रवेश गर्न नपाएको उनको गुनासो छ । ‘यसपालि पार्टीले बादी समुदायबाट मलाई मात्र सिफारिस गरेको छ, त्यसले पनि म संसद प्रवेश गर्छु भन्ने आशा छ,’ उनले भनिन्, ‘मैले जस्तोसुकै कठिन अवस्थामा पनि राजनीतिलाई छोडिन, राज्यको मूलप्रवाहबाट पछि पारिएकाहरुको आवाज बुलन्द पार्न पनि मैले संसद प्रवेश गर्नुछ ।’

२०४५ सालमा जन्मिएकी हजारी दलित संघको जिल्ला उपाध्यक्ष, नेपाल प्रजातान्त्रिक महासंघको केन्द्रीय सदस्य छिन् भने २०६४ सालमा सांस्कृतिक संघको जिल्ला अध्यक्ष भइसकेकी थिइन् । उनी कांग्रेसको चौधौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।

सशस्त्र द्वन्द्वको समयमा उनी ३ पल्ट माओवादीको कुटपिटमा परेकी थिइन् । माओवादीले ढुंगाले थिचेर सख्त घाइते बनाएपछि राउतगाउँबाट बिस्थापित भइ सदरमुकाम गएर बसिन् । 

कलाकारिता र समाजसेवा गर्दै राजनीतिमा पनि क्रियाशील भइरहेको उनको भनाइ छ । उनले २ वटा गीति एल्बम निकालेकी छिन् भने ३ वटा म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । 

अहिले पहाडी क्षेत्र विकास अभियानको उपाध्यक्ष रहेकी हजारी बादी विकास मञ्चको उपाध्यक्ष र सयपत्री महिला दलित जागरण मञ्चको अध्यक्ष भइसकेकी छिन् । अभियानले भूकम्पप्रभावितको जीविकोपार्जनको लागि काम गरिरहेको छ । ‘संस्थाको कार्यक्रम अनुगमन र बैठकमा सहभागी भएवापत भत्ता आउँछ,’ उनले भनिन्, ‘त्यसले जसोतसो घरखर्च चलेको छ ।’ 

जेनजी आन्दोलनका उपलब्धीलाई संस्थागत गर्न पनि आफूहरुजस्ता युवा सांसद बन्नुपर्ने उनको तर्क छ । ‘समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भए बादीलगायत दलित र अल्पसंख्यक तथा जाजरकोटजस्तो पिछडिएको क्षेत्रको हितमा काम गर्छु,’ उनले भनिन्, ‘त्यसका लागि मलाई पार्टीले अहिलेसम्मको योगदान हेरेर प्रतिनिधिसभा सदस्यमा छनोट गर्नुपर्छ ।’

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully