सुर्खेत पुग्दासम्म भाडा मात्र ७ हजार बढी खर्च हुने गरेको थियो । एक वर्ष अघिबाट ३ हजार देखि १८ समयसम्ममा सुर्खेत पुग्न पाइने गरेको उनको भनाइ छ ।
What you should know
वीरेन्द्रनगर — हुम्लाकी साविता परियार शुक्रबार सुर्खेतको वीरेन्द्रनगर पुगिन् । उनी काठमाडौं जानका लागि हुम्लाबाट आएकी हुन् । पहिलोपटक उनले आफ्नै घरनजिकबाट सिधै काठमाडौं जाने बस चढिन् । केही दिन अघिबाट मात्रै हुम्लाबाट सिधै काठमाडौंका लागि बस सेवा सुरु भएपछि हुम्लाका नागरिकहरु सिधै काठमाडौं गइरहेका छन् ।
हुम्ला हिल्सा यातायात प्रालिले हुम्लादेखि काठमाडौं बस सेवा सुरु गरेको हो । एकै बसमा यात्रा गर्न पाएपछि ढुक्क महसुस भएको साविता बताउँछिन् । यसअघि महँगो भाडा र गाडी परिवर्तन गर्दै आउनुपर्ने थियो । उनले सुनाइन्, ‘अब यो झन्झट हटेको छ । सुरुमा एक गाडी चलेपछि अरू यातायातले पनि गाडीहरू चलाइरहेका छन् । भाडामा धेरै राहत मिलेको छ ।’ दोब्बर भाडा तिर्दै आएकामा साढे ६ हजारमा काठमाडौं जाने टिकट काटेको उनले बताइन् ।
यसअघि सर्केगाडबाट सुर्खेत, नेपालगन्जसम्म सञ्चालन हुने बसहरू पनि सिमकोटसम्मै पुग्ने गरेका छन् । यसअघि हुम्ला सडक सञ्जाल राष्ट्रिय सडकसँग पूर्ण रूपमा नजोडिएकाले ठूला बसहरू सञ्चालन गर्न सकिएको थिएन । गत असारमा कर्णाली करिडोरअन्तर्गत चुवाखोलामा बेलिब्रिज पुल उद्घाट भएसँगै सिमकोट राष्ट्रिय सडकसँग जोडिएको हो ।
पुस १ गते काठमाडौं जाने बस सेवाको सुरुवात गरिएको हो । काठमाडौंको भाडा ७ हजार ५ सय तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गाडी बाटोको कारण नियमित रूपमा सञ्चालन हुन भने कठिनाइ भइरहेको ट्राफिक प्रमुख राजेश चौधरीले जानकारी दिए । उनका अनुसार पहिले सर्केगाडबाटै फर्किने बसहरू सदरमुकामसम्म पुग्ने गर्छन् । सिधैं काठमाडौंको लागि पनि छुट्छन् ।
बस सञ्चालनपछि धेरै सहजता भएको चंखेली गाउँपालिका–३ का अगंराज परियारले सुनाए । उनका अनुसार पहिले बोलेरोले मनपरि भाडा दिन्थे । बस सुरु भएपछि ५ हजारमा सिमकोटबाट सुर्खेत र सर्केगाडबाट २५ सयमा पुगिने गरेका छौं । उनी भन्छन्,‘ पहिलोपटक म सुर्खेत आउँदा ३ दिनको बाटो हिँडेर कालिकोटको थिर्पू पुगेको छु । अनि बल्ल सुर्खेतको लागि गाडी चढ्न पाइन्थ्यो । त्यसपछि जिपमा महँगो भाडा तिर्न पर्थ्यो ।’
सुर्खेत पुग्दासम्म भाडा मात्र ७ हजार बढी खर्च हुने गरेको थियो । एक वर्ष अघिबाट ३ हजार देखि १८ समयसम्ममा सुर्खेत पुग्न पाइने गरेको उनको भनाइ छ । गाडीहरूको खंख्या बढेपछि प्रतिस्पर्धा भएको र एकले भन्दा अर्कोले केही सस्तोमा ल्याउन थालेको उनले बताए । बसहरू चल्न थालेपछि साना गाडीहरू कम भएका उनले बताए ।
हुम्ला फर्किनेभन्दा तल झर्ने यात्रुहरू बढी हुने गर्छन् । चिसो छल्नदेखि लिएर रोजगारीका लागि भारत जाने भएकाले सहर झर्ने यात्रुले बसहरू भरिने गरेको अंगराज बताउँछन् । एक महिनाबाट हिल्सा यातायातबाट हुम्लाबाट काठमाडौंको लागि सेवा सुरु गरिएको सञ्चालक विशाल रोकायाले बताए । ‘पहिलोपटक सेवा सुरु हामीले गरेका हौं,’ उनले भने, ‘त्यसपछि बटालियनको बस सेवा पनि सिमकोटबाट सुरु भएको छ । अन्य यातायातका बसहरू भने सिमकोट नपुगेरै फिर्ता हुन्छन् ।’
सिमकोटबाट ५ हजारमा सुर्खेतको लागि बस छुट्छन् भने ५५ सयमा नेपालगञ्ज पुग्छन् र ७५ सयमा काठमाडौं पुग्ने गरेको उनले बताए ।
पहिले सर्केगाडसम्म पुगेर मात्र फर्किने बसहरू अचेल सिमकोटसम्म पुग्ने गरेको उनको भनाइ छ । बस सेवा सुचारु भएपछि चार वटासम्म जिप परिवर्तन गर्नुपर्ने बाध्यता हटेको स्थानीय भीम परियारले बताए । उनले भने, ‘सुर्खेतबाट कालिकोटको जिते, त्यसपछि आधी घण्टा पैदल हिँड्न पर्थ्यो । फेरि लालीबगरबाट थिर्पुसम्म, तिलेचौरमा अर्को परिवर्तन गरेर घर पुग्नपर्ने अवस्था थियो ।’
हुम्लाका नागरिकलाई बस सेवा सुरु भएसँगै सुविधा मिलेको छ । तर बाटोका कारण यात्रा कठिन हुने गरेको अंगराज बताउँछन् । गाडीको यात्राको सम्झना गर्दै उनले सुनाए, ‘कर्णाली भित्र बग्छ । बाहिर हुम्ला जाने बाटो छ । कर्णाली करिडोर प्रवेशपछि घर पुग्दासम्म झ्यालबाट हेरेको छैन । घर पुगेको हप्ता दिनसम्म शरीरै दुख्छ । केही केजी तौलै घटेको महसुस हुन्छ ।’
