जुम्लाको कनकासुन्दरीमा कसंम कलाघर निर्माण सुरु

कुल ७० लाख रुपैयाँ लागत स्टमेटसहित डीपीआर बनाएर सुरु भएको कलाघर निर्माणको कामले कर्णालीका कलाकर्मी उत्साहित ।

पुस १९, २०८२

डीबी बुढा

Construction of Kasnam Art Gallery begins in Kanakasundari, Jumla

What you should know

जुम्ला — कनकासुन्दरी गाउँपालिका–५ स्थित गोठीजिउलामा कर्णाली संस्कृति संरक्षण मञ्च (कसंम) कलाघर निर्माण सुरु भएको छ । जुम्लाको सिंजा सभ्यता संरक्षण गर्न र दबिएका दुर्गमका प्रतिभा उजागर गर्न कलाघर निर्माणको काम सुरु भएको हो ।

कुल ७० लाख रुपैयाँ लागत स्टमेटसहित डीपीआर बनाएर सुरु भएको कलाघर निर्माणको कामले कर्णालीका कलाकर्मी उत्साहित छन् । कलाघर निर्माण हुन तीन वर्ष लाग्नेछ । 

पहिलो वर्षमा कर्णाली प्रदेश सरकार सामाजिक विकास कार्यालय जुम्लाले १५ लाख रुपैयाँ सहयोग गरेको छ । कनकासुन्दरी गाउँपालिकाले तीन लाख रुपैयाँ विनियोजन गरेको कर्णाली संस्कृति संरक्षण मञ्चका संस्थापक दीपेन्द्र उपाध्यायले जानकारी दिए । 

६ सय वर्गमिटर जमिनमा बन्न लागेको कलाघर ३ सयभन्दा धेरै अटाउने गरेर बनाइएको छ । ‘अहिले कुल १८ लाख रुपैयाँले काम भइरहेको छ,’ कर्णाली संस्कृति संरक्षण मञ्चका सचिवसमेत रहेका उपाध्यायले भने, ‘आगामी वर्ष २२ लाख बजेट आवश्यक छ ।’ बजेट व्यवस्थापनका लागि इच्छुक व्यक्ति र संस्थालाई अपिल गरिएको पनि उनले बताए । 

सिंजा उपत्यका एक इतिहास हो । यहाँका कला संस्कृति हराउँदै गइरहेका छन् । यसको जगेर्ना गर्न पनि कलाघर आवश्यक छ । ६ वर्षदेखि भाडाको घरमा कलाघरको काम सुरु भएको छ । त्यही घरमा कलाकारले कला प्रस्तुत गरिरहेका छन् । गोठीजिउलाको चुडिल्लेमा रहेको भीमबहादुर बुढाको घर भाडामा लिएर काम भइरहेको छ । 

कलाघरले अहिले सडक नाटक, स्टेज नाटक र कचहरी देखाउँदै आइरहेको छ । कलाघरमा १८ जना कार्यरत छन् । उनीहरूले कर्णालीका ३६ स्थानमा मतदाता शिक्षासम्बन्धी नाटक देखाइसकेका छन् । 

पहिलोपटक २०६७ सालमा काठमाडौंमा ‘सुइना कर्णालीका’ नामक नाटक देखायो । २०७६ सालमा सुर्खेतमा ‘फड्को’ नाटक प्रदर्शन गर्‍यो । २०७८ सालमा सुर्खेतमा ‘कुटिरो’ नाटक देखाइसकेको कलाघरले जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम चलाइरहेको छ । 

चर्चित रंगकर्मी सुनिल पोखरेलले भाडाको कलाघरमा आएर कलाकारलाई तालिम दिइसकेका छन् । सचिव उपाध्यायका अनुसार नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल नेतृत्वको टोली पुगेर कर्णालीको कला संस्कृतिको अवलोकनसमेत गरेर फर्किसकेको छ । कलाघर निर्माणको काम सुरु भएपछि यहाँका कलाकार उत्साहित भएका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully