सडकको धुलो व्यवस्थापनमा निर्माण कम्पनीले चासो नदेखाएपछि कोटमौलाका सडक छेउछाउका स्थानीय तथा गाडीमा सवार यात्रुलाई सास्ती भएको हो ।
सल्यान — स्तरबृद्धि तथा कालोपत्र भइरहेको मदन भण्डारी राजमार्ग अन्तर्गत सल्यानकोबाग्चौर–कोटमौला–पातीहाल्नासम्मको सडकमा धुलोले यात्रुलाई सास्ती भएको छ।
सडकको धुलो व्यवस्थापनमा निर्माण कम्पनीले कम चासो देखाएपछि कोटमौलाका सडक छेउछाउका घर भएका स्थानीय तथा गाडीमा सवार गर्ने यात्रुलाई सास्ती भएको हो ।
सडक धुलाम्मे भएपछि साना गाडी तथा दुई पांग्रे सवारीसाधन आउजाउमा समस्या भएको छ भने दुर्घटनाको जोखिम बढ्दै गएको छ । ठुलो गाडी अगाडी गुडमा साना सवारी साधनका यात्रु धुलाम्मे हुने गरेका छन् । त्यत्ति मात्र नभई उनीहरूमा श्वासप्रश्वासको समस्या देखिन थालेको छ ।
संघीय सरकारले बजेट विनियोजन गरेपछि ३ अर्ब २६ करोड लागतमा कुमार निर्माण सेवाले मदन भण्डारी राजमार्ग अन्तर्गत रोल्पाको माडिचौर देखि पातिहाल्ना हुँदै सल्यानको बाग्चौरसम्मको ५२ किलोमिटर सडक स्तरवृद्धि तथा कालोपत्रेको काम गत वर्षदेखि सुरु गरेको थियो ।
सडक धुलाम्मे भएपछि गाडी चलेको समयमा आउजाउ गर्न नसकिने अवस्था रहेको कोटमौलाका स्थानीय नन्दराम वलीले बताए । सडक स्तरवृद्धि तथा कालोपत्रेको काम निर्माण कम्पनीले गरिरहेको भए पनि धुलो व्यवस्थापनमा ख्याल नगर्दा आफूहरू प्रत्यक्ष प्रभावित भएको उनले जानकारी गराए । ‘सडक पुरै धुलोले पुरिएकाले कता खाल्डो छ भन्ने थाहा नहुँदा मोटरसाइकल चलाउँदा खाल्डोमा परेर दुर्घटना हुने जस्ता समस्या देखिरहेको छ’ उनले भने ‘दिउँसोको समयमा धेरै गाडी गुड्ने गर्दा पहिले नै सुरक्षित स्थानमा गएर बस्नु पर्ने अवस्था छ’ ।
विकास निर्माणको काम गर्नु राम्रै भए पनि निर्माण कम्पनीले सामान्य कुरामा ध्यान नदिँदा अहिले बागचौर देखि पालिहाल्नासम्म सडक धुलाम्मे भएको बागचौर नगरपालिका ८ का वडा अध्यक्ष सुशीलजंग चन्दले बताए । निर्माण कम्पनीले बेलाबेलामा पानी चार्ने काम गरे स्थानीय तथा यात्रुले सास्ती भोग्न नपर्ने उनले जानकारी गराए ।
‘कोट मौला सुन्तला पकेट क्षेत्र भएकाले अहिले सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला खरिद गर्न आउने गाडीको घुइँचो लाग्छ । गाडीले धुलो उडाउने गरेका कारण मोटरसाइकलमा सवार यात्रु वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य हुन थालेका छन्’ उनले भने । धुलाम्मे सडक र गाडीले उडाएको धुलोका कारण स्थानीय तथा गाडीमा सवार यात्रुले विभिन्न किसिमका समस्या भोग्दै आएका उनको भनाई छ ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख शंकर पौडेलले सडक निर्माणको काम गर्दा सडक धुलाम्मे हुने भएकाले धुलोले सर्वसाधारण तथा यात्रुलाई असर नगरोस् भनेर बस्ती आसपासमा पानी छम्किने काम निर्माण कम्पनीले गर्दै आएको बताए । निर्माण सामग्री भन्ने बित्तिकै नपाउँदा निर्माणको काम केही प्रभावित भएको उनले जानकारी गराए ।
उनका अनुसार रोल्पाको माडिचौरदेखि सल्यानको बागचौरसम्मको ५२ किलोमिटर सडक निर्माण कम्पनीले तीन वर्षमा सम्पन्न गर्नु पर्नेमा एक वर्षमा १८ प्रतिशत काम सम्पन्न गरेको छ । निर्माणका क्रममा धुलोले गर्दा समस्या निम्त्याउन नदिने खालका त्यस्तो कार्यक्रम नभएपछि कार्यालय तथा निर्माण कम्पनीले सक्दो प्रयास गर्ने उनको भनाई छ ।
