नेकपाको समानुपातिक सूचीमा कर्णालीबाट ९ जना 

नेकपाले पेस गरेको बन्दसूचीमा पूर्व एकीकृत समाजवादीबाट ५ र पूर्व माओवादीबाट ४ जना परेका हुन् । 

पुस १८, २०८२

कृष्णप्रसाद गौतम

9 candidates from Karnali in NCP's proportional list

सुर्खेत — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले निर्वाचन आयोगका पेश गरेको समानुपातिक उम्मेदवारको सूचीमा कर्णालीका ९ जना समावेश भएका छन् । नेकपाले पेस गरेको बन्दसूचीमा पूर्व एकीकृत समाजवादीबाट ५ र पूर्व माओवादीबाट ४ जना परेका हुन् । 

पूर्वमाओवादी खेमाबाट सुर्खेतकी पञ्चा सिंह, कालीकोटकी गंगा खड्का, दैलेखका गोपाल परियार, रुकुम पश्चिमका झक्कुप्रसाद घर्ती र जाजरकोटकी पार्वती विक समावेश भएका हुन् । जसमध्ये सिंह पूर्व अखिल क्रान्तिकारीकी पूर्व अध्यक्ष भएकी थिइन् भने घर्ती त्रिवेणी गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।

त्यस्तै साविक एकीकृत समाजवादीबाट जुम्लाका तीर्थबहादुर बुढा, जाजरकोटका कृष्णबहादुर बुढा, मुगुकी जयानन्दा रावल र सल्यानकी शारदा दमै समानुपातिक सूचीमा परेका छन् ।

जाजरकोटबाट बुढा प्रत्यक्षमा सिफारिस भए पनि उनलाई खसआर्यतर्फ समानुपातिक कोटामा राखिएको छ भने सल्यानकी दमैलाई पार्टी जिल्ला कमिटीले सिफारिस गरेको थिएन् । जसले पार्टीमा विवाद देखिएको छ । नेकपाले समानुपातिक उमेदवारको सिफारिस गर्दा विभिन्न क्लस्टरतर्फ झन्डै ८० जनाको नाम सिफारिस गरेको थियो । 

नेकपा केन्द्रीय सदस्य वसन्तकुमार विश्वकर्माले समानुपातिक निर्वाचन प्रणाली पिछडिएको क्षेत्र र समुदायलाई समावेशी सिद्धान्तका आधारमा राज्यको मूलप्रवाहमा ल्याउन लागि बनाइएको संवैधानिक व्यवस्था भए पनि राजनीतिक संरचनाहरू अझै पनि वर्चस्वशाली वर्गको कब्जामा रहेको देखिएको आरोप लगाए ।

समानुपातिक समावेशी सिद्धान्तको रक्षा गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुको विकल्प नभएको उनको दाबी छ । 

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully