खरायोको ऊनबाट बुनेको टोपी सदरमुकाम खलंगामै ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँमा किनबेच हुने गरेको छ।
What you should know
जुम्ला — अंग्रेजी वर्षको पहिलो दिन जनवरी १ तारेखमा टोपी दिवस मनाइरहँदा जुम्लामा भने खरायोको ऊनबाट बनेको टोपीको निकै चर्चा हुने गरेको छ ।
यो टोपी चर्चामा मात्र छैनन्, जुम्ली किसानको आम्दानीको स्रोत समेत बनेको छ।
जुम्ला भित्रिने पर्यटकको स्वागतमा पनि अचले खरायोको ऊनबाट बनेको टोपी रोजाइमा पर्ने गरेको छ। अहिले खरायोको ऊनबाट बनेको टोपी नेताकार्यकर्ता, शिक्षक, कर्मचारीदेखि किसान र उद्योगीहरुले समेत लगाइरहेका छन्।
जुम्ला चन्दननाथ नगरपालिका–८ का विष्णु रोकाया हरेक वर्ष लाखौं रुपैयाँको खरायोको ऊनबाट बनेको टोपी बेचिरहेका छन्। सुरुमा खरायोको टोपी बेच्दा निराश बनाउनेहरु नै अहिले गाउँमै टोपी खरिद गर्न आइपुग्छन्। टोपी बुन्नकै लागि ६० भन्दा धेरै खरायो पालिरहेको उनले बताए।
खरायोको ऊनबाट बुनेको टोपी सदरमुकाम खलंगामै ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँमा किनबेच हुने गरेको छ। पहिले सुर्खेत, नेपालगञ्जबाट ढाकाटोपी मगाएर लगाउने उनी अहिले घरमै पालेका खरायोको ऊनबाट बनाएका टोपी बेचेर आम्दानी गरिरहेका छन् । महिनामा कम्तीमा ८ वटा टोपी बुन्ने गरेका उनले महिनामा २५ हजार रुपैयाँसम्म कमाइ गर्दै आएको बताए।
गाउँमा हुने शुभकार्यदेखि सदरमुकाम खलंगामा हुने विदाइ तथा स्वागतमा पनि यो टोपी प्रयोग हुने गरेको उनले सुनाए । अतिथिका रुपमा जुम्ला पुग्ने उच्च अधिकारीदेखि विशिष्ट व्यक्तिलाई खरायोको ऊनबाट बनेको टोपीले स्वागत गर्ने चलन बढेको छ।
यहाँ बनाइएको खरायोको टोपी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासम्म पनि पुगिसकेको उनले बताए।
किसानले उत्पादन गरेको खरायोको ऊनबाट बनेको टोपी चन्दननाथ बहुद्देश्यीय सहकारीले बजारसम्म पुर्याउने गरेको छ । सहकारीका कार्यकारी प्रबन्धक क्रृषिराम पाण्डेले टोपीको माग पूरा गर्न नसकिएको बताए। सबैभन्दा बढी काठमाडौं, भैरहवा, नेपालगञ्ज, सुर्खेतलगायतबाट माग बढी हुने गरेको छ।
जुम्ला चन्दननाथ नगरपालिका–८ का कालीबहादुर भण्डारीलाई टोपी बुन्न भ्याइनभ्याइ छ । ५५ खरायोको मालिक कालीबहादुर ऊनबाट टोपी बुनिरहेका छन् । खरायो पालन गर्न थालेको २२ वर्ष भन्दा धेरै भइसकेको बताउने उनी चार वटा खरायोको ऊनबाट एउटा टोपी बुन्ने गरेको सुनाउँछन्। उनले भने, ‘पहिले ढाँका टोपीको चर्चा हुने गरेको थियो । अहिले खरायोको ऊनको टोपीको बढी माग छ।’
पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले चन्दननाथ नगरपालिका र कनकासुन्दरी गाउँपालिकामा खरायोको पालन हुने गरेको बताए । गत वर्ष ७० लाख रुपैयाँ बराबरको टोपी बिक्रि भएको तथ्यांक पशु अस्पताल तथा पशु सेवा कार्यालयसँग छ। ‘किसानले आफै बुनेर यहाँका अर्गानिक सामान बिक्रि गर्ने कोसेली घरमा पुर्याउँछन् । कोसेली घरहरुले बजारसम्म पुर्याउने गरेका छन्,’ कार्यालय प्रमुख बुढ्थापाले भने, ‘खरायोको उनको टोपी चिनोको रुपमा लैजाने र पठाउने चलन बसेको छ ।’
जुम्लामा एक हजार ४ सय १५ वटा खरायो पालिएको उनले बताए । सबै खरायो ऊनबाट टोपी बुन्नकै लागि पालिएका हुन् ।
