कुमाखका ११ खानेपानी योजनाको मुहानमा 'कोलीफर्म'

पालिकामा संचालित दीगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाले खानेपानीका मुहानको पानी परीक्षण गर्दा ११ मुहानमा 'कोलीफर्म' भेटिएको हो ।

पुस १५, २०८२

विप्लव महर्जन

'Colifarm' at the source of 11 drinking water projects in Kumakh

सल्यान — स्थानीयले प्रयोग गर्दै आएको कुमाख गाउँपालिका–२ र ६ का खानेपानी योजनाका मुहानका पानीमा दिसामा पाइने जिवाणु 'कोलीफर्म' भेटिएको छ ।

पालिकामा संचालित दीगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाले खानेपानीका मुहानको पानी परीक्षण गर्दा ११ मुहानमा 'कोलीफर्म' भेटिएको हो । 

सात वटा प्रमुख प्यारामिटरको आधारमा स्वच्छता परियोजनाले पालिका भरीका ८३ वटा खानेपानी योजनाका मुहानको पानी परीक्षण गरेको थियो । यी ११ मुहानबाट वडा–२ र ६ का विभिन्न बस्तीका ३ सय बढीले परिवारले पानी प्रयोग गर्दै आएका छन् । 

'कोलीफर्म' नामक जिवाणुले झाडापखाला, हैजाजस्ता रोगकोजोखिम हुने भएकाले सम्बन्धित स्थानमा खानेपानी शुद्धीकरणका लागि पालिका र स्वच्छता परियोजनाले सचेतनामूलक कार्यक्रम गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार सोनीले बताए ।  

अझै पनि केही ठाउँमा खुला दिसापिसाब गर्न नछाडेकै कारण बस्ती आसपासका जंगलमा तथा खोल्साखाल्सीमा रहेका मुहानमा कोलीफर्म देखिएको पालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले बताए । 'कोलीफर्म' जिवाणुरहित तथा शुद्ध पानीको लागि मुहान संरक्षणलगायतका कार्यक्रम गरिने उनले जानकारी दिए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully