ठूलीभेरी नगरपालिका–८ का युवा सुवर्ण डाँगीले सुलिगाडदेखि फोक्सुण्डो तालसम्म पर्ने फोक्सुण्डो ट्रेल क्षेत्रमा थुप्रिएको फोहोर सफाइका लागि एकल अभियान सुरु गरेका हुन्।
What you should know
डोल्पा — क्षेत्रफलका हिसाबले नेपालकै ठूलो शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने ‘फोक्सुण्डो ट्रेल’मा थुप्रिएको फोहोर एक युवाले एक्लै संकलन गर्ने अभियान चलाएका छन्।
जिल्लाको ठूलीभेरी नगरपालिका–८ का युवा सुवर्ण डाँगीले सुलिगाडदेखि फोक्सुण्डो तालसम्म पर्ने फोक्सुण्डो ट्रेल क्षेत्रमा थुप्रिएको फोहोर सफाइका लागि एकल अभियान सुरु गरेका हुन्।
एक दशकदेखि ट्रेकिङ गाइडको रूपमा सक्रिय डाँगीले उक्त ट्रेलबाट एक साताको अवधिमा एक टनभन्दा बढी फोहोर संकलन गरेका छन्। निकुञ्ज र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिसँग सहकार्य गरी संकलन गरिएको फोहोर जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायको उपस्थितिमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए।
एक साताको अवधिमा उनले प्लास्टिकजन्य, सिसाजन्य र कपडाजन्य फोहोर संकलन गरेका थिए। यसअघि डाँगीले कञ्चनजंघा, अन्नपूर्ण, अपर मनाङ, मनास्लुलगायतका देशका प्रमुख पर्यटकीय क्षेत्रबाट एकल रूपमा फोहोर संकलन गरी सम्बन्धित निकायमा बुझाउँदै आएका थिए।
‘हाम्रो सम्पदा हामी आफैँ सफा राखौं’ भन्ने नाराका साथ आफू एक्लै अभियानमा जुटेको डाँगीले बताए। नेपाल विश्वकै सुन्दर मुलुकमध्ये एक भएकाले नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने यिनै पर्यटकीय सम्पदा भएको उनको धारणा छ। त्यसैले यी क्षेत्र स्वच्छ र सफासुग्गर राख्न सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरे।
पछिल्ला केही वर्षयता डोल्पाको सुन्दर फोक्सुण्डो ताललगायत पर्यटकीय गन्तव्यमा पर्यटकको संख्या बढ्दै गएको भन्दै उनले पर्यटकहरूलाई आफैँले ल्याएका प्लास्टिकजन्य फोहोर तोकिएको स्थानमा व्यवस्थापन गर्न आग्रह गरे।
आगामी दिनमा जिल्लाकै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिर, शे–गुम्बा, तातोपानी क्षेत्रलगायत अन्य पर्यटकीय गन्तव्यमा पनि सरसफाइ अभियान सुरु गर्ने डाँगीले बताए।
संकलन गरिएको फोहोर खच्चडमार्फत निकुञ्ज कार्यालयसम्म पुर्याइएको थियो। अभियानका लागि केही रकम आर्थिक सहयोग संकलन भएको र त्यसको हिसाब केही दिनभित्र सार्वजनिक गरिने उनले जानकारी दिए।
निकुञ्ज क्षेत्रभित्र थुप्रिएको फोहोर संकलन गरी हस्तान्तरण गरेपछि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले अभियन्ता डाँगीलाई धन्यवाद समेत दिएको छ।
