सल्यान अस्पतालमा रक्तसंचार केन्द्र संचालन

रक्तसंचार केन्द्र संचालनमा आउँदा जिल्ला अस्पताल सल्यनमा शल्यक्रिया गर्नुपर्ने गर्भवती र रगत आवश्यक हुने अन्य विरामीकाे उपचारमा सहज हुने भएकाे छ ।

पुस ११, २०८२

विप्लव महर्जन

Blood transfusion center operating at Salyan Hospital

What you should know

सल्यान — जिल्ला स्वास्थ्य कार्यालय सल्यान र स्थानीय युवाहरुको सक्रियतामा जिल्ला अस्पताल सल्यानमा रक्तसंचार केन्द्र संचालनमा आएको छ ।

नेपाल रेडक्रस सोसाइटी सल्यानले केही वर्षअघि रक्तसंचार केन्द्र संचालनका लागि जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल सल्यानको परिसरमा २० लाख खर्च गरी तीन कोठे भवन निर्माण गरेको थियो । भवन निर्माण गरे पनि रेडक्रसले बिभिन्न समस्या देखाउँदै रक्तसंचार केन्द्र संचालन गर्न सकेको थिएन । अहिले त्यहीँ भवनमा जिल्ला अस्पतालले युवाहरुको सक्रियतामा रत्तसंचार केन्द्र संचालनमा ल्याएको हो । 

रक्तसंचार केन्द्र संचालनमा ल्याएपछि जिल्ला अस्पतालमा उपचार र शल्यक्रिया गर्नुपर्ने विरामी तथा गर्भवतीलाई सहज हुने छ । यसअघि रगत आवश्यक भए विरामीका आफन्त तथा स्वास्थ्यकर्मीले रगत समूह मिल्ने व्यक्तिलाई सामाजिक सञ्जाल तथा फोन मार्फत सम्पर्क गरेर व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो ।  

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले अब रगतको अभावमा विरामीलाई रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । जिल्ला अस्पतालमा जटिल समस्या भएका गर्भवतीको एक दशकदेखि शल्यक्रिया हुने गरे पनि रगत चाहिने अवस्थामा सास्ती हुँदै आएको थियो ।

२०४४ सालमा स्थापना भएको जिल्ला अस्पताल सल्यान १५ शय्याको भए पनि अहिले ४० बेड राखेर सेवा दिँइदै आएको उनले जानकारी दिए । अस्पतालमा महिनामा ८ देखि १२ प्वाईन्ट रगत खपत हुने गरेको र रक्तसंचार केन्द्रमा संकलन गरेका रगत बढी भएमा अन्यत्र पठाउन सकिने उनले बताए ।  

रक्तसंचार केन्द्रलाई व्यवस्थापन गर्नका लागि प्रदेश र संघीय सरकारसित पहल गरिएको र जिल्लाका १० वटै स्थानीय तहले पनिसहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully