ठूलीभेरी नगरपालिका-४ का ३५ वर्षीय नेत्र रोकायको उपचारकै क्रममा काठमाडौंमा निधन भएको छ ।
डोल्पा — हिमाली जिल्ला डोल्पामा बिरामी उद्धार गर्न हेलिकप्टरकै भर पर्नु परेको छ । जिल्लामा सुविधासम्पन्न स्वास्थ्य उपचार सेवा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचार गर्न हेलिकप्टरकै भर पर्नु परेको हो ।
मंगलबार डोल्पाबाट एक बिरामीको सिम्रिक एयरको हेलिकप्टर चार्टर गरी उद्धार गरिएको छ । उपल्लो डोल्पाका ती बिरामीलाई हेलिकप्टर चार्टर गरेर उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले जानकारी दिए ।
उपल्लो डोल्पाबाट शे–फोक्सुण्डो गाउँपालिका-५ बस्ने मिन्दी गुरुङलाई उपचारका लागि काठमाडौं लगिएको छ । उनी लामो समयदेखि टीभी रोगले ग्रस्त छिन् । एक्कासि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आठ लाख रुपैयाँमा हेलिकप्टर मगाएर उद्धार गरिएको उनका श्रीमान् युङ्डुङ गुरुङले जानकारी दिए ।
आफ्नी श्रीमती बिरामीले थला परेपछि सबैबाट सरपापट गरेर हेलिकप्टर चार्टर गरेको उनले बताए ।उपल्लो डोल्पालीलाई प्राण बचाउने आसमा हेलिकप्टर चार्टर गर्दा घरखेत बेच्नुपर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष धावासुम्डुक गुरुङले बताए ।
‘स्थानीय तहमा आएको बजेटले सुविधायुक्त अस्पताल निर्माण गर्न सम्भव छैन । प्रदेश र संघीय सरकारलाई हारगुहार गर्दासमेत सुनुवाइ हुँदैन,’ उनले भने, ‘कम्तीमा सरकारले उपल्लो डोल्पाका तीनवटा स्थानीय तहलाई मध्यनजर राख्दै एउटा सुविधायुक्त अस्पताल निर्माण गरिदिएको भए स्थानीयबासी स्वास्थ्य उपचारकै क्रममा ऋणमा डुब्नुपर्ने थिएन ।’
त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटमा कर्णाली प्रदेश १ प १२१८ नम्बरको मोटरसाइकल दुर्घटना परेर घाइते भएका दुई जनाको पनि हेलिकप्टर चार्टर गरेरै मंगलबार उद्धार गरिएको छ ।
ठूलीभेरी नगरपालिका-४ का ३५ वर्षीय नेत्र रोकाय र सोही ठाउँकी ३६ वर्षीया गीता बुढाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले जानकारी दिए । रोकायको कुम र बुढाको हातमा गहिरो चोट लागेकाले उपचारका लागि काठमाडौं लगिएको उनले बताए । राेकायको उपचारकै क्रममा काठमाडौंमा निधन भएको छ ।
जिल्लामा भरपर्दो स्वास्थ्य सेवा अनि सडक मार्गको राम्रो पहुँच नहुँदा डोल्पालीलाई स्वास्थ्य उपचारमा समस्या हुँदै आएको छ । विशेष गरेर उपल्लो डोल्पाबासीले यस्तो समस्या भोग्नु परेको हो । उपल्लो डोल्पासम्म अझै पनि राष्ट्रिय सडक सञ्जाल जोडिन सकेको छैन । जसले गर्दा त्यहाँका बासिन्दालाई सदरमुकाम झर्नसमेत पाँच दिन लाग्छ ।
