गाउँका सबै बालबालिका विद्यालय भर्ना, गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी र वडाको ५४ प्रतिशत बजेट बालकेन्द्रित योजनामा विनियोजन भएको छ ।
What you should know
भर्ता, कालिकोट — यहाँको शुभकालिका गाउँपालिका–२ भर्तालाई बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको वडा घोषणा गरिएको छ । यससँगै भर्ता जिल्लाको आठौं बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको वडा बनेको छ ।
‘खुसी राखौं बालबालिकाको मुहार, बालमैत्री शुभकालिका समृद्धिको आधार’ भन्ने नाराका साथ वडा नं २ ले बालमैत्री स्थानीय शासनका ५ वटा खुड्किला, २८ वटा प्रक्रियागत चरण र ५१ वटा सूचक पूरा गरेपछि मंगलबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
गाउँलाई बालविवाह, बालश्रममुक्त, सबै बालबालिका विद्यालय भर्ना गरेर अनिवार्य तथा आधारभूत शिक्षामा पहुँच पुगेको, पूर्ण जन्मदर्ता र पूर्ण खोपयुक्त बस्ती बनाइएपछि औपचारिक कार्यक्रममार्फत बालमैत्री स्थानीय शासन अवलम्बन वडा घोषणा गरिएको वडाध्यक्ष मनबहादुर शाहीले बताए ।
बालमैत्री गाउँ घोषणा सभामा सहभागी हुन जिल्लाका प्रजिअसहित शिक्षा, सामाजिक विकासलगायतका सरकारी तथा किर्डाक, भिडिसेफ, हुरेन्डेकलगायतका गैरसरकारी संघसंस्था, जनप्रतिनिधि, दलका प्रमुख, सञ्चारकर्मी भर्ता पुगेका थिए । गाउँका बालाचौर, छेलोहान्ना, कुइकेलबाडालगायतका वस्तीबाट बालबालिका, अभिभावक, आमा समूह, धामीझाँक्री, पञ्चेबाजा समूह बाजागाजासहित प्लेकार्ड, नारा जुलुस गर्दै सभामा आएका थिए ।
बालबालिकाको वृद्धि र विकासलाई भोलि भनेर नहुने बताउँदै जिल्ला समन्वय समितिकी उपप्रमुख मीना रावत विकले बालमैत्री स्थानीय शासन कालिकोटबाट सुरु गर्न सबै स्थानीय तह लागि पर्नुपर्ने धारणा राखिन् ।
शुभकालिका गाउँपालिकाले यस वर्ष कूल बजेटको ५४ प्रतिशत बजेट बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताको क्षेत्रमा विनियोजन गरेको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए ।
शुभकालिका–२ वडाले यस वर्ष ५ लाख ४० हजार रुपैयाँ बालबालिकाको क्षेत्रमा विनियोजन गरेर खर्च गरेको सहयात्रा तेस्रोका बाल संरक्षण तथा बालअधिकार शासन संयोजक सरिता खत्रीले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बालमैत्री घोषणालाई समुदायले आत्मसात् गरेकाले नमुना गाउँका रूपमा रहने बताए ।
स्थानीय सरकार बालमैत्री नभए बालबालिकाका सवाल ओझेलमा पर्न सक्ने भएकाले बालमैत्री स्थानीय शासन लागू गर्न पालिकाले अगुवाइ गरेको कांग्रेस नेता मीनबहादुर बोगटीले बताए । यहाँका गर्भवती महिला दुई वर्षदेखि सुत्केरी हुन स्वास्थ्य संस्था आउने गरेका छन् । यसअघि गाउँकै सुडेनीमार्फत बच्चा जन्माउँदा केहीको अकालमै ज्यान ज्याने गरेको स्वास्थ्य सहजकर्ता सविता शाहीले बताइन् ।
दुई वर्षअघि विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गरेर अनिवार्य आधारभूत शिक्षामा पहुँच पुगेको नागरिक समाजका अगुवा खडानन्द अधिकारीले जानकारी दिए ।
गाउँवस्तीमा बालमैत्री वातावरण सिर्जना गर्न, बालबालिकाविरुद्ध हुने सबै खाले हिंसा, भेदभाव र दुर्व्यवहारको अन्त्य गर्न, बाल केन्द्रित नीति–नियम बनाइ कार्यान्वयन गर्न, बाल सहभागितालाई अर्थपूर्ण बनाउन, बालमैत्री भौतिक संरचना निर्माण गर्न बालमैत्री स्थानीय शासन अवधारणा अवलम्बन गरिएको वडा सदस्य दुर्गनाथ योगीले बताए ।
बालमैत्री घोषणा सभामा विभिन्न विद्यालयका बालबालिकाले नृत्य तथा देउडा नाच र स्थानीय महिलाले पुरानो झोडा खेल, देउडा र हुड्के प्रदर्शन गरेका थिए । वडालाई बालमैत्री घोषणा गर्न सक्रिय व्यक्ति तथा निकायलाई वडाले सम्मान पनि गरेको थियो ।
वडाले बालबालिकाका सवाल पहिचान गर्न बाल भेला, सवाल सम्बोधन गर्न बाल कचहरी, अपांगता शिविर संचालन, जोखिममा रहेका बालबालिकालाई सहयोग गरिरहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अमृता अधिकारीले बताइन् ।
