नेपाल नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख प्रदीप अर्यालले अहिले देखिएका समस्या कम गर्दै सुरक्षित, सर्वसुलभ र नागरिकमैत्री हवाई सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
जुम्ला — जुम्ला विमानस्थलमा चल्ने सरकारी तथा निजी विमान कम्पनीका काउण्टर बाहिर खोलिएको भए पनि टिकट विमानस्थलभित्रैबाट बाँडिँदा सर्वसाधारण नागरिकले हवाई सेवा पाउन कठिन भइरहेको छ ।
विमानस्थलभित्रबाट टिकट बाँड्नु, फोनका भरमा पहुँचवालालाई टिकट उपलब्ध गराउनु र घण्टौं विमानस्थलबाहिर पर्खंदा पनि सर्वसाधारणले टिकट नपाउनुले हवाई सेवाप्रति नागरिकको अविश्वास बढेको छ ।
दुर्गमको हवाई उडान नियमित नहुनु, सुरक्षित र भरपर्दो नहुनु र प्रभावकारी र सर्वसुलभ सेवा नपाउने जस्ता समस्या भोगेको यात्रुहरूले गुनासो गर्ने गरेका छन् । सरकारी जहाज नियमित नहुनु र निजी जहाजमा मनपरी टिकट वितरण हुनुले समस्या उब्जिएको सिंजाका धनप्रसाद खत्रीले जानकारी दिए ।
जहाजमा सिट खाली हुँदा हुँदै कृत्रिम अभाव देखाउनु, अनलाइट टिकट सेवा नहुनु र ठूला जहाज विमानस्थलमा अवतरण गर्न नसक्नुले अहिले पनि दुर्गमको हवाई सेवा नागरिकमैत्री हुन सकिरहेको छैन । एजेन्टहरूले भाडा दर र टिकट वितरण प्रणाली पारदर्शी गर्न नसकेको यात्रुहरूको भनाइ छ । जुम्लामा नेपाल एयरलाइन्स, तारा, सीता र समिट एयरले उडान भरिरहेका छन् । सबै जहाजका काउन्टर विमानस्थलबाहिर खोलिए पनि टिकट भने भित्रैबाट बाँडिरहेको यात्रुको गुनासो छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जुम्लामा चल्ने जहाजहरूले अनिवार्य रूपमा काउन्टरबाट टिकट बाँड्न निर्देशन दिए । उनले भने, ‘काउन्टरबाट टिकट नबाँड्ने जहाज कम्पनीलाई कानुनी कारबाही अघि बढ्छ ।’ जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले काउन्टर खोल्न कन्ज्युस्याइँ गर्नाले नागरिकले टिकट नपाउने गरेको बताए । विगत जस्तो थियो, वर्तमान पनि त्यही तरिकाले चलिरहेको भन्दै उनले नागरिकमैत्री सेवा दिन आग्रह गरे ।
‘विमानस्थलका सन्दर्भमा धेरैपटक निर्णय भएको छ तर कार्यान्वयन हुन सकिरहेको छैन,’ जिल्ला समन्वय समिति प्रमुख आचार्यले भने, ‘अब भएका निर्णय कार्यान्वयन होस् ।’ राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्यले विमानस्थलमा यात्रुको अधिकार सर्वाधिक हनन भएको बताइन् । विमानस्थलको व्यवस्थापनमा सबैको चासो हुनुपर्ने उनको भनाइ छ ।
नेपाल नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख प्रदीप अर्यालले अहिले देखिएका समस्या कम गर्दै सुरक्षित, सर्वसुलभ र नागरिकमैत्री हवाई सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।
विमानस्थलमा देखिएका समस्या निवारणका लागि नागरिक उड्डयन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानवअधिकार आयोग प्रदेश शाखा कार्यालयको आयोजनामा आइतबार अन्तर्क्रिया कार्यक्रमसमेत गरिएको छ ।
