करारका कर्मचारी हटाउँदा स्वास्थ्य संस्था बन्द, सेवाग्राही मारमा

पञ्चपुरी नगरपालिकाले १ सय २८ करारका कर्मचारीको म्याद थप नगर्दा स्वास्थ्यतर्फका मात्रै ४१ जना परेका छन् । करारका कर्मचारी हटाउँदा यहाँ सबैभन्दा बढी प्रभाव स्वास्थ्य संस्थामा परेको छ ।

पुस ६, २०८२

तृप्ति शाही

Health institutions close as contract employees are removed, service recipients suffer

What you should know

वीरेन्द्रनगर — सुर्खेतको पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेबाट करारका कर्मचारीको कार्यावधिको म्याद थप गरेन । करारका कर्मचारी कामबाट हटेसँगै पालिकाका १२ वटा स्वास्थ्य संस्था अहिले बन्द हुन पुगेका छन् ।

टोल–टोलमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले खोलिएका स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । यहाँका ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाइ बन्द भएका हुन् ।

पञ्चपुरी नगरपालिकाले १ सय २८ करारका कर्मचारीको म्याद थप नगर्दा स्वास्थ्यका मात्र ४१ कर्मचारी परेका छन् । जसमा ७४ शिक्षक र १३ जना पालिकामा कार्यरत कर्मचारी थिए । 

कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ऐनअनुसार पालिकाले करारका कर्मचारी हटाएको हो । ‘करारको सेवा अवधि सकिएका कर्मचारीको सम्झौता प्रदेशको स्थानीय सेवा ऐनका कारण थप नगर्ने कुरा भयो, अनि थप भएको छैन,’ नगर प्रमुख लालवीर भण्डारीले भने, ‘कर्मचारी हटाउँदा सेवा प्रवाहमा समस्या आएको छ ।’ उनका अनुसार सबैभन्दा धेरै मार स्वास्थ्य क्षेत्रमा परेको छ । पालिकाको आन्तरिक आम्दानी कम हुँदा कर्मचारी हटाउनु पर्ने बाध्यता आएको उनले बताए । ‘यसले गर्दा स्वास्थ्य र शिक्षामा धेरै असर परेको छ,’ उनले भने, ‘पालिकाले अहिले ओएनएमको कार्य अघि बढाएको छ । आन्तरिक आम्दानीले कायम गर्न सकिने गरी योजना बनाउँदैछौं ।’

चौकुने गाउँपालिकामा कार्यरत करारका कर्मचारीको सेवावधि पुस मसान्तसम्म रहेको पालिकाका अध्यक्ष खड्क विक बताउँछन् । ‘प्रदेश सरकारको ऐनले स्थानीय सरकार मारमा परेका छन्,’ अध्यक्ष विकले भने, ‘करारका कर्मचारी हटेपछि स्वास्थ्य संस्था बन्द गर्नुपर्ने अवस्था छ । जनतामाथि ठूलो धोका भयो ।’ दुर्गमका पालिकामा सेवाका लागि नागरिकले सास्ती भोगिरहेकै बेला करारका कर्मचारी कटौतीले अझै समस्या थपिने उनले सुनाए ।

कालिकोटको खाडाचक्र नगरपालिकाले पनि साउन १ गतेबाट लागू हुने गरी ५१ जना कर्मचारी हटाएको छ । करारका कर्मचारी हटाउँदा सबैभन्दा बढी प्रभावित स्वास्थ्य संस्था भएका छन् । केही स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईंले बताए । उनका अनुसार सेवाग्राहीसँगै एक्लै काम गर्ने कर्मचारी पनि मारमा परेका छन् । 

स्वास्थ्य संस्था बन्द हुने अवस्था सिर्जना भए पनि पालिकाले स्वास्थ्यका कर्मचारीका लागि मात्र विज्ञापन खोलेको जानकारी उनले दिए । ‘सेवाग्राहीलाई सेवा त दिनै पर्‍यो,’ उनले भने, ‘स्वास्थ्य सेवा रोकिने अवस्था आएपछि नयाँ विज्ञापन खोलेर भर्ना प्रक्रिया अघि बढाएका छौं ।’

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाले पनि कार्तिक १ गतेबाट लागू हुने गरी करारका कर्मचारी हटायो । पालिकाले स्वास्थ्यसँगै अन्य क्षेत्रका गरेर ३१ कर्मचारी हटाएको हो । सूचना अधिकारी रामप्रसाद सञ्जायलका अनुसार दरबन्दी बाहिरका करारका कर्मचारी पालिकाले हटाएको हो । कर्मचारी हटाउँदा सेवाप्रवाहमा समस्या भए पनि फाजिलमा कर्मचारी भएकाले त्यहीँबाट काम भइरहेको उनले बताए । उनका अनुसार दरबन्दी अनुसारका कर्मचारी सबै भएकाले कामकाज नियमित रूपमै सञ्चालन भइरहेको छ । 

गाउँको स्वास्थ्य संस्था बन्द भएपछि साल्कोट अस्पतालबाट सेवा लिनुपर्ने बाध्यता आएको पञ्चपुरी नगरपालिका– १ का स्थानीय धर्मजित थापाको गुनासो छ । सिटामोल लिनका लागि पनि तीन घण्टा बढीको दूरी पार गर्नुपर्ने बाध्यता आइपरेको उनले बताए ।

करारका कर्मचारी हटेसँगै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउन पनि कठिन भइरहेको छ । सुरक्षित सुत्केरी, परिवार नियोजन लगायतका आधारभूत स्वास्थ्य सेवा प्रत्येक वडाबाट दिनुपर्ने हुन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका उदय बीसी भन्छन्, ‘करारका कर्मचारी हटेसँगै सेवा प्रवाहमा समस्या भएको छ । स्थानीयले स्वास्थ्य सेवा लिन कठिन भएको छ ।’

स्थानीय स्वास्थ्य संस्था बन्द भएपछि सामान्य स्वास्थ्य सुविधा लिनका लागि पनि टाढा जानुपर्ने बाध्यता आएको स्थानीय लक्ष्मीकुमारी मगरले बताइन् । घर नजिक आएको सेवा टाढा गएपछि स्थानीयले दुःख पाएको उनले सुनाइन् । स्थानीयको अधिकार खोसिएको महसुस भएको उनको भनाइ छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully