जनप्रतिनिधि चढ्ने गाडी मर्मत भए, आगो निभाउने दमकल भने ग्यारेजमै

आगो नियन्त्रण गर्नेजस्तो संवेदनशील अवस्थामा प्रयोग हुने दमकल अझै नबन्नु दुर्भाग्यपूर्ण भएको स्थानीयको गुनासो ।

पुस २, २०८२

डीबी बुढा

The vehicle used by the public representative has been repaired, but the fire engine used to put out the fire remains in the garage.

What you should know

जुम्ला — गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा चन्दननाथ नगरपालिकामा तोडफोड भएको दमकल अझै मर्मत हुन सकेको छैन । दमकल मर्मत नहुँदा आगलागी भइहाल्यो भने नियन्त्रणमा लिन कठिन हुने अवस्था छ । तीन महिनादेखि दमकल थन्किएको छ ।

आन्दोलनका क्रममा एम्बुलेन्स, शववाहन, जनप्रतिनिधि कर्मचारीले चढ्ने गाडी र दमकल तोडफोड भएका थिए । जनप्रतिनिधि र कर्मचारी चढ्ने सवारी र एम्बुलेन्स, शववाहन मर्मत भएर सञ्चालनमा आए पनि दमकल अझै मर्मत हुन सकिरहेको छैन । 

रावल वर्कसपका सञ्चालक विन्दास रावलले एक हप्ताअघि मात्रै दमकल मर्मतका लागि ग्यारेज पठाएको बताए । ‘दमकलको अगाडिको सिसा हालिसकिएको छ,’ रावलले भने, ‘केही सामान मगाउनुपर्ने भएकाले ढिलो भएको हो । तर अबको एक हप्तामा दमकल मर्मत भइसक्नेछ ।’

दमकलजस्तो अति संवेदनशील साधन मर्मतमा ढिला गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । जनप्रतिनिधिले एम्बुलेन्स, शववाहन र दमकल मर्मतलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय हर्कबहादुर रोकायाले बताए । ‘तर नगरप्रमुख र उपप्रमुखले आफू चढ्ने गाडी मात्रै चाँडै बनाइहाले,’ उनले भने, ‘सार्वजनिक सरोकार राख्ने साधनमा लापरबाही देखियो ।’

आगो नियन्त्रण गर्नेजस्तो संवेदनशील अवस्थामा प्रयोग हुने दमकल अझै नबन्नु दुर्भाग्यपूर्ण भएको स्थानीयको गुनासो छ । ‘जनप्रतिनिधिहरू नागरिकको सेवाभन्दा आफ्नै लाभतिर केन्द्रित बने,’ चन्दननाथ–६ का धनबहादुर थापाले गुनासो गरे ।

चन्दननाथ नगरपालिका–१० का राजबहादुर खत्रीले दमकल मर्मत आमनागरिकको प्रत्यक्ष सरोकारको विषय हुनुपर्नेमा जोड दिए । ‘नगरपालिकाका प्रमुख र उपप्रमुखले आफूले सेवा लिने गाडी बनाइहाले तर नागरिकको सेवा गर्ने दमकल बनाएनन् । यसभन्दा विडम्बना के हुन सक्ला र ?,’ उनको प्रश्न छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले दमकल मर्मत प्रक्रियामै रहेको दाबी गरे । ‘अन्य सवारीसाधनको सामान नेपालमै उपलब्ध भएकाले छिटो मर्मत भयो तर दमकलको सामान भारतको दिल्लीबाट ल्याउनुपर्ने भएकाले ढिलो भइरहेको हो,’ उनले भने । महिला अधिकारकर्मी दिलमाया शाहीले दमकलजस्तो अत्यावश्यकीय साधन मर्मतमा ढिलाइ हुनु प्रशासनिक कमजोरी मात्र नभएर नागरिकको जीउज्यान र सम्पत्तिप्रति देखाइएको असंवेदनशिलता भएको प्रतिक्रिया दिइन् । 

एक हप्तादेखि दमकल चन्दननाथ–६ स्थित रावल वर्कसपमा थन्किएको छ । जेनजी प्रदर्शनका नाममा नगरपालिकाको डोजर, एम्बुलेन्स, शववाहन, डोजर, जीप, हाइलेक्स कार र स्कारपियोमा तोडफोड गरिएको थियो । साथै ११ वटा मोटरसाइकल र स्कुटरमा समेत तोडफोड हुनुका साथै कार्यालयभित्र रहेका कम्प्युटर, एलसीडी, एकीकृत सेवा प्रर्णालीको टोकन मेसिन, डिजिटल नागरिक वडापत्र, प्रिन्टर, डिस्पेन्सर, फर्निचर र नगर प्रहरीका सामग्रीसमेत नष्ट भएका थिए ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully