कर्णालीमा बढ्दै राजनीतिक सरगर्मी

उनीहरु सबैको जोड आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित थियो भने सबै नेताले आगामी निर्वाचनपछि पहिलो पार्टी बन्ने दाबी गरे ।

मंसिर २८, २०८२

कृष्णप्रसाद गौतम

Political activity increasing in Karnali

What you should know

सुर्खेत — नेपाली कम्युनिष्ट पार्टीले प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार एकता सन्देशसभाको आयोजना गर्‍यो । जसमा पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत शीर्ष नेताहरु सहभागी भए । 

उनीहरु सबैको जोड आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित थियो भने सबै नेताले आगामी निर्वाचनपछि पहिलो पार्टी बन्ने दाबी गरे । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबाहक सभापति डीपी अर्याललगायत नेताहरुको उपस्थितिमा कर्णाली प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्‍यो भने एक साताअघि पूर्व माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका पूर्वमन्त्री जनार्दन शर्मा गृहजिल्ला रुकुम पश्चिममा आयोजित युवा भेलामा सहभागी भए ।

अघिल्लो दुई साता प्रदेशभरि नै एमालेको महाधिवेशन प्रतिनिधि छनोटको चहलपहल थियो भने कांग्रेसले क्षेत्रीय समितिहरुको बैठकबाट धमाधम प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटका लागि सिफारिसको काम गरिरहेको छ । 

शनिबारसम्म रुकुम पश्चिम, डोल्पा, सल्यान, कालीकोट, सुर्खेत, जाजरकोटलगायत जिल्लामा प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्भावित उम्मेदवारको सिफारिस गरिसकेको छ । एक महिनायता कर्णालीमा राजनीतिक पार्टीका गतिविधि बढिरहेका छन् । 

सरकारले फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन घोषणा गरेको छ । जसका लागि दलहरुले राजनीतिक गतिविधि तीव्र बनाएका हुन् । भदौ २३ र २४ गतेको जेन–जी नेतृत्वको आन्दोलनयताका झण्डै दुई महिना कर्णालीमा राजनीतिक कार्यक्रम शून्य थिए । 

आन्दोलनको क्रममा सुर्खेतमा कांग्रेस, एमाले, राप्रपालगायत दलका पार्टी कार्यालयहरुमा आगजनी तथा तोडफोड भएका थिए । ‘करिब एक महिनाजति त हामी पार्टी कार्यालयका जलेका संरचना हटाउनमै व्यस्त बन्यौं, केन्द्रमा भएजस्तै यहाँ पनि केही समय अन्योल भयो, त्यसपछि सरसफाइ, रंगरोगनलगायत कामहरु गरियो,’ पूर्वमाओवादी प्रदेश अध्यक्ष विमला केसीले भनिन्, ‘अझै पनि पुनर्निर्माणका काम त बाँकी नै छन, यस्तो अवस्थामा पनि पार्टी अभियानलाई सुचारु गरेका छौं ।’

पुनर्निर्माणको काम नसकिए पनि राजनीतिक गतिविधि बढाइएको कांग्रेस सुर्खेतका सभापति खडकबहादुर पोखरेलले बताए । ‘आगलागीबाट पार्टी कार्यालयका सबै सामग्री नष्ट भए, ती सामग्री फेरि जोड्न सकिएको छैन, तर पनि बैठक, भेलालगायत कार्यक्रम जलेकै पार्टी कार्यालयमा चलाइरहेका छौं,’ उनले भने, ‘अब त हामीलाई पनि महाधिवेशनको चटारोले छोयो, त्यसैले क्रियाशील सदस्यता टुंग्याउने र वडा–पालिका हुँदै निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशन गराउनेगरि आवश्यक तयारी थालिएको छ, सँगसँगै प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको चटारोले पनि छोएको छ ।’ 

उनका अनुसार सुर्खेतका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारको सिफारिस भइसकेको छ भने गाउँगाउँमा पार्टीका कार्यक्रम तीव्र बनाइएका छन् । एमाले नेताहरु भने शनिबारदेखि ११ औं महाधिवेशनमै व्यस्त छन् । 

एमाले प्रदेश अध्यक्ष गुलावजंग शाहले सोमबारसम्म महाधिवेशनमै व्यस्त रहने र महाधिवेशनको सन्देशसहित गाउँगाउँमा निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिने बताए । ‘एक साताभित्रै सम्भावित उम्मेदवारको सिफारिसदेखि पार्टी गतिविधिलाई ग्रामीण क्षेत्रसम्म पुर्‍याउनुपर्नेछ,’ उनले भने, ‘अब हाम्रो ध्यान कर्णालीमा कसरी पहिलो पार्टी बन्ने भन्नेमै केन्द्रित हुनेछ ।’

जेन–जी नेतृत्वको आन्दोलनपछि दलहरुले आफूलाई पुनर्निर्माण गर्नुपर्ने आवश्यकता देखिएको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले बताए । ‘झण्डै दुई महिना त राजनीतिक गतिविधि शून्य नै भए, आन्दोलनले नयाँ पुस्ताको असन्तुष्टि र आकांक्षालाई स्पष्ट बनाएको छ,’ उनले भने, ‘अब सबै दलहरुले युवापुस्तको मागलाई चुनौतीको रुपमा लिँदै उनीहरुलाई नै समेटेर आफ्ना गतिविधिलाई केन्द्रित गर्नुपर्ने आवश्यकता देखियो ।’ 

दलहरुले आन्दोलनका मुद्दालाई संस्थागत गर्ने अवसरको रुपमा आगामी निर्वाचनलाई लिनुपर्ने अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन् । ‘दलहरुको परम्परागत संरचना र असफल नेतृत्वप्रति युवा पुस्ताको आक्रोश छ,’ उनले भने, ‘पारदर्शी, जवाफदेही र अवसरयुक्त नेपाल निर्माणका लागि युवा पुस्ताको साथमा दलहरुको नेतृत्व स्थापित गर्न सक्नुपर्छ ।’

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully