धुलोका कारण चार वडाका सडक आसपासका बस्तीका झन्डै ५ सय परिवार र दुई विद्यालयका बालबालिका प्रभावित भएका छन् ।
What you should know
सल्यान — कपुरकोटदेखि रोल्पाको कोइला जाेड्ने सडक खण्डमा चुनढुंगा बोक्न प्रयोग हुने टिपरले उडाउएको धुलोका कारण कपुरकोट गाउँपालिका–१,२,३ र ५ को सडक आसपासका बासिन्दा एक दशकदेखि सास्ती भोग्दै आएका छन् ।
वर्षौदेखि धुलाम्मे खाल्डाखुल्डी परेको जीर्ण सडक मर्मत, स्तरबृद्धि तथा कालोपत्र गर्ने सहमति भए पनि सम्बन्धित निकायले चासो नदिएका कारण टिपरले उडाएको धुलो घरभित्रै पस्ने गर्दा बस्तीका बासिन्दाले सास्ती भोग्दै आएका हुन् ।
धुलोका कारण चार वडाका सडक आसपासका बस्तीका झन्डै ५ सय परिवार र दुई विद्यालयका बालबालिका प्रभावित भएका छन् । रोल्पाको कोइलाबाट दाङस्थित सिमेन्ट उद्योगका लागि क्षमता भन्दा बढी चुनढुंगा बोकेर आउजाउ गर्ने टिपरले उडाएको धुलोका कारण बालबालिका रेनकोट लगाएर विद्यालय जान बाध्य हुने गरेका छन् । दैनिक एक सय भन्दा बढी गुड्ने टिपरकै कारण बालबालिकालगायत सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पुगेको स्थानीयको गुनासो छ ।
सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर व्यवसायी, सिमेन्ट उद्योग, चुनढुंगा उत्खनन् उद्योगले कपुरकोट बजारदेखि रोल्पाको कोइलासम्म सडक स्तरबृद्धि गर्न कपुरकोट गाउँपालिकासँग २०७९ मा सात बुँदे सहमति पनि गरेको थियो । उक्त सहमति अहिलेसम्म पालना नगरेको भन्दै रुष्ट भएका स्थानीयले अहिले सडक कालोपत्र हुनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका छन् । उनीहरुले उक्त खण्डमा केही दिनदेखि नै टिपर संचालनमा अवरोध समेत गरेका छन् । सडक कालोपत्र गर्न माग राख्दै स्थानीयले आन्दोलन गर्दै टिपर संचालनमा रोक लगाएपछि पालिकाले पनि स्थानीयको आन्दोलनमा समर्थन जनाएको छ ।
२०६५ सालमा निर्माण गरेको सडकमा निरन्तर रोल्पाको कोइलाबाट चुनढुंगा बोकेर गुड्दै आएका टिपरका कारण सडकमा ठूल्ठूला खाल्डाले धुलाम्मे भएका कारण स्थानीय बढी प्रभावित भएको मिलन बजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर विकले बताए ।
टिपरले उडाएको धुलोले सडकमा केहीबेर हिँडेको मान्छे चिन्न नसकिने अवस्था हुने र घरका भित्तामा पनि धुलाम्मे हुने गरेको उनले सुनाए । ‘कपुरकोट कोइला खण्डमा सानाठूला अन्य गाडी पनि चल्ने गरेका छन् । तर टिपरले जत्तिको धँलो अरुले उडाउदैनन् । टिपर आएको थाहा पाउने बित्तिकै घरका झ्यालढोका थुन्नुपर्छ । धुलोबाट बच्न मुख छोपेर बस्नु पर्छ,’ उनले भने, ‘बिहान र बेलुकी टिपर बढी चल्ने गर्दा उक्त सडकमा मानिस हिँड्न डराउने गर्छन् ।’ २०७९ मा स्थानीयले गरेको विरोधपछि टिपर व्यवसायी, रोल्पा सिमेन्ट प्रालि, घोराही सिमेन्ट उद्योग, चुनढुंगा उद्योगले उक्त सडकको स्तरबृद्धि तथा मर्मत गर्ने कपुरकोट गाउँपालिकासित सम्झौता गरे पनि कुनै चासो नदेखाएकाले फेरि आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए ।
सडकको धुलोका कारण स्थानीय मात्र नभई विद्यालयमा पढ्ने बालबालिका पनि प्रभावित भएका छन् । विहान विद्यालय जाने क्रममा रेनकोट र मास्क लगाउन बाध्य हुने गरेको नमुना बालविकास बोर्डिङ स्कुलका संचालक प्रेम भण्डारीले बताए । विद्यालयका बालबालिका बढी जोखिममा परेकाले विद्यार्थी पनि आन्दोलनमा सहभागी भएको उनले बताए । ‘विगतमा गरेको सम्झौता कागजमा मात्र सिमित भयो । अहिलेसम्म माग पूरा हुन सकेन । अब सडक कालोपत्र नहुँदासम्म आन्दोलन फिर्ता हुँदैन,’ उनले भने ।
हिउँदमा टिपरले उडाएको धुँलोले गर्दा सडक आसपास भएका घरमा बस्नै नसकिने मात्र नभई विभिन्न किसिमका समस्या देखिएपछि आन्दोलन गर्न बाध्य भएको स्थानीय भरत विकले बताए । २०६५ मा निर्माण गरेर गाडी गुड्न थालेको सडक एक पटक ग्राभेल गरे पनि अधिक भार बोक्ने साधन धेरै चल्ने भएकाले दुर्घटनाको जोखिम पनि बढेको उनले बताए । ‘बर्षातको समयमा सडक हिलाम्मे भएर नियमित गाडी नचल्दा किसानले उत्पादन गरेका तरकारी बिक्री गर्नका लागि हाटबजारसम्म पुयरउन हम्मेहम्मे पर्ने गर्छ । समयमै बजारमा पुर्याउन नसक्दा टिपेका तरकारी कुहिएर खेर जाने गरेका छन्,’ उनले भने ।
एकातिर सडकको दुराबस्था र अर्कोतिर सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने टिपरले उडाउने गरेको धुलोका कारण असह्य भएर आन्दोलनमा उत्रिएका स्थानीयसित आफ्नो पनि समर्थन रहेको कपुरकोट–२ का वडाध्यक्ष ईश्वर बुढाले बताए । टिपर व्यवसायी, चुनढुंगा उद्योग, सिमेन्ट उद्योगले सडक स्तरबृद्धिका लागि वार्षिक पालिकालाई आर्थिक सहयोग गर्ने र पालिकाले त्यसमा केही बजेट थप गरेर मर्मत तथा स्तबृृद्धिको काम गर्ने सहमति भए पनि अहिलेसम्म कार्यान्यवनमा नआएको उनले जानकारी दिए ।
तीन वर्षअघि स्थानीयले आन्दोलन गरेपछि टिपर व्यवसायी, सिमेन्ट र चुनढुंगा उद्योगले २०७९ साउन २४ मा कपुरकोट गाउँपालिकासँग पालिकाको साझेदारीमा सडक मर्मत गर्न प्रत्येक वर्ष १० देखि २० लाख उपलब्ध गराउने, विद्यालय खुल्ने र बन्द हुने समयमा टिपर संचालन गर्न नपाइने, अत्यधिक भारवहन गर्न नपाउने, सडकमा धुलो उड्न नदिन पानी हाल्ने, सडक स्तरबृद्धि गर्न प्रदेश हुँदै संघीय सरकारसँग पहल गर्नेलगायतका सात बुँदे सहमति गरे पनि अहिलेसम्म पालना नगरेकाले स्थानीय आन्दोलित भएको पालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । स्थानीयले गरेको आन्दोलन जायज रहेको भन्दै उनले सडक कालोपत्रका लागि पालिकाले पनि पहल गरिरहेको बताए ।
