नेपाल–चीन सिमावर्ती क्षेत्रमा पर्ने मोरिम्ला नाका नजिक पर्ने फाल गाउँमा बिओपी स्थापना गर्न दुई हजार दुई सय पैंतीस वर्गमिटर जग्गा प्राप्त भएको सशस्त्र प्रहरी नायब उपरीक्षक दिपकराज भट्टले जानकारी दिए ।
डोल्पा — डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गर्न बाटो खुलेको छ ।
डोल्पोबुद्ध गाउँपालिका–६ मा पर्ने फाल गाउँमा नि:शुल्क जग्गा प्राप्त भएसँगै बिओपी स्थापना गर्न बाटो खुलेको हो ।
नेपाल–चीन सिमावर्ती क्षेत्रमा पर्ने मोरिम्ला नाका नजिक पर्ने फाल गाउँमा बिओपी स्थापना गर्न दुई हजार दुई सय पैंतीस वर्गमिटर जग्गा प्राप्त भएको सशस्त्र प्रहरी नायब उपरीक्षक दिपकराज भट्टले जानकारी दिए । अब आवश्यक भवन संरचना निर्माणका लागि समेत स्पष्ट बाटो खुलेको डिएसपी भट्टले बताए ।
उक्त जग्गा वडा नं ६ र गाउँपालिकाको समन्वय र सहकार्यमा नि:शुल्क रुपमा स्थानीय कार्माटासी गुरुङ र छिरिङ गुरुङले जग्गा दिएको वडाध्यक्ष नुर्बु गुरुङले जानकारी दिए । वर्षौंदेखिको प्रयासबाट सशस्त्र प्रहरीको नाममा जग्गा प्राप्त भएसँगै बिओपी स्थापना गर्न बाटो खुलेको वडाध्यक्ष गुरुङले बताए । सशस्त्र प्रहरीका नाममा थप दुई रोपनी जग्गा प्रदान गर्न पनि पहल भइरहेको उनको भनाइ छ ।
बिओपीका लागि कार्माटासीले एक हजार पन्चानब्बे र छिरिङले एक हजार एक सय चालीस वर्गमिटर जग्गा प्रदान गरेका थिए । भौगोलिक रुपमा विकट उपल्लो डोल्पामा बिओपी स्थापना भएपछि सीमा सुरक्षासँगै शान्ति सुरक्षा कायम गर्न सघाउ पुग्ने गाउँपालिकाले जनाएको छ ।
उपल्लो डोल्पामा चीनसँग जोडिएका मोरिम्ला र क्याटो नाका रहेका छन् । डोल्पोबुद्ध, छार्काताङ्सोङ् र शे–फोक्सुण्डो गाउँपालिकाका गरेर तीनवटा स्थानीय तह रहेको उपल्लो डोल्पामा स्थानीयहरु पहिलेदेखिनै चिनियाँ क्षेत्रबाट सामान किनमेल गर्दै आएका छन् ।
बिओपी नहुँदा हुँदैन सिमा गस्ती
उपल्लो डोल्पामा सीमा सुरक्षा बल बिओपी नहुँदा नियमित रुपमा सिमा गस्ती हुन सकेको छैन । प्रत्येक दिन साँध सिमानामा नेपाली सुरक्षा टोली पुग्नुपर्ने भए पनि अहिले उपल्लो डोल्पामा पर्ने सिमाक्षेत्र सुरक्षाविहीन भएका छन् । तीन्जेमा शसस्त्र प्रहरीको बिओपी स्थापना हुन नसकेको पछि मोरिम्ला र क्याटो दुवै नाका सुरक्षाविहीन भएका हुन् ।
दुई देशबीचको उक्त सीमा क्षेत्रमा चिनियाँ प्रहरी भने नियमित पुग्ने गरेको उपल्लो डोल्पाबासी बताउँछन् । तर, नेपालका तर्फबाट भने सुरक्षा बल नहुँदा चिनियाँ प्रहरीले के कस्ता गतिविधि गर्छन् भन्ने कुरा रहस्यमय रहेको उनीहरुको भनाइ छ ।
चार वर्षअघि आफ्नो सीमा क्षेत्र कायम गरिएको १५ नं पिल्लर हेर्न पुगेका पूर्वाधार विकास कार्यालय डोल्पाका इन्जिनियर प्रकाश बुढालाई किन आइस भन्दै चिनियाँ प्रहरीले नियन्त्रमा लिन समेत खोजेको थियो । त्यतिमात्र नभई चिनियाँ प्रहरी एकल रुपमा सिमा स्तम्भ रंगाएको समाचार समेत बाहिरिएको थियो ।
सर्वसाधारणमा सधैं सुरक्षा त्रास
भौगोलिक रुपमा अत्यन्तै विकट उपल्लो डोल्पा पुग्न जिल्ला सदरमुकाम दुनैबाट पाँच दिनसम्म लाग्ने गर्दछ । त्यसकारण पनि उपल्लो डोल्पाबासीलाई सधै सुरक्षा त्रासहुने गर्दछ ।
उपल्लो डोल्पाको धो, साल्दाङ्ग, कागकोट लगायतका स्थानमा नेपाल प्रहरीको सुरक्षा चौकी राखिएको छ । बाह्रै महिना हिमपात हुने उपल्लो डोल्पामा कात्तिकपछि अत्याधिक चिसो बड्ने र प्रशस्त हिमपात हुने भएकाले चौकीहरु पनि जिल्ला कार्यालयमा गाभिने गर्दछन् ।
यस समयमा उपल्लो डोल्पामा सुरक्षा चुनौती थपिने शे–फोक्सुण्डो गाउँपालिका ८ का अध्यक्ष निमा गुरुङले बताए । यसवर्ष पनि उपल्लो डोल्पाका प्रहरी चौकीहरु सदरमुकाम दुनैमा गाभिसकेका छन् । कात्तिकदेखि चैत्रसम्म चिसो नघट्न भएकाले उपल्लो डोल्पा सुरक्षाविहीन हुने गर्दछ ।
छ महिनासम्म सुरक्षा नहुँदा उपल्लो डोल्पामा ऐतिहाँसिक सम्पदा चोरी हुने, गाउँघर लुटिने, सर्वसाधारण, वन्यजन्तुको आखेटोपहार अवैध रुपमा बिक्री गर्ने जस्ता अपराधिक गतिविधिहरु विगतमा घटेको पाइएको छ । त्यतिमात्र नभइ हिँउदको समयमा कतिपय सर्वसाधारणहरु घर, गुम्बामा ताला मारेर जाडो छल्न बेसी झर्ने भएकाले हतियारधारी समूहद्वारा पुरातात्विक सम्पदा चोरी हुने गरेको हो ।
भरपर्दो सुरक्षा व्यवस्था नहुँदा जिल्ला प्रहरी कार्यालय डोल्पाको रिपोर्ट अनुसार २०७२ सालदेखि हालसम्म उपल्लो डोल्पाबाट ७३ थान प्राचीन मूर्ति चोरी भएकोमा ५० थान फेला परेका छन् । अझै २३ थान फेला पर्न बाँकी छ । चोर्ने मनसाय राख्ने मान्छेहरु प्रायः मान्छे नभएको मौका छोपी हिँउदको समयमा उपल्लो डोल्पाको गाउँ बस्तीमा छिर्ने गरेकाले यस समयमा सुरक्षा खतरा बड्ने धो का स्थानीयको भनाइ छ । करिब छ महिना उपल्लो डोल्पा सुरक्षाविहीन हुने गर्दछ भने छ महिना मात्र नेपाल प्रहरीको आशिंक सुरक्षा हुन्छ ।
अहिले उपल्लो डोल्पाको फोक्सुण्डो, साल्दाङ्ग बाहेक अन्य सबै सुरक्षा चौकीहरु दुनै सरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
छैन अस्थायी भन्सार
राज्यका बेवास्ताका कारण मोरिम्ला र क्याटो नाका वैधानिक हुन सकेका छैनन् तर प्रत्येक वर्ष प्रहरी भने खटाइन्छ । यसमा पनि क्याटो नाका कहिलेकाहिँमात्र खुल्ने गर्दछ । वर्षमा एक पटकमात्र खुल्ने उक्त नाकाहरुमा अस्थायी भन्सार कार्यालय समेत राखिएको छैन ।
जडिबुटी लगायतका वन पैदावार बेच्न जाने सर्वसाधारणको चेक जाँचका लागि सीमा क्षेत्रमा डिभिजन वन कार्यालयको चेक पोष्ट समेत छैन । व्यापारीहरु निर्वात रुपमा जडिबुटीको कारोबार गर्ने गर्दछन् । राज्यको दरिलो उपस्थिति नहुँदा प्रत्येक वर्ष नाका खुल्दा गैह्र कानुनी गतिविधि हुन सक्ने बताइन्छ । उपल्लो डोल्पाको कतिपय क्षेत्र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले कस्तुरी, हिँउ चितुवा लगायतका वन्यजन्तुहरु पाइन्छन् ।
त्यतिमात्र नभइ बहुमूल्य जडिबुटी पुरातात्त्विक मूर्ति राखिएका ऐतिहासिक गुम्बाहरुसमेत उपल्लो डोल्पामा छन् । तर नाका खुल्दा सामान्य चेकजाँच गरेरै सर्वसाधारणलाई पठाइने भएकाले अवैध गतिविधि हुन सक्ने आकलनसमेत गरिएको हो ।
नाका खुल्दा जिल्लाबाट पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरीले अस्थायी रुपमा सुरक्षा दिँदै आए पनि पूर्ण सुरक्षाका लागि बिओपी स्थापना गरिनुपर्ने उपल्लो डोल्पाबासीको माग छ ।
वर्षमा एक पटक चिनियाँ क्षेत्रमा लाग्ने व्यापारीक मेलामा सर्वसाधारणले करोडौंको बस्तु आयात तथा निर्यात गर्ने गरे पनि भन्सार शुल्क एक रुपैयाँसम्म उठ्दैन । जसले गर्दा राज्यलाई उठ्नुपर्ने भन्सार कर त्यसै खेर जाँदै आएको हो । प्रत्येक वर्ष जति दिन नाका खुल्छ त्यति समयका लागि भए पनि अस्थायी भन्सार कार्यालय सरकारले राख्नुपर्ने जिल्लाका सुरक्षा प्रमुखहरुको धारणा छ ।
