जुम्लाको सहकारीले काठमाडौंमा संचालन गर्यो अर्गानिक कोसेली घर

यसअघि जुम्ला सदरमुकाम खलंगा, सुर्खेत विमानस्थल र नाग्म बजारमा मिनी मार्केट सञ्चालनमा ल्याएकाे सहकारीले बिहीबारदेखि काठमाडौंमा कोसेली घर खोलेर सुपथ मूल्यमा कर्णालीका कृषि उत्पादन बेच्न सुरु गरेको हो ।

मंसिर २५, २०८२

डीबी बुढा

Jumla cooperative operates organic Koseli Ghar in Kathmandu

जुम्ला — जुम्लामा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाले काठमाडौंमा चौथो आउटलेटका रुपमा अर्गानिक कोसेली घर सञ्चालनमा ल्याएको छ ।

बिहीबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेलले काठमाडौं महानगरपालिका ११ भद्रकालीमा कोसेली घरको उद्घाटन गरे । कोसेली घरमा कर्णालीमा उत्पादित अर्गानिक रैथाने कृषिजन्य उत्पादन राखिएको छ ।

यसअघि जुम्ला सदरमुकाम खलंगा, सुर्खेत विमानस्थल र नाग्म बजारमा मिनी मार्केट खोलेर सञ्चालनमा ल्याइसकेको सहकारीले बिहीबारदेखि काठमाडौंको कोसेली घर खोलेर सुपथ मूल्यमा कृषिबस्तुको किनबेच सुरु गरेको हो । 

कर्णालीमा उत्पादित रैथाने अर्गानिक कृषिबस्तुको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउने हेतुले कोसेली घर खोलेको सहकारीका कार्यकारी प्रमुख ऋषिराम पाण्डेले जानकारी दिए ।  

अहिले चन्दननाथ सहकारीमा २२ हजार भन्दा धेरै सदस्य छन् । उनीहरुले नगदको स्टटा आफूले उत्पादन गरेको चामल मिनी मार्केटमा दिएर पनि बचत गर्न सक्छन् । अहिले किसानले आफ्नो उत्पादन सिंधै मिनी मार्केटमा ल्याएर पनि बेचिरहेका छन् । 

कोसेली घरमा  मार्सी चामल, सिमी, चिनो, कागुनो, चिया, टिमुर, मह, गहत र रैथाने राडीपाखी, खरायोको टोपी, लिउ, शिलाजीत, कोदो, जिम्बु, टिमुर, जौंको सातु, फापरको पिठो, ओखर, भट्टमासलगायत कर्णालीमा उत्पादन भएका ४२ भन्दा बढी प्रकारका खाद्य बस्तु राखिएको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully