कर्णाली प्रदेशसभा चार महिनादेखि ठप्प

गत साउन २१ गते अन्त्य भएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन यता संसद बैठक बस्न सकेको छैन ।

मंसिर २३, २०८२

कृष्णप्रसाद गौतम

Karnali Provincial Assembly has been stalled for four months

What you should know

सुर्खेत — गत भदाै २४ मा आगजनी र तोडफोडबाट भवन ध्वस्त भएपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो । त्यसयता संसद बैठक बस्न सकेको छैन । 

भदौ २४ मा प्रदर्शनकारीबाट आगजनी भएपछि कर्णाली प्रदेशसभाका २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा संसदीय दलका कार्यालय, दुई वटा विषयगत समितिका भवन पूर्णरुपमा ध्वस्त भएका थिए । जसका कारण सरकारले संसद अधिवेशन आव्हान गर्न नसकेको प्रदेशसभा सचिवालयले जनाएकाे छ ।  

आगलागीपछि कर्णाली प्रदेशसभामा दैनिक प्रशासनिक काम र संसदीय समितिको बैठक मात्र भइरहेको छ । आगजनीका कारण अधिकांश कार्यकक्ष, कागजात, फर्निचर, कम्प्युटर, विद्युतीय उपकरणलगायत सामग्री नष्ट भएपछि संसद अधिवेशनका अन्योलमा परेको प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्रबहादुर कार्कीले बताए ।

‘गत वर्षसम्म त दसैं—तिहारपछि संसद अधिवेशन सञ्चालन गर्ने गरिएको थियो,’ उनले भने, ‘पुनर्निर्माण नगरी तत्काल यहाॅ बैठक आव्हान गर्नसक्ने अवस्था छैन, अहिले वैकल्पिक स्थानबारे छलफल चलिरहेको छ ।’ 
उनले ६ महिनाभित्र संसद अधिवेशन सुचारु गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले माघ २१ गतेभित्र जसरी पनि अधिवेशन आव्हान हुनुपर्ने बताए ।

संसद बैठक नहुँदा सांसदहरु फुर्सदिला बनेका छन्  । ‘संसद बैठक भए त सुर्खेतमै बसिन्थ्यो,’ प्रदेशसभा सदस्य वेदराज सिंहले भने, ‘धेरैजसो जिल्लातिरकै कार्यक्रममा व्यस्त छौ ।’ 

संसद बैठक नहुँदा जनताका समस्या राख्न, सरकारलाई खबरदारी गर्न र विभिन्न मस्यौदामाथि छलफल हुन नसकेको प्रदेशसभा सदस्य कलबहादुर हमालले बताए । ‘संसद नहुँदा व्यक्तिगत र पार्टीकै काममा व्यस्त भइयो,’ उनले भने, ‘प्रदेश राजधानीतिरको बसाइँ पनि घटेको छ ।’ 

प्रदेशसभा सचिवालयका अनुसार आगजनी र तोडफोडका कारण झण्डै ४ करोड रुपैयाँको क्षति प्रारम्भिक अनुमान छ । मुख्यमन्त्री यामलाल कँडेलले बजेट अभाव नहुने भन्दै प्रदेशसभा भवन पुनर्निर्माणका लागि निर्देशन दिएका छन् । 

तर पुनर्निर्माणको काम सुरु हुन नसकेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । ‘कागजात पनि सबै जलेकाले शून्यबाट काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘आगामी बैठक सञ्चालन र स्थानबारे अझैसम्म छलफल नै भएको छैन ।’ 

तत्काल संसद बैठकका लागि विभिन्न मन्त्रालय वा निर्देशनालयका भवन, जिल्ला समन्वय समितिको हल र सिटी हललाई वैकल्पिक स्थानको रुपमा हेरिएको सचिव बुढाथोकीले बताए । 

संसदीय समितिको सक्रियता बढ्यो 
संसद बैठक बस्न नसकेपछि कर्णालीका संसदीय समिति भने सक्रिय बनेका छन् । कर्णाली संसदमा सामाजिक विकास समिति, अर्थ तथा प्राकृतिक समिति, प्रदेश मामिला तथा विधायन समिति र सार्वजनिक लेखा समिति छन् । 

आन्दोलनयता विभिन्न समितिका २८ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । सबैभन्दा धेरै सामाजिक विकास समितिको १६ पटक बैठक बसेको समितिका सभापति पूर्णबहादुर खत्री बताए  । ‘संसद बैठक आव्हान नहुँदासम्म समितिहरुलाई नै क्रियाशील बनाइएको छ,’ उनले भने, ‘समितिहरुले विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारलाई निर्देशन दिने, विभिन्न विधेयकका मस्यौदा निर्माण गर्नेलगायत काम गरिरहेका छन् ।’ 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully