तातोपानीका विद्यालयमा जंकफुड निषेध : विद्यार्थीको स्वास्थ्यमा सुधार, अभिभावकको आम्दानी बढ्यो

जुम्लाको तातोपानी गाउँपालिकाभित्रका २९ विद्यालयका २ हजार ६ सय विद्यार्थीले दिवाखाजाका रूपमा रैथाने उत्पादनबाट बनेका परिकार प्रयोग गरिरहेका छन् ।

मंसिर १९, २०८२

डीबी बुढा

Junk food ban in Tatopani schools: Students' health improves, parents' income increases

What you should know

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकामा विद्यालयमा जंकफुडको प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

दिवाखाजाका रूपमा जंकफुडको प्रयोग गर्दा विद्यार्थीको स्वास्थ्यमा असर परेको भन्दै ‘दिवाखाजा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि–२०८०’ बनाएर कुनै पनि विद्यालयले जंकफुडको प्रयोग गर्न नपाउने व्यवस्था गरेको हो ।

अहिले पालिकाभित्रका २९ विद्यालयका २ हजार ६ सय विद्यार्थीले दिवाखाजाको रूपमा रैथाने उत्पादनबाट बनेका परिकारहरू प्रयोग गरिरहेका छन् ।

तातोपानी–६ हियाखोलाकी संंगीता कामीले विद्यालयमा अर्गानिक रैथाने खाजा खुवाउन थालेपछि विद्यार्थीको स्वास्थ्यमा सुधार आएको बताइन् । पहिले सुजी, चाउचाउ, बिस्कुट लैजाने गरेकमा अहिले विद्यालयले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । ‘पहिले बालबालिका नियमित विद्यालय नजाने, घरपरिवारले जंकफुड दिएर पठाउने गरेका थिए । तर अहिले विद्यालयमै बनेको अर्गानिक खाजाले विद्यार्थीको संख्या बढिरहेको छ,’ कामीले भनिन् ।

तातोपानी–६ का विष्णुबहादुर रोकायाले जंकफुडले विद्यार्थीहरूमा झाडापखाला लाग्ने, हैजा हुने समस्या तीव्र भएको अनुभव सुनाउँछन् । ‘पहिले बालबालिकालाई जंकफुड दिने बानी पर्‍यो । झोलामा जबरजस्ती बिस्कुट र चाउचाउ हालिदिने गरिएको थियो । बिरामी पर्दा अस्पताल लैजानुपर्ने अवस्था थियो,’ विष्णुबहादुरले भने, ‘विद्यालयमै बनाएर पोसिलो रैथाने खानेकुराले विद्यार्थीको स्वास्थ्य बिग्रेको छैन ।’

विद्यालयमा मकै, भटमास, जौं, गहुँ, मस्यौरा, गहत लगायतका सबै खानेकुरा पाइन्छन् । किसानले उत्पादन गरेको अन्नबाली खरिद गरेर विद्यालयले खाजा खुवाइरहेका कारण विद्यार्थीको स्वास्थ्य सप्रिएको छ ।

जुम्लाको तातोपानी गाउँपालिकाले विद्यालयमा जंकफुड निषेध गर्न कार्यविधि नै बनाएर रैथाने खाजा खुवाउनैपर्ने व्यवस्था लागू गरेको हो । ‘दिवाखाजा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि–२०८०’ पारित गरेर कार्यान्वयनमा ल्याएपछि अहिले पालिकाभित्रका सबै विद्यालयमा स्थानीयस्तरमा उत्पादित खाद्यवस्तुबाट बनेका दिवाखाजा खुवाइने गरिएको छ । जसले लोप हुन लागेका बालीहरूको संरक्षण हुनुका साथै बालबालिकाको पोषण अवस्थामा सुधार ल्याएको छ ।

तातोपानी गाउँपालिकाले खाजाको साताभरको मेनु बनाइदिएको छ । दिवाखाजाका लागि आवश्यक पर्ने पूर्वाधारहरूको समेत व्यवस्था गरेको छ । यसले विद्यार्थीहरू निरन्तर स्कुल जाने दर बढेको छ । अभिभावकहरू आफैंले उत्पादन गरेको अन्नबाली विद्यालयलाई बेचेर आम्दानी पनि गरिरहेका छन् ।

गाउँपालिकाले कार्यविधि नबनाउँदासम्म दिवाखाजाको अवस्था दयनीय थियो । तर अहिले कार्यविधि बनेपछि स्थानीयस्तरमा अर्गानिक वस्तुहरू उत्पादन गर्ने, त्यही बाली सहकारीले खरिद गरेर खाजाका रूपमा विद्यालयमा पठाउने गरिएको छ । अहिले भर्नादरमा वृद्धि भएको छ भने बीचैमा भाग्ने दर पनि घटेको छ । दिवाखाजा बनाउने भाँडा र भान्साघरसमेत पालिकाले बनाइदिएको छ ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले रैथाने दिवाखाजा खुवाउनका लागि ६ वटा कृषि सहकारीलाई जिम्मेवारी दिइएको बताए । कुन बार कति मात्रामा के खुवाउने भन्ने मेनुका आधारमा विद्यालयमा खाजा पुर्‍याइन्छ । उत्कृष्ट खाजा खुवाउने विद्यालय सम्मानित हुन्छ । अध्यक्ष चौलागाईले भने, ‘न अभिभावकलाई खाजा बनाइदिने झन्झट, न त विद्यालयलाई खाजा संकलन गर्ने समस्या छ ।’

कार्यविधिअनुसार आइतबार खिचडी, सोमबार खीर, साग र तरकारी, मंगलबार क्वाटी, गेडागुडी, बुधबार अन्डा–मासु र भुटुवा, बिहीबार हलुवा र शुक्रबार दाल–भात तरकारी खुवाउने गरिएको छ । कार्यविधिमा दिवाखाजाका लागि वडा कार्यालयको भूमिका, स्थानीय तह शिक्षा शाखाको भूमिकासँगै सामाजिक विकास समिति र कार्यपालिकाको भूमिका पनि स्पष्ट रूपमा उल्लेख छ । संघीय सरकारबाट तोकिएको पोषण मापदण्डलाई पूर्णरूपमा कार्यान्वयन गर्ने व्यवस्था कार्यविधिमा समेटिएको छ ।

कार्यविधिअनुसार खाजा खुवाउँदा अहिले फर्जी विद्यार्थी छैनन् । पहिले २९ विद्यालयमा ४ हजार ६ सय विद्यार्थी थिए । तर अहिले कार्यविधिअनुसार विद्यार्थीको टाउको गनेर खाजा दिँदा २ हजार ६ सय मात्र छन् । अर्गानिक वस्तुको खाजा खुवाउन थालेपछि हरेक वर्ष दिवाखाजा खरिदमा जाने लाखौं रुपैयाँ जिल्लाबाहिर जान पाएको छैन ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully