छुल्डिम सानै हुँदा बुबा–आमाको निधन भएपछि ६६ वर्षसम्म पनि नागरिकता पाएकी थिइनन्। पतिको मृत्यु भइसकेका कारण उनका ३६ र २३ वर्षका छोराहरूले पनि नागरिकता पाएका थिएनन्। उनीहरूले पनि आमासँगै नागरिकता पाएका छन्।
What you should know
डोल्पा — उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-६ सिमेनकी छुल्डिम साङ्मो गुरुङले ६६ वर्षको उमेरमा दुई छोरासँगै नागरिकता पाएकी छन्। उनी ६६ वर्षको उमेरसम्म अनागरिक थिइन्। बिहीबार प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले बिदाको दिनमा पनि उनीसँगै उनका दुई छोरालाई नागरिकता प्रदान गरे।
नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले प्रक्रिया पूरा गर्न नसक्दा ६६ वर्षसम्म नेपाली नागरिक भएर पनि अनागरिक हुनु अत्यन्तै दुःखद कुरा भएको बताए। उनी भन्छन्, ‘यो कुरामा राज्य र सरकारको प्रतिनिधिको हैसियतले म माफी माग्छु। उहाँहरू तीन जनालाई नागरिकता दिँदा म अत्यन्तै खुसी भएको छु। त्यही भएर बिदाको दिनमा पनि दिनभर कार्यालयमा बसेर नागरिकता दिलाएँ।’
‘उपल्लो डोल्पामा नागरिकता नलिएका धेरै नागरिक भएको सुन्छु। म डोल्पा बसुन्जेल सबै नेपाली नागरिकलाई नियम अनुसार नागरिकता दिलाउने प्रयास गर्नेछु,’ उनले थपे। छुल्डिम सानै हुँदा बुबा–आमाको निधन भएपछि उनले आजसम्म पनि नागरिकता पाएकी थिइनन्।
उनकी दिदीले पाएको नागरिकता र गाउँपालिकाका अध्यक्ष कार्मा छोइबेल गुरुङ, उपाध्यक्ष पेम्मा धार्के गुरुङ र वडाध्यक्ष नुर्बु गुरुङलगायत स्थानीयको सनाखतमा नागरिकता दिइएको प्रजिअ कोइरालाले बताए। आमाको नागरिकता नहुँदा उनका जेठा छोरा दावाछिरिङ गुरुङले ३६ वर्षको उमेरमा, कान्छा छोरा छिरिङ गुरुङले २३ वर्षको उमेरमा आमासँगै आज मात्र नागरिकता पाएका हुन्।
छुल्डिमका पतिको मृत्यु भइसकेको छ। नागरिकता नपाउँदा उनी राज्यले प्रदान गर्ने वृद्ध भत्ता र एकल महिला भत्ताबाट ६ वर्षसम्म वञ्चित हुनुपरेको थियो। त्यति मात्र होइन, आमाले नागरिकता नपाउँदा आफूले नागरिकता नपाएको र आफूले नागरिकता नपाउँदा आफ्ना तीन सन्तान र भाइको एक सन्तानसमेतले नागरिकता नपाउने अवस्था रहेकोमा सिडिओ कोइरालाले नागरिकता दिलाएको भन्दै जेठा छोरा दावाछिरिङले खुसी व्यक्त गरे।
पूरै वंश नै अनागरिक बन्नुपर्ने अवस्था आएपछि गाउँपालिकाका जनप्रतिनिधि र प्रजिअको प्रयासले आफूले नागरिकता पाएको उनले बताए। ‘आफ्नो नागरिकता नहुँदा मेरी छोरीको जन्मदर्ता समेत बनेन। जसको कारण विद्यालय भर्ना गर्न पनि समस्या भयो। छोरीले सरकारले उपलब्ध गराउने दिवा खाजा समेत पाउन छोडिन्। त्यति मात्र होइन, गाउँघरमा बन्ने उपभोक्ता समितिमा समेत बस्न पाइएन,’ छुल्डिमका कान्छा छोरा दावाछिरिङले दुखेसो पोखे।
उनले खच्चडमा सामान ओसारपसार गर्ने काम गर्छन्। उपल्लो डोल्पालीलाई नागरिकता लिन सदरमुकाम आएर फर्किन दुई सातासम्म लाग्छ भने यसका लागि ५० हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ। जसका कारण धेरै सर्वसाधारणले नागरिकता लगायत सरकारी सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था रहेको वडाध्यक्ष नुर्बु गुरुङले बताए।
