जुम्लामा समाधान हुँदै छ रगत अभावको समस्या

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ब्लड बैंकका लागि आवश्यक सम्पूर्ण उपकरण जडान भइसकेको छ ।

मंसिर १९, २०८२

डीबी बुढा

Blood shortage problem being resolved in Jumla

What you should know

काठमाडौँ — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बिरामीले रगत नपाउँदा सास्ती भोग्नुपर्ने समस्या हट्ने भएको छ ।

पहिले रगत अभावका कारण बिरामी छटपटाउनुपर्ने अवस्था थियो । बिरामीलाई दिने रगत खोज्नकै लागि समस्या भोगिरहेका कुरुवाहरू केही दिनभित्रै ब्लड बैंक सुरु हुने भएपछि खुसी भएका छन् । उनीहरू बिरामीले सहजै रूपमा खोजेअनुसारको रगत पाउने भन्दै उत्साहित बनेका छन् ।

स्थानीय बिर्सबहादुर थापाले रगत खोज्दा खोज्दै बिरामीलाई जटिल समस्या आउन सक्ने खतरा देखिएको अनुभव सुनाए । उनले भने, ‘पहिले रगत समूह थाहा हुनुपर्‍यो । चिकित्सकको सल्लाहअनुसार रगत खोज्नुपर्‍यो । सेना–प्रहरीकहाँ धाउनुपर्‍यो । कोही पनि नहुनेका लागि त रगत धेरै ठूलो समस्या हुने गरेको छ । अब ब्लड बैंक सुरु भएपनि यो समस्या हट्ला भन्ने विश्वास जागेको छ ।’

ब्लड बैंकका लागि चाहिने मेसिन अस्पतालमा पुगेर जडान भइसकेको छ । मेसिन चलाउन आवश्यक पर्ने सामग्रीहरू समेत प्रतिष्ठानले खरिद गरिसकेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले रगत दिने, ब्लड सिल गर्ने देखी चाहिने सबै सामान पुगेको बताए । उनले भने, ‘अब रगत खोज्न बिरामीलाई समस्या हुनेछैन, तर रक्तदान गर्ने व्यक्तिहरू चाहिन्छ ।’

ब्लड बैंक स्थापना गर्न चाहिने मेसिन अमेरिका नेपाल मेडिकल फाउण्डेशनले उपलब्ध गराएको हो । उपकुलपति डा. रोकायाले भने, ‘अब जतिसक्दो धेरै रगत चाहियो । बिरामीलाई पातलो, बाक्लो, सेतो रगत कस्तो चाहिएको हो, त्यो सबै मेसिनले बनाइदिनेछ । रगतलाई कुन स्वरूपमा लैजाने भन्ने काम अस्पतालले गर्नेछ ।’

अहिले रगत दिन धेरैले चाहँदैनन् । प्रतिष्ठानका विद्यार्थी, अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरूदेखि नेपाली सेनाले मात्रै दिने गरेको छ । ब्लड बैंकमा एक महिनासम्म रगत राख्न सकिने भएकोले पनि नियमित रक्तदान गर्नुपर्ने हुन्छ । अहिले पनि प्रतिष्ठानसँग दुई सयभन्दा धेरै पोका रगत अटाउने फ्रिज छ ।

बिरामीलाई अहिले त्यति धेरै रगत दिनुपरेको छैन तर अधिकांश बिरामीलाई रगत दिन व्यक्तिहरू तयारी अवस्थामा राख्ने गरिएको छ । उपकुलपति डा. रोकायाले भने, ‘अब सभा–समारोह र दिवसहरूमा बिरामीलाई फलफूल बाँड्नुभन्दा रक्तदान गर्नुपर्छ भन्ने सचेतना फैलाउनुपर्ने देखिन्छ ।’

प्रतिष्ठानले अहिले रक्तदानमा सहयोग गरेको भन्दै नेपाली सेनाको स्थापना कालदेखि हालसम्मका गण, बाहिनीहरूलाई मायाको चिनो समेत पठाउने गरेको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully