जुम्लाको विकट गाउँमा विशेषज्ञ चिकित्सक टोली

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले १५२ जनाको स्त्रीरोग र पाठेघरसम्बन्धित उपचार गरेको थियो भने ६० जना किशोरीले प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धीको परामर्श लिए ।

मंसिर १८, २०८२

डीबी बुढा

Expert medical team in remote village of Jumla

What you should know

जुम्ला — जुम्ला सिंजा गाउँपालिका-६ की जडेनी रावतको तल्लोपेट दुख्ने, छाती दुख्ने समस्या धेरै पहिलेदेखि थियो । तर आर्थिक अभावका कारण खलंगासम्म पुगेर उपचार गराउन निकै कठिन थियो ।

न खलंगा पुग्ने आर्थिक जोहो भइसकेको थियो न त अस्पतालमा गएर उपचार गराउने अवस्था नै थियो । रोग पालेर गाउँमै बस्नुबाहेकको विकल्प थिएन । तर मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ टोली गाउँमै पुगेर उपचार गर्न थालेपछि उनी उत्साहित भइन् । उनले खुलेरै स्वास्थ्य समस्या राखिन् । चिकित्सकले रोगअनुसारको औषधि र परामर्श दिए । उनले भनिन्, ‘गाउँमा बिरामी पर्दा अस्पताल सम्म जान सक्दैनौं । अहिले डक्टर आएपनि सहज भयो ।’

सिंजा-६ कै गोरी बुढाको लामो समयदेखि टाउको दुख्ने समस्याले सताइरहेको थियो । घरायसी औषधि गर्नसम्म गरिन् । तर निको नभएपछि उनी झन‌् बिरामी हुँदै गइन् । योनिबाट सेतोपानी बग्ने, पेट पोल्ने समस्या पनि थियो । तर गाउँमा पुगेको स्त्रीरोग विशेषज्ञको टोलीले उनको उपचार गरिदियो । 

सामान्य स्वास्थ्यकर्मी भेटाउनसमेत मुस्किल पर्ने गाउँमा विशेषज्ञ चिकित्सक नै आएर उपचार गरिदिँदा उनी मक्ख छिन् ।

डाक्टरको टोली गाउँमा आइपुगेको जानकारी पाएपछि उब्जी बुढा हतारहतारमा भेट्न आइपुगिन् । उनी लामो समयदेखि पाठेघरको समस्या भोगिरहेकी छिन् । 'बजार टाढा छ । मालपाखर हेर्ने मान्छे नहुँदा अस्पताल जान सकिएको छैन,' उनले भनिन्, ‘सबै रोग हेर्ने डाक्टरसाप गाउँमै आएपछि सजिलो भयो ।' 

खलंगादेखि आएको विशेषज्ञ चिकित्सक सहितको टोलीले २७२ जना बिरामीको उपचार गरेर फर्कियो । अधिकांश बिरामी स्त्रीरोग सम्बन्धीका थिए ।

सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायाले १५२ जनाले स्त्रीरोग र पाठेघर सम्बन्धितले उपचार गराएको बताए । ६० जना किशोरीले प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र परिवार नियोजनसम्बन्धीको परामर्श लिए । रक्तचाप, सुगर जाँच, श्वासप्रश्वास, पेट छाला रोगका ५५ जना बिरामीले उपचार सेवा लिए । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त निर्देशक डा. कमलप्रसाद थानीले भौगोलिक विकटता र सहज बाटो नहुँदा स्थानीयले समयमै उपचार गर्न नपाउँदा अवस्था जटिल बन्ने गरेको बताए ।

सिंजा-६ जोडु र भाडगाउँलाई लक्षित गर्दै प्रतिष्ठानका उपकुलपति डा. पुजनकुमार रोकाया नेतृत्वमा टोली गाउँमा पुगेको थियो ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully