भूकम्पले क्षति पुगेको दुई वर्षपछि सल्यानमा पुनर्निर्माणका लागि बल्ल विवरण संकलन

सरकारले अस्थायी आवास निर्माणका लागि तत्काल राहतस्वरूप ५० हजार दिने घोषणा गरे पनि सल्यानका २ हजारभन्दा बढी पीडितले पहिलो किस्ता २५ हजारसमेत पाउन सकेका छैनन्।

मंसिर १५, २०८२

विप्लव महर्जन

Two years after the earthquake, details are finally being collected for reconstruction in Salyan

What you should know

सल्यान — २०७९ कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएको दुई वर्षभन्दा बढी भयो । भूकम्पले जाजरकोट, रुकुम र सल्यानमा धेरै ठूलो क्षति गरेको थियो ।

भूकम्प गएको दुई वर्षपछि बल्ल सल्यानमा निजी आवासको विस्तृत क्षति आकलन तथा घर क्षतिको विवरण संकलन सुरु गरिएको छ।

सरकारले २०७९ कात्तिक १७ गते भएको भूकम्पका कारण जाजरकोट र रुकुमलाई मात्र प्राथमिकतामा पारेको र सल्यानलाई कुनै चासो नदिएको कारण विस्तृत क्षति आकलन तथा विवरण संकलन हुन सकेको थिएन । पालिका तथा जिल्ला प्रशासन कार्यालय सल्यानको पहलमा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पालिकाका प्राविधिकलाई केही दिनअघि दुई दिने तालिम दिएपछि बल्ल विस्तृत क्षति आकलन सुरु भएको हो।

भूकम्पबाट सल्यानको दार्मामा ४ हजार ८१, कुमाखमा १ सय २९, त्रिवेणी गाउँपालिकामा र बागचौर नगरपालिकामा १ सय ५२ गरी ४ हजार ३ सय ७४ भौतिक संरचना क्षति पुगेका थिए। २०७९ कात्तिक १७ गते आएको भूकम्पले घर क्षति पुगेलगत्तै सरकारले अस्थायी आवास निर्माणका लागि तत्काल राहतस्वरूप ५० हजार दिने घोषणा गरे पनि सल्यानका २ हजारभन्दा बढी भूकम्पपीडितले अहिलेसम्म पहिलो किस्ता २५ हजारसमेत राहत पाउन सकेका छैनन्। राहत पाउन नसकेपछि चिन्तित भएका प्रभावित अहिले पूर्णनिर्माणका लागि विस्तृत क्षति आकलन संकलनमा टोली जुटेपछि खुसी भएका छन्।

सरकारले जाजरकोट र रुकुमलाई मात्र प्राथमिकता दिएर सल्यानमा अहिलेसम्म विस्तृत क्षति आकलन हुन नसकेको र विभिन्न निकायमार्फत पहल गरेपछि बल्ल भूकम्पपीडितको आवास पुननिर्माणका लागि विस्तृत क्षति आकलन तथा विवरण संकलन थालिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताए। स्थानीय सरकारको लाभग्राही कायम गरेर विपद्‌मा दर्ता भएका अनुमानित ४ हजार ३ सय ७४ लाभग्राहीको क्षति विवरण संकलन गरिने उनले जानकारी गराए।

‘विस्तृत क्षति आकलन तथा विवरण संकलनअन्तर्गत क्षतिको विवरण आवासको अवस्था, नयाँ निर्माण, मर्मत लगायत अन्य गरी पाँच भागमा वर्गीकरण गरिएको छ। स्थलगत अनुगमन र क्षति विवरण संकलनमा जुटेका प्राविधिक टोलीले भूकम्पले भएको घरको क्षति अनुसार वर्गीकरण गर्छन् र त्यही वर्गीकरण अनुसार प्रभावितले घर पूर्णनिर्माणका लागि रकम पाउँछन्,’ उनले भने, ‘एक महिनाभित्र विस्तृत क्षति आकलन सम्पन्न हुन्छ।’

भूकम्पबाट सबैभन्दा बढी प्रभावित दार्मा गाउँपालिकाका इन्जिनियर पुष्कर कार्कीले वडा नं. २ लिरापाजाका टेकबहादुर केसी, सीता केसीलगायत अन्यको घरबाट केन्द्रको टोलीसहित विस्तृत क्षति आकलन सुरु गरिएको बताए। उनले एक महिनाभित्रै पालिकाका सबै वडामा विस्तृत क्षतिको विवरण संकलन गरिसक्ने जानकारी गराए। ‘प्राविधिक टोलीले सबै प्रभावितका घरघरमा गएर मोबाइलबाटै विवरण संकलन गरिरहेका छन्,’ उनले भने।

दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सरकारले विस्तृत क्षति आकलन तथा विवरण संकलन सुरु गरेपछि भूकम्पबाट क्षति भएका सर्वसाधारणको घर पूर्णनिर्माण हुने आशा पलाएको बताए। सरकारले प्राथमिकतामा नपार्दा र बेलैमा उचित व्यवस्थापन नगर्दा प्रभावितहरू अहिले पनि मर्मत गरेको घर र टहरामा बस्न बाध्य भएको जानकारी गराए। भूकम्पपीडितका घर पुननिर्माणका लागि विस्तृत क्षति आकलन संकलन भएपछि पालिकाले गर्न सक्ने सबै किसिमको सहयोग गर्ने उनको भनाइ छ।

बागचौर नगरपालिकाले पनि भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आकलन तथा विवरण संकलनका लागि प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा खटाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले बताए। बागचौरका प्रभावितले भूकम्पले क्षति भएका घर मर्मत गरेर बसेका भए पनि प्राविधिक टोलीले संकलन गरेको विवरण अनुसार प्रभावितले सरकारले उपलब्ध गराउने राहत रकम पाउने जानकारी उनले दिए।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully