गाडी धनीले रातोबाट कालो प्लेटमा नबल्दासम्म नियन्त्रणमा लिएको गाडी फिर्ता नपाउने प्रहरीले जनाएको छ ।
सल्यान — सल्यानका विभिन्न स्थानबाट रातो प्लेट भएका २९ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सल्लीबजार, श्रीनगर, लुहाम, अस्थायी प्रहरी पोष्ट बालुवासंग्रही, बाबियाचौरबाट खटिएको प्रहरीले सवारी नियन्त्रणमा लिएको हो ।
रातो प्लेट भएका गाडीले यात्रु बोक्न नपाइने भए पनि कानुनविपरीत धमाधम यात्रु ओसारपसार गरेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर केसीले बताए। अनुसन्धानका लागि १३ इलेक्ट्रिक भ्यान, ८ डबल क्याब र ८ जिप नियन्त्रणमा लिइएको छ । सबै गाडी विभिन्न प्रहरी पोस्टमा राखिएको उनले जानकारी गराए ।
'गाडी धनीले रातोबाट कालो प्लेटमा नबल्दासम्म नियन्त्रणमा लिएको गाडी फिर्ता पाउँदैनन्,' उनले भने, 'रातो प्लेट भएका गाडी दुर्घटनामा परे यात्रुले उपचार खर्चलगायत अन्य क्षतिपूर्ति नपाउने भएकाले पछि समस्या उत्पन्न हुन नदिन नियन्त्रणमा लिएका हौं ।'
केहीले बिहीबार नै कालो प्लेटका लागि यातायात कार्यालयमा प्रक्रिया अगाडि बढाएका छन् ।
