नागरिकता लिन उपल्लो डोल्पालीलाई कठिन, महँगो यात्रा र भाषाको समस्या

सदरमुकाम झर्न सात दिनको पैदल यात्रा, जोखिम, ऋण र भाषागत अवरोधले उपल्लो डोल्पालीलाई नागरिकता पाउन निकै कठिन छ ।

मंसिर ९, २०८२

रामचन्द्र न्यौपाने

Upallo Dolpali faces difficulty in obtaining citizenship, expensive travel and language problems

What you should know

डोल्पा — उपल्लो डोल्पासम्म सडक सुविधा छैन । सदरमुकाम पुग्न हिँडेर एक सातासम्म लाग्छ । जसका लागि राम्रै आर्थिक जोहो गर्नुपर्ने त्यहाँका स्थानीयको बाध्यता छ ।

डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्का ताङसोङ गाउँपालिकाका स्थानीयलाई नागरिकता लिनै विभिन्न समस्या झेल्नुपरेको छ ।

‘पैदल हिँडेर सदरमुकाम झर्दै गर्दा मृत्यु जितेर पुग्नुपर्छ । यसबीच अग्लाअग्ला हिमाल काट्नुपर्छ । त्यति मात्र होइन पाइला मात्र अड्याएर हिँड्नुपर्ने आँखा घुमाउने भीरमा खनिएका डोरेटा पार गर्नुपर्छ,’ डोल्पोबुद्ध-३ ताक्सीका युवा पेम्मा छेवाङ गुरुङले भने, ‘कतिपयलाई लेक लाग्छ । भीरबाट लडेर पनि ज्यान गुमाउँछन् । बर्खामा त खोलानाला तर्दा बगेर ज्यान जाने उत्तिकै सम्भावना हुन्छ । हिँउदमा चिसो र हिँउ पहिरोको जोखिम हुन्छ ।’

उपल्लो डोल्पाबाट दुनै पुगेर नागरिकता लिएर फर्किन ३०-४० हजार खर्च गुरुङले बताए । दैनिक खाना खाजा र सदरमुकाम बस्नुपर्दा खर्च हुन्छ । यसरी लाग्ने खर्च गरिब विपन्नले ऋण काडेर ल्याउने गरेको उनको भनाइ छ ।

उपल्लो डोल्पालीका लागि सबैभन्दा आर्थिकसँगै अर्को समस्या हो भाषाको । जिल्ला प्रशासन कार्यालयमा कर्मचारीले नेपाली भाषामा सोधपुछ गर्दा उपल्लो डोल्पाका स्थानीय मातृभाषामा कुरा गर्छन् । यो अलमलले पनि समस्या हुने गरेको डोल्पोबुद्ध-३ का तेन्जेन थुक्नेत गुरुङले बताए । नागरिकता लिनका सदरमुकाम आउनजान आठ दिन लागेको उनको भनाइ छ । उनले गत बिहीबार मात्र नागरिकता लिएका हुन् ।

‘यही देशमा जन्मेर पनि नेपाली नागरिक बन्न उपल्लो डोल्पावासीलाई धेरै महँगो छ । म र बुवा मेरो नागरिकता बनाएर घर फर्किसक्यौं । आउनेजाने, बस्नेखाने खर्च मात्रै करिब ३० हजार भएछ,' उनले भने । यस्ता झन्झन्टले गर्दा कतिपय उपल्लो डोल्पालीले नागरिकता समेत नलिएको उनको भनाइ छ ।

सरकारले इलाका प्रशासन कार्यालय स्थापना गरेर उपल्लो डोल्पामै नागरिकता लिने व्यवस्था गरिदिएको भए धेरै राहत हुने उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाैडेलका अनुसार उपल्लो डाेल्पाबाट नागरिकता लिन आउने सर्वसाधारणको संख्या पछिल्लो दिन बढेको छ । उपल्लो डाेल्पाबाट आउने सेवाग्राहीले नागरिकता लिन दुन‌ै आउनजान मात्र‌ै बीसौं हजार खर्च भएको गुनासो गर्ने गरेकाे उनले बताए । 

'उपल्लो डाेल्पाकाे धाेमा इलाका प्रशासन राख्ने कुरामा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिसकेको छ,' पौडेलले भने, 'आगामी वर्षदेखि उपल्लो डाेल्पालीलाई नागरिकता लिन सदरमुकाम झर्नुपर्ने अवस्थाकाे अन्त्य हुनेछ ।'

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully