उपल्लो डोल्पाको दु:ख : ढिलो हुन्छ बिरामीको उद्धार, विकासमा पनि हेलिकोप्टरकै भर

उपल्लो डोल्पावासीलाई काठमाडौंबाट हेलिकोप्टर मगाउन १० लाखसम्म खर्च लाग्ने गरेको छ । सिकिस्त परेर हेलिकोप्टरबाट अस्पताल जानुपरे जायजेथाले नपुग्ने स्थानीय बताउँछन् ।

मंसिर ७, २०८२

रामचन्द्र न्यौपाने

The sorrow of Upper Dolpa: Rescue of patients is delayed, development also depends on helicopters

What you should know

डोल्पा — उपल्लो डोल्पामा आकस्मिक उद्धार र उपचारका लागि निर्विकल्प साधन हो- हेलिकोप्टर चार्टर । राष्ट्रिय सडक सञ्जाल नजोडिँदा जटिल प्रकृतिका बिरामीको उद्धारका लागि यहाँका बासिन्दाले हेलिकोप्टर चार्टरमा लाखौं खर्च गर्नुपरेको छ ।

त्यति मात्रै होइन खाद्यान्न ढुवानीदेखि विकास निर्माणका सामग्री ढुवानीसम्म पनि हेलिकोप्टरकै भर पर्नुपरेको छ ।

चालु आर्थिक वर्षमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने साल्दाङ, भिजेर, कोमास लगायतका स्थानमा सोलार मिनिग्रेड निर्माण गर्न लागेको छ । यस आयोजना निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पनि हेलिकोप्टर नै प्रयोग गरिएको छ ।

यही आर्थिक वर्षभित्र पालिकाका प्रायः बस्ती झिलिमिली पार्ने योजनासहित केन्द्रले काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष पेमा वाङ्छेन गुरुङले बताए । सोलार प्यानल लगायतका सामग्रीहरु अहिले हेलिकोप्टरबाटै ढुवानी भइरहेको छ । उपाध्यक्ष गुरुङका अनुसार विभिन्न स्थानमा करिब तीन सय किलोवाट बराबरको सोलार मिनिग्रेड निर्माण गर्न लागिएको हो ।

आयोजना निर्माणका लागि केन्द्रको ४० करोड लगानी छ । त्यसमा ४ करोड लगानी स्थानीय पालिकाले गरेको छ । ‘ आयोजना सञ्चालनपश्चात् पालिकाभित्रका नौ वटा वडामध्ये धेरैजसो वडा सौर्य बत्तीले झिलिमिली हुनेछन्,'  गुरुङले भने, 'त्यति मात्र नभई चिसोयाममा सर्वसाधारणले विभिन्न विद्युतीय उपकरण प्रयोग गरेर खाना पकाउन र घरभित्रको वातावरणलाई न्यानो बनाउन पाउनेछन् ।’

The sorrow of Upper Dolpa: Rescue of patients is delayed, development also depends on helicopters

सडक निर्माणमा राज्यको बेवास्ताले उपल्लो डोल्पावासीलाई राष्ट्रिय प्रसारण लाइन पुग्ला भन्ने आस नरहेको उनको भनाइ छ । त्यही भएर पालिकाका विभिन्न वडामा सोलारबाटै विद्युतीकरण गर्न जनप्रतिनिधिहरुले पहल गरिरहेका छन् ।

‘उपल्लो डोल्पासम्म पुग्ने सडक छैन । यदि सडक पुगेको भए राज्यको करौडौं रकम जोगिन्थ्यो । सडक निर्माणमा बेवास्ता गर्दा विकासमा पनि हेलिकोप्टरकै भर पर्नुपरेको छ,’ उपाध्यक्ष गुरुङ भन्छन् ।

आयोजनाकालागि हालसम्म ९५ प्रतिशत सामान निर्माणस्थलमा पुर्‍याइसकिएको छ । आधा सामग्री भने मुस्ताङ हुँदै निर्माणस्थलमा पुर्‍याइएको गाउँपालिकाले जनाएको छ ।

बिरामीलाई हेलिकोप्टर पाउनै सकस

राष्ट्रिय सडक सञ्जालमा जिल्ला जोडिएको सात वर्षभन्दा बढी भइसके पनि उपल्लो डोल्पामा सडक पुगेको छैन । सदरमुकाम झर्न चार/पाँच दिन हिँड्नुपर्छ । गर्भवती, सुत्केरी र जटिल प्रकारका अन्य बिरामीको तत्काल उद्धार गर्नुपरे धेरै समस्या हुने गरेको उपल्लो डोल्पाका बासिन्दाको गुनासो छ ।

The sorrow of Upper Dolpa: Rescue of patients is delayed, development also depends on helicopters

उपल्लो डोल्पा क्षेत्रमा डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्का ताङसोङ गाउँपालिका पर्छन् । त्यस क्षेत्रमा स्वास्थ्य चौकी र क्लिनिक छन्, अस्पताल छैन । भौगोलिक रूपमा अत्यन्तै विकट उपल्लो डोल्पामा सिकिस्त बिरामीको उद्धार गर्नुपरे हेलिकोप्टरको विकल्प छैन । 

‘एक त लाखौं तिरेर हेलिकोप्टर मगाउनुपर्ने त्यसमा पनि गृह मन्त्रालयको अनुमति पर्खनुपर्दा समय धेरै लाग्छ,’ डोल्पोबुद्ध गाउँपालिकाका क्याल्पो थापा भोटेले भने, 'यस्तो ठाउँमा बिरामीको उद्धार गर्दा स्थानीय सरकार वा स्थानीय प्रशासनको मात्र अनुमति चाहिने व्यवस्था भए छिटो हुन्थ्यो ।’

यस्तै समस्या भोग्नुपर्‍यो डोल्पोबुद्ध गाउँपालिका–३ की ५९ वर्षीया दाबापुटी गुरुङले । उनी मुटुमा समस्या देखिएर सिकिस्त भएपछि तत्काल जिल्लाबाहिरका अस्पतालमा लैजान स्थानीय स्वास्थ्यकर्मीले सल्लाह दिए । शे–फोक्सुण्डो गाउँपालिका–८ कलाङकी ४९ वर्षीय पाम्बा ग्यालजुङ लामालाई पनि हिउँले खाएका दुवै खुट्टाको तत्काल उपचारका लागि अस्पताल पुर्‍याउनुपर्ने भयो । 

आफन्तले हेलिकोप्टरबाट उद्धारका लागि पहल गरिदिन भन्दै डोल्पोबुद्ध गाउँपालिकालाई अनुरोध गरे । गाउँपालिकाले दुई जनाको उद्धारमा सहयोगको आग्रह गर्दै २ मंसिरमा सिम्रिक एयरलाई पत्र लेख्यो । यतिबेला सिम्रिक एयरको हेलिकोप्टरले केही दिनदेखि शे–फोक्सुण्डो गाउँपालिकामा वैकल्पिक ऊर्जाबाट बन्न लागेको सोलार मिनिग्रेडको सामान ओसारिरहेको छ ।

ढिलो गरी सिम्रिकले अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय डोल्पामा पत्र लेख्यो । प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाका अनुसार सिम्रिकको पत्र प्राप्त भएलगत्तै गृह मन्त्रालयमा अनुमतिका लागि पत्राचार गरियो । केही समयमै उडानको अनुमति आयो । यो प्रक्रिया पूरा गर्दा ४ बजिसकेको थियो । साँझ ५ बजेपछि हेलिकोप्टर उडान गर्न नपाइने नागरिक उड्डयन प्राधिकरणको नियम छ । त्यसैले त्यो दिन बिरामीलाई हेलिकोप्टरमा जुफाल विमानस्थलसम्म मात्र पुर्‍याइयो ।

जुफाल पुग्दा पनि हेलिकोप्टरका लागि २ लाख ५२ हजार रुपैयाँ भाडा तिर्नुपरेको थियो । ‘सिकिस्त भएकाले दुई दिनअघि नै टिकटका लागि समिट एयरलाई भनेका थियौं, तर टिकट नभएको भन्दै बिरामी लैजान मानेनन्,’ भोटेले भने, ‘एक त जटिल प्रकृतिका बिरामी छन्, त्यसमा पनि दुई दिनअघि टिकट भन्दा पनि पाइएन ।’

The sorrow of Upper Dolpa: Rescue of patients is delayed, development also depends on helicopters

त्यो दिन टिकट नपाएपछि भोलिपल्ट नियमितभन्दा बढी भाडा तिरेर सीता एयरको विमानबाट ती बिरामीलाई नेपालगन्ज उडाइयो । ‘डोल्पा–नेपालगन्ज भाडा करिब ७ हजार मात्र छ तर त्यो दिन ३ हजार बढी लिए,’ भोटेले भने ।

उपल्लो डोल्पावासीलाई काठमाडौंबाट हेलिकोप्टर मगाउन करिब १० लाखसम्म खर्च लाग्ने गरेको छ । सिकिस्त परेर हेलिकोप्टरबाट अस्पताल जानुपरे जायजेथाले पनि नपुग्ने स्थानीय बताउँछन् । ‘बिरामी बोकेर सदरमुकाम झर्न बाटोमै साता दिनसम्म लाग्छ । सिकिस्त बिरामीको बाटोमै ज्यान जाने खतरा हुन्छ,’ डोल्पोबुद्धका पेम्मा छेवाङ गुरुङले भने,‘ऋणधन गरेर पनि हेलिकोप्टर बोलाउनुको विकल्प हुँदैन ।’

सरकारले गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ । स्थानीयले गर्भवती, सुत्केरीबाहेकका बिरामीको आपत्‌कालीन उद्धारका लागि पनि निःशुल्क हेलिकोप्टरको व्यवस्था गरिदिन सरकारसित आग्रह गरेका छन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully