हवाई टिकटमा भागबन्डा

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले यात्रुको बढ्दो चापलाई ध्यान दिइ हवाई टिकट वितरणलाई व्यवस्थित गरिएको बताए ।

मंसिर ७, २०८२

कृष्णप्रसाद गौतम

Air ticket sharing

What you should know

सुर्खेत — हुम्ला सदरमुकाम सिमकोटबाट नेपालगन्जसम्मको हवाई टिकटमा भागबन्डा गरिएको छ । दुईवटा टिकट बिरामीलाई, तीनवटा टिकट सरकारी कर्मचारीलाई, तीन सिट अनलाइनमार्फत तथा १/१ वटा टिकट सिमकोट गाउँपालिका–६ र ७ का बासिन्दालाई भागबन्डा गरिएको हो ।

अहिले नेपालगन्जबाट सिमकोट विमानस्थलमा समिट एयरलाइन्सले ५, सीताले २, नेपाल एयरलाइन्सले २ र तारा एयरलाइन्सले हप्तामा १ उडान भर्दै आइरहेका छन् । सिमकोटसम्म साना ट्विनटर जहाज चल्दै आएका छन् । जसमा चालक दलसहित १८ यात्रु चढ्ने गरेको विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए । उनका अनुसार यात्रुहरूले टिकट पाउन समस्या भएपछि जिल्ला प्रशासन कार्यालयमा एक साताअघि बसेको सर्वदलीय बैठकले टिकटमा भागबन्डा गरेको हो ।

दुई साताअघि यात्रुको चाप धेरै भएपछि टिकटका लागि गोलाप्रथा गरेर जहाजमा यात्रु चढाइएको थियो भने हवाई टिकट वितरणमा जथाभावी भएको भन्दै जेनजी युवाले तीन निजी एयरलाइन्सका कार्यालयमा तालाबन्दी गरेका थिए । 

मानसरोवर-कैलाश तीर्थयात्राको समयमा सिमकोट विमानस्थलमा दैनिक ५ देखि १ वटासम्म हवाई उडान भए । उक्त समयमा हुम्लामा उडान भर्ने गरी तारा, सीता र समिट एयरलाइन्सका २/२ वटा जहाज राखिएका थिए । तर सिजन सकिएको भन्दै ती जहाज पूर्वतिरका जिल्लामा गएपछि हुम्लामा जहाज यात्रा गर्न असहज भएको स्थानीय व्यवसायी विजय लामाले बताए । उनका अनुसार एक वर्षअघि सिमकोट सडक सञ्जालमा जोडिए पनि सडक कच्ची भएकाले र सिमकोटदेखि सुर्खेतसम्मको यात्रा गर्न १८ घण्टासम्म लाग्ने भएकाले हवाई यात्राको विकल्प छैन । ‘सडक कच्ची र दूरी लामो भएकाले यात्रुहरू गाडीबाट यात्रा गर्नै मान्दैनन्,’ उनले भने, ‘त्यसैले पनि जहाजका लागि भीड हुने गरेको हो ।’ सुर्खेतदेखि सिमकोटसम्मको दूरी २ सय ९४ किलोमिटर छ । 

सडक मार्ग भरपर्दो नभएपछि अधिकांश यात्रुले हवाई यात्रा रोज्ने गरेको स्थानीय अगुवा गोविन्द रोकायाले बताए । उनका अनुसार अत्यधिक हिमपात हुने नाम्खा गाउँपालिकाका अधिकांश बासिन्दा तराई झर्न सिमकोट आइपुगेका छन् । गाउँमा अत्यधिक हिउँ पर्ने भएकाले उनीहरू हिउँदमा बर्सेनि ५ महिना तराई झर्ने गर्छन् । ‘चिसो छल्न झर्नेहरू र जरुरी कामका लागि बाहिर जानेहरूका कारण विमानस्थल आसपासमा बाहिर जानेको भीड छ,’ उनले भने, ‘अहिले त पहुँच नभएकालाई टिकट पाउनै मुस्किल भइसक्यो ।’ 

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले यात्रुको बढ्दो चापलाई ध्यान दिइ हवाई टिकट वितरणलाई व्यवस्थित गरिएको बताए । ‘यो निर्णय सबै सेड्युल्ड उडानमा लागू हुनेछ, बाँकी सिट एयरलाइन्सले सहजता र प्राथमिकताका आधारमा वितरण गर्नेछन्,’ उनले भने, ‘अब सिमकोटबाट हुने हवाई यात्रा थप व्यवस्थित र प्रभावकारी हुनेछ ।’ 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully