उपल्लो डोल्पाका बिरामी अस्पताल पुर्‍याउनै सकस

कोही सिकिस्त बिरामी परे हेलिकोप्टरबाट उद्धार गर्नुको विकल्प छैन तर त्यसका लागि अनुमति लिने प्रक्रिया पनि ढिलो रहेको स्थानीय गुनासो गर्छन् ।

मंसिर ६, २०८२

रामचन्द्र न्यौपाने

Patients from Upper Dolpa are struggling to reach the hospital

What you should know

डोल्पा — डोल्पोबुद्ध गाउँपालिका–३ की ५९ वर्षीया दाबापुटी गुरुङ मुटुमा समस्या देखिएर सिकिस्त भइन् । तत्काल जिल्ला बाहिरका अस्पतालमा लैजान स्थानीय स्वास्थ्यकर्मीले सल्लाह दिए । शे–फोक्सुण्डो गाउँपालिका–८ कलाङकी ४९ वर्षीय पाम्बा ग्यालजुङ लामालाई पनि हिउँले खाएका दुवै खुट्टाको तत्काल उपचारका लागि अस्पताल पुर्‍याउनुपर्ने भयो ।

आफन्तले हेलिकोप्टरबाट उद्धारका लागि पहल गरिदिन भन्दै डोल्पोबुद्ध गाउँपालिकालाई अनुरोध गरे । गाउँपालिकाले दुई जनाको उद्धारमा सहयोगको आग्रह गर्दै २ मंसिरमा सिम्रिक एयरलाई पत्र लेख्यो । यतिबेला सिम्रिक एयरको हेलिकोप्टरले केही दिनदेखि शे–फोक्सुण्डो गाउँपालिकामा वैकल्पिक ऊर्जाबाट बन्न लागेको सोलार मिनिग्रेडको सामान ओसारिरहेको छ ।

ढिलो गरी सिम्रिक एयरले अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय डोल्पामा पत्र लेख्यो । प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाका अनुसार सिम्रिक एयरको पत्र प्राप्त भएलगत्तै गृह मन्त्रालयमा अनुमतिका लागि पत्राचार गरियो । केही समयमै उडानको अनुमति आयो । यो प्रक्रिया पूरा गर्दा ४ बजिसकेको थियो । साँझ ५ बजेपछि हेलिकोप्टर उडान गर्न नपाइने नागरिक उड्डयन प्राधिकरणको नियम छ । त्यसैले त्यो दिन बिरामीलाई हेलिकोप्टरमा जुफाल विमानस्थलसम्म मात्र पुर्‍याइयो ।

जुफाल पुग्दा पनि हेलिकोप्टरका लागि २ लाख ५२ हजार रुपैयाँ भाडा तिर्नुपरेको थियो । ‘सिकिस्त भएकाले दुई दिनअघि नै टिकटका लागि समिट एयरलाई भनेका थियौैं । तर टिकट नभएको भन्दै बिरामी लैजान मानेनन्,’ डोल्पोबुद्ध गाउँपालिकाका क्याल्पो थापा भोटेले भने, ‘एक त जटिल प्रकृतिका बिरामी छन्, त्यसमा पनि दुई दिनअघि टिकट भन्दा पनि पाइएन ।’

त्यो दिन टिकट नपाएपछि भोलिपल्ट नियमितभन्दा बढी भाडा तिरेर सीता एयरको जहाजबाट ती बिरामीलाई नेपालगन्ज उडाइयो । ‘डोल्पा–नेपालगन्ज भाडा करिब ७ हजार मात्र छ तर त्यो दिन ३ हजार बढी लिए,’ भोटेले भने।

राष्ट्रिय सडक सञ्जालमा जिल्ला जोडिएको सात वर्षभन्दा बढी भइसके पनि उपल्लो डोल्पामा सडक पुगेको छैन । उपल्लो डोल्पाका बासिन्दालाई सदरमुकाम झर्न चार/पाँच दिन हिँड्नुपर्छ । गर्भवती, सुत्केरी र जटिल प्रकारका अन्य बिरामीको तत्काल उद्धार गर्नुपरे धेरै समस्या हुने गरेको उपल्लो डोल्पाका बासिन्दाको गुनासो छ ।

उपल्लो डोल्पा क्षेत्रमा डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिका पर्छन् । त्यस क्षेत्रमा स्वास्थ्य चौकी र क्लिनिक छन्, अस्पताल छैन । भौगोलिक रूपमा अत्यन्तै विकट उपल्लो डोल्पामा सिकिस्त बिरामीको उद्धार गर्नुपरे हेलिकोप्टरको विकल्प छैन । ‘एक त लाखौं तिरेर हेलिकोप्टर मगाउनुपर्ने त्यसमा पनि गृह मन्त्रालयको अनुमति पर्खनुपर्दा समय धेरै लाग्छ,’ भोटेले भने, ‘यस्तो ठाउँमा बिरामीको उद्धार गर्दा स्थानीय सरकार वा स्थानीय प्रशासनको मात्र अनुमति चाहिने व्यवस्था भए छिटो हुन्थ्यो ।’

उपल्लो डोल्पावासीलाई काठमाडौंबाट हेलिकोप्टर मगाउन करिब १० लाखसम्म खर्च लाग्ने गरेको छ । सिकिस्त परेर हेलिकोप्टरबाट अस्पताल जानुपरे जायजेथाले पनि नपुग्ने स्थानीय बताउँछन् । ‘बिरामी बोकेर सदरमुकाम झर्न बाटोमै साता दिनसम्म लाग्छ । सिकिस्त बिरामीको बाटोमै ज्यान जाने खतरा हुन्छ,’ डोल्पोबुद्धका पेम्मा छेवाङ गुरुङले भने,‘ऋणधन गरेर पनि हेलिकोप्टर बोलाउनुको विकल्प हुँदैन ।’

सरकारले गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ । स्थानीयले गर्भवती, सुत्केरीबाहेकका बिरामीको आपत्कालीन उद्धारका लागि पनि निःशुल्क हेलिकोप्टरको व्यवस्था गरिदिन सरकारसित आग्रह गरेका छन् ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully