गतवर्ष प्राप्त संघीय अनुदान काेटामा गणित विषय शिक्षक नपाएपछि विद्यालयले १९ औं पटक विज्ञापन गरेको हो ।
What you should know
कालीकोट — नरहरिनाथ–७ माल्कोट उच्छवस्थित रुपादेवी माविले गणित विषय शिक्षक लागि १९ औं पटक विज्ञापन गरेको छ ।
अछामको रामारोसनसँग सिमाना जोडिएको दुर्गमको यो विद्यालयले संघीय अनुदान काेटामा गतवर्ष प्राप्त गणित विषयकाे दरबन्दीमा शिक्षक नपाएपछि १९ औं पटक विज्ञापन गरेको हो । ‘वैशाखयता १५/१५ दिनको फरकमा १८ औं पटक विज्ञापन गर्दा पनि दरखास्त परेन । गणितका शिक्षक पाउनै मुस्किल भयो,’ विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले भने ।
कात्तिक ३० गते विद्यालयले १९ औं पटक विज्ञापन खाेलेकाे हाे । लाइसेन्स भएको शिक्षक पाउन कठिनाइ भएको सुनाए । ९० प्रतिशत दलित समुदायको बसोबास रहेको उच्छवबाट नजिकको अर्को विद्यालय पुग्न २ घण्टा जंगलको बाटो हिँड्नु पर्छ । विद्यालय टाढा भएपछि स्थानीयले मानापाथी उठाएर २०३५ मा स्थापना गरेको रुपादेवी विद्यालयमा बाल विकासदेखि १० सम्म ३ सय ७५ जना विद्यार्थी छन् । ३ प्रावि स्थायी दरबन्दी भएको विद्यालयमा पालिका अनुदान, निजीस्रोत गरी १३ जना शिक्षक छन् ।
शुभकालिका गाउँपालिका–२ बालाचौरस्थित कालिका माविले अघिल्लो शैक्षिक सत्रका लागि मावि तह विज्ञान विषयको शिक्षकका लागि पाँच पटक विज्ञापन गर्दासम्म अध्यापन अनुमति पत्र (लाइसेन्स) भएको एक जनाले पनि दरखास्त दिएन । कसैको आवेदन नपरेपछि शैक्षिक सत्र ०८१/०८२ का लागि गाउँपालिकाबाट प्राप्त विज्ञान विषयको संघीय अनुदान फ्रिज भयो ।
विद्यालयले पटक/पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएपछि विना लाइसेन्सको विज्ञान शिक्षक भर्ना गरेको छ । गत जेठ १० गतेको व्यवस्थापन समिति बैठकबाट विज्ञानमा स्नातक गरेका स्थानीय अमरबहादुर शाहीलाई अभिभावकबाट उठाएर मासिक २५ हजार रुपैयाँ दिने गरी शिक्षक नियुक्ति गरेको प्रधानाध्यापक सरस्वती बस्नेतले बताइन् । ‘लाइसेन्स भएको शिक्षक नै पाइएन । विद्यालय चलाउनै पर्यो, लाइसेन्स नभएको शिक्षक भए पनि राख्नुपर्यो,’ उनले भनिन् । उनले सरकारले उपलब्ध गराएको संघीय अनुदान कोटामा लाइसेन्स भएको शिक्षक नपाउँदा बजेट फ्रिज गएको र विद्यालयले अभिभावकसँग हारगुहार गरेर शिक्षकको तलब जुटाउनु परेको गुनासो पोखिन् ।
विसं ०४६ मा स्थापना भएको विद्यालयमा ०७५ देखि १० कक्षाको पढाइ हुँदै आएको छ । यो विद्यालयमा अध्ययनरत ५ सय १ विद्यार्थीमध्ये २ सय ८३ जना दलित समुदायका बालबालिका छन् । प्राथमिक तहका ३ जनाको स्थायी दरबन्दीको विद्यालयमा पालिका, संघीय अनुदान र निजी स्रोतका गरी १३ जना शिक्षक छन् ।
शुभकालिका–२ का वडाध्यक्ष मनबहादुर शाहीले दुर्गमका विद्यालयमा गणित, विज्ञान जस्ता विषयको शिक्षक पाउन सकस भएको बताए । ‘लाइसेन्स भएका शिक्षकलाई सरकारले तोकेको भन्दा थप रकम दिएर पनि पाउन सकिएको छैन । सरकारको गुणस्तरीय शिक्षा नारा र प्रचार मात्रै हुने भयो,’ उनले भने ।
संघीय अनुदानको पालिकाले केही दरबन्दी दिएर पढाइ भइरहेको कालिका माविमा ५ सय ७८ विद्यार्थी अध्ययनरत भए पनि निमावि र मावि तहको स्थायी शिक्षकको दरबन्दी एउटै छैन ।
त्यस्तै, शून्य मावि दरबन्दी भएका दाहाल मावि सुकाटिया र जनता मावि छातीले पनि संघीय अनुदानको विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक नपाइएको शुभकालिका गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले बताए । स्थायी दरबन्दी नभएका १२ वटा माध्यामिक विद्यालयलाई अंग्रेजी, गणित र विज्ञान विषयका प्रतिविद्यालय ३ जना शिक्षकका लागि संघीय अनुदानको प्रतिब्यक्ति ४३ हजार ६ सय ८९ रुपैयाँ दिने सरकारी नीति भए पनि विद्यालयले शिक्षक नै नपाउँदा मर्कामा परेका छन् ।
उनकाअनुसार गणित र विज्ञान विषयका शिक्षक पाउन कठिन छ । गणित र विज्ञान विषयका शिक्षकले बीएससी पास गरे पनि सिधै लाइसेन्स परीक्षा दिन नपाइने हुँदा उनीहरुले एक वर्षे बीएड गर्नैपर्ने नियमले लाइसेन्स भएको शिक्षक पाउन कठिन भएको शाखा प्रमुख आचार्यले बताए । ‘विज्ञान पढेका धेरैजसो युवाको रोजाई विदेश वा लोकसेवा छ । दक्ष जनशक्ति थोरै भएकाले सबैतिर तानातान छ ।’
पलाता गाउँपालिकाले गतवर्ष अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक व्यवस्थापन गर्न संघीय अनुदानको बजेटबाट आफै विज्ञापन गर्यो । अंग्रेजी १०, गणित १० र विज्ञान १२ जना शिक्षकको विज्ञापन गरे पनि दरखास्त नपरेपछि सम्बन्धित विद्यालयलाई नै शिक्षक खोज्न लगाएको थियो । त्यसपछि यहाँको दुधेशिल्लो मावि बेर्सनकोटले ३ पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएको प्रधानाध्यापक मानवहादुर रोकायाले बताए । ‘विज्ञान शिक्षक खोज्न देशभरका नेटवर्कमा सम्पर्क गरे,’ नेपाल शिक्षक संघ कर्णाली प्रदेश अध्यक्षसमेत रहेका रोकायाले भने, ‘कतै नपाइए पनि छिमेकी विद्यालयको शिक्षक फकाएर नियुक्ति गर्यौं । कालिका मावि धौलागोह डोरीमा कार्यरत विज्ञान शिक्षक अमरबहादुर शाहीलाई १० हजार निजीस्रोतबाट थप्ने गरी नियुक्ति गरियो ।’
०१६ मा स्थापना भएको कालीकोटको जेठो विद्यालयले २०२८ मा जुम्लाबाट कक्षा ५, ०५६ मा ८ कक्षा, ०६७ मा १० र ०७५ मा कक्षा १२ सम्मको स्वीकृति पाए पनि हालसम्म मावि स्थायी दरबन्दी नै छैन । ‘मेरो काम त शिक्षक खोज्ने मात्र हुन्छ । जेनतेन जुटाएका शिक्षकलाई पनि टिकाउनै कठिन छ,’ उनले भने । ४७० जना विद्यार्थी रहेको दुधेशिल्लो माविमा प्रावि स्थायी ४, राहात १, निमावि राहात ३ र मावि राहात ३ सहित विद्यालय कर्मचारी समेत गरेर १६ जना छन् ।
शैक्षिक गुणस्तर सुधारका लागि विना लाइसेन्सका शिक्षक अवकाश गर्ने, वर्षौदेखि पहुँचको भरमा एउटै विद्यालयमा बसेका शिक्षकको सरुवा, विद्यालय मर्ज र तह घटाएर जिल्लामै चर्चामा आएको नरहरिनाथ गाउँपालिकामा पनि मुख्य ३ विषयका विषयगत शिक्षकको अभाव छ । स्थायी दरबन्दी नभएको र अनुदानको विज्ञापनमा लाइसेन्स भएका शिक्षक पाउनै मुस्किल हुने गरेको पालिकाका शिक्षा, युवा खेलकुद शाखाका स्रोतव्यक्ति धनकृष्ण पाण्डेले बताए ।
विषयगत शिक्षक नपाइनु कालीकोट जिल्लाका ९ वटै स्थानीय तहको साझा समस्या भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्षप्रसाद चौलागाई बताउँछन् । अंग्रेजी, गणित र विज्ञान विषय अध्ययन गरेका विद्यार्थीले शिक्षण पेशालाई कम महत्व दिने देखिएकाले विषयगत शिक्षक नपाइने समस्या रहेको उनले सुनाए ।
