धौलापानी लिफ्ट सिँचाइ निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टले लिफ्ट सिँचाइले किसानको मुहारमा खुसी ल्याएको बताए ।
What you should know
जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा धौलापानी लिफ्ट सिँचाइ निर्माण भएपछि बाँझो जमिनमा खेती गर्न सुरु भएको छ । सिँचाइ नहुँदा झण्डै साढे ७ हेक्टर जमिन बाँझो थियो । अहिले तिला नदीको पानी लिफ्ट गरेर खेतबारीमा पुगेपछि स्याउ बगैंचा निर्माण, मौसमी तथा बेमौसमी खेतीका साथै जौ, गहुँ र सिमी लगाउन सुरु भएको छ ।
धौलापानी लिफ्ट सिँचाइ परियोजनाको सोमबार नर्बेजियन राजदूत डाग्नी म्योस र तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा उद्घाटन गरे । तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईंले लिफ्ट सिँचाइ तातोपानीको समृद्धिसँग जोडिएको प्रतिक्रिया दिए ।
अहिले सिँचाइ हुँदा स्याउ बगैंचा व्यवस्थापनको काम सुरु भएको छ । किसानहरू ग्रीन हाउस बनाएर तरकारी खेती गर्न थालेका छन् । स्थानीय भक्तबहादुर विष्टले सिँचाइ पुगेपछि खोलादेखि गाग्रीमा पानी बोकेर सिँचाइ गर्नुपर्ने बाध्यता हटेको बताए । उनले भने, ‘पहिले जग्गा बाँझो थियो । स्याउ बगैंचा स्थापना गर्न चाहने किसानले खोलादेखि पानी बोकेर सिँचाइ गरिरहेका थिए । तर अहिले खेतबारीमै पानी पुगेको छ । किसानलाई निकै राहत मिलेको छ ।’
पहिले कम उत्पादन लिइरहेका किसानहरू अब बढी उत्पादन लिन पाइने आशमा छन् । पानीको स्रोत नहुँदा सुख्खा भइरहने जग्गा अब हरियाली हुनेछ ।
यो सिँचाइ आयोजनाले साढे ७ हेक्टर जमिनमा सिँचाइ पुग्ने अपेक्षा छ । अहिले तातोपानी–६ धौलापानीकी बाटुली सार्की अधिकांश समय खेतबारीमै व्यस्त हुन्छिन् । बगैंचामा सिँचाइ गर्ने र बमौसमी तरकारीका बेर्ना हुर्काउने काममा उनी लागेकी छन् । उनले फलाएको तरकारी नजिकैको लाम्रा गाउँदेखि सदरमुकाम खलंगासम्म लगेर बेच्ने उनले सुनाइन् ।
धौलापानी लिफ्ट सिँचाइ निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टले लिफ्ट सिँचाइले किसानको मुहारमा खुसी ल्याएको बताए । उनले भने, ‘किसान पानी नहुँदा खेती गर्न सकिरहेका थिएनन् । अहिले खेतखेतमै पानी पुगेर किसानको सिँचाइको आवश्यकता पूरा भइरहेको छ ।’
२०८० चैत २२ गतेदेखि सुरु भएको यो लिफ्ट सिँचाइको काम २०८१ असार २५ गते सकिएको हो । किसानले एक वर्षदेखि निन्तर यही पानीबाट सिँचाइ गरी खेती गरेका थिए । यो आयोजनाले ३५ घरका १ सय ४५ जना किसानलाई राहत मिलेको छ ।
कुल ५७ लाख ६१ हजार २ सय ३२ रुपैयाँमा यो आयोजना बनेको हो । जसमा ५४ लाख ८ हजार ७ सय ६० रुपैयाँ कृषि खाद्य प्रर्णालीका लागि नवीकरणीय ऊर्जा परियोजनाको लगानी छ । तातोपानी गाउँपालिकाले ३ लाख ५२ हजार ४ सय ७१ रुपैयाँ लगानी गरेको छ । नेपाल सरकार र नर्वे सरकारको सहयोगमा यूएनडीपीले यो परियोजना सुरु गरेको थियो ।
