हिउँद लागेसँगै उपल्लो डोल्पाका विद्यालय छ महिनाका लागि बन्द

चिसो बढ्दै गएपछि जारी शैक्षिक सत्रको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालयहरू छ महिनाका लागि बन्द गरिएको हो ।

कार्तिक ३०, २०८२

रामचन्द्र न्यौपाने

Schools in Upper Dolpa closed for six months as winter sets in

What you should know

डोल्पा — उपल्लो डोल्पामा चिसो बढेपछि विद्यालयहरू छ महिनाका लागि बन्द भएका छन् ।

दिन प्रतिदिन चिसो बढ्दै गएपछि जारी शैक्षिक सत्रको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालयहरू छ महिनाका लागि बन्द गरिएको हो ।

उपल्लो डोल्पा क्षेत्रमा प्रत्येक वर्ष छ महिनामात्रै पठनपाठन हुने गर्दछ । कात्तिक देखिनै अत्यधिक हिमपात हुने र कठ्याङ्ग्रिदो चिसो सुरु हुने भएकाले तीनवटा स्थानीय तहका सम्पूर्ण विद्यालयहरू कात्तिक पन्ध्र अगिनै बन्द हुने गरेका छन् ।

‘हाम्रो विद्यालय कात्तिक दोस्रो सातामै बन्द भइसक्यो, यसबीचमा वार्षिक परीक्षा पनि सम्पन्न भयो,' शे–फोक्सुण्डो गाउँपालिका–७ स्थित कु गाउँमा पर्ने टासी सुम्दो आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दबहादुर शाहीले भने ।

‘माथि बाक्लो हिउँ जमेको छ, विद्यालय सकेर घर फर्कँदा हिउँले खुट्टा खाएर दुई जना मिसहरू थलानै पर्नुभयो, कात्तिक दोस्रो सातापछि निरन्तर हिउँ पर्छ, यही भएर पनि प्रत्येक वर्ष यही समयमा विद्यालय बन्द हुन्छ’ उनले भने, 'अब एकैपटक सरहरू बैशाख दोस्रो सातातिर विद्यालय पुग्छौँ, त्यतिबेलासम्मका लागि विद्यालय बन्द हुन्छ, त्यसपछि एकैपटक कात्तिकमा फर्किने हो ।’

उपल्लो डोल्पामा प्रायः शिक्षकहरू तल्लो भेगबाटै गएका हुन्छन्, छ महिना विद्यालय निरन्तर खुल्ने भएकाले दशैँ, तिहार लगायतका ठूला चाडपर्वमा घर आउन पाउदैनन्। ‘उपल्लो डोल्पा भौगोलिक रूपमा बिकट र दुर्गम भएकाले तल्लो डोल्पाबाट जानै एक सातासम्म लाग्छ, कतिपयले विद्यालय जाँदा र घर फर्कँदा पनि लेक लागेर भिरबाट लडेर ज्यानसमेत गुमाउने गरेका छन्। 

शे–गाउँपालिकामा मात्रै आधारभूत र माध्यमिक गरेर कुल १३ वटा विद्यालय रहेका छन् । डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिकाका विद्यालयहरू पनि बन्द भएका छन् । डोल्पोबुद्धमा पनि यस वर्षको वार्षिक परीक्षा सकेर विद्यालय बन्द गरिएको सिद्धार्थ कुला आधारभूतका प्रधानाध्यापक मनोज बुढाले बताए ।

कात्तिकको दोस्रो सातामा नतिजा प्रकाशन गरेर छ महिनाका लागि विद्यालय बन्द गरिएको उनले बताए । डोल्पोबुद्ध गाउँपालिकामा पाँच वटा विद्यालय रहेको उनको भनाइ छ । डोल्पोबुद्धका सबै आधारभूत विद्यालय बन्द भए पनि धो स्थित क्रिस्टल माउण्टेन माध्यमिक विद्यालयमा पठनपाठन भइरहेको गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए ।

‘यो विद्यालय माध्यमिक तहसम्म सञ्चालित छ, कक्षा ३ सम्म पठनपाठन बन्द गरेर सरकारी शिक्षकहरू घरतर्फ लागिसके, अझै केही समय स्थानीय शिक्षकहरूले पठनपाठन गराउँछन्,’ उपाध्यक्ष गुरुङले भने । हिउँद लागेसँगै छार्काताङसोङ गाउँपालिकाका सम्पूर्ण विद्यालयहरू पनि छ महिनाका लागि बन्द गरेर शिक्षकहरू घरतिर लागेका छन् ।

यस गाउँपालिकामा कुल सातवटा विद्यालय रहेका छन् । उपल्लो डोल्पा भौगोलिक रूपमा बिकट र हिउँदमा अत्यधिक चिसो बढ्ने भएकाले कात्तिक दोस्रो सातामा वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालयहरू बन्द हुने गरेको शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका विद्यालय प्रशासन शाखा प्रमुख दलबहादुर बस्नेतले जानकारी दिए ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully