सदरमुकाम खलंगाको छेउतिर तिला नदीसँगै जोडिएको बसर्पाकभित्र एक करोड लागतमा बनेको भवन पनि प्रयोगमा नआउँदै जीर्ण भइरहेको छ ।
What you should know
जुम्ला — सात वर्षअघि निर्माण भएको बसपार्क पहुँच मार्गको विवादका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
बसपार्कमा अहिले न गाडी पार्किङ भइरहेका छन् न सवारीसाधन सहजै रुपमा जान सक्ने सडक नै छ । २०७६ सालमा निर्माण भएकाे बसपार्कसम्म जाने सडक बनाउन जग्गाको विवाद सुल्झाउन नसक्दा सञ्चालनमा आउन नसकेकाे हाे ।
बसपार्क संचालनमा नआउँदा सवारीसाधन सडकमै जथाभावी पार्किङ हुने गरेकाे छ । चन्दननाथ नगरपालिका–६ का हरिष रोकायाले सडकमा जथाभावी पार्किङ र अव्यवस्थित सडकले दुर्घटनाको जोखिम बढेको बताए । ‘विद्यालय जाँदा बालबालिकादेखि यात्रुलाई समेत ओहोरदोहोर गर्न कठिन छ,’ रोकायाले भने । उनले स्थानीय प्रशासन, नगरपालिका र सरोकारवाला कसैले चासो नदिएको गुनासो गरे ।
सदरमुकाम खलंगाको छेउतिर तिला नदीसँगै जोडिएको बसर्पाकभित्र एक करोड लागतमा बनेको भवन पनि प्रयोगमा नआउँदै जीर्ण भइरहेको छ । बसपार्कमा चाहिने न्यूनतम पूर्वाधारहरु समेत बनिसकेका छन् । चन्दननाथ नगरपालिकाले धेरैपटक बसपार्क सञ्चालनको प्रयास पनि गरेको थियो । यसका लागि नगरपालिकाले कार्यविधि समेत बनाएको छ । जग्गा विवाद समाधानका लागि नगरपालिकाले छलफल नै चलाए पनि अहिलेसम्म समाधान निस्कन सकेको जनाएकाे छ ।
बसपार्ककाे भवन, नालासहितका संरचनामा १ कराेड ६० लाख खर्चिएकाे थियाे । उपयाेगमा नआउँदा भवनको छानामा लगाइएका जस्ता चुहिन थालेको छ । पर्खाल चिरा परेका छन् । गाडी पार्किङ, यात्रु प्रतीक्षालय, टिकट काउन्टर, शौचालय, पानी बत्तीलगायतका सबै पूर्वाधार बनाइएको छ । तर सञ्चालनमा आउन नसक्दा सबै संरचना प्रयोगमा आउन सकिरहेका छैनन् ।
कर्णाली प्रदेशमा राजधानी सुर्खेतको वीरेन्द्रनगरपछि जुम्लामा सवारीको चाप बढी छ । यहाँ दैनिक सयौं संख्यामा गाडी गुड्ने गरेका छन् । अहिले सवारीसाधन पार्किङ र यात्रु चढाउने काम सडममै भइरहेकाले दुर्घटनाको जोखिमसँगै बजारलाई अस्तव्यस्त समेत बनाएको छ ।
बसपार्क सञ्चालन नहुँदा बजारका कुना–कुनामा यातायात व्यवसायीका काउन्टर राखिएका छन् । सवारी दुर्घटनाको जोखिम निम्त्याउने गरी सडकमै गाडी पार्किङ गर्ने गरिएको भए पनि सरोकारवाला मौन देखिन्छन् । तीपांग्रे अटोदेखि बस तथा ट्रकसम्मका सवारीसाधन सडकमै पार्किङ गरिँदा समस्या बढिरहेको स्थानीयले गुनासो छ ।
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बसपार्क सञ्चालनका लागि प्रयास सफल हुन नसकेको बताए । उनका अनुसार नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधि समेत बनाएको छ । ‘बसपार्क जाने सडकमा पर्ने धनीले निशुल्क जग्गा दिन मानिरहेका छैनन् । मुआब्जा दिन बजेटको व्यवस्थापन हुन सक्दैन,’ उनले भने, ‘सडकको जग्गा क्लियर नगरी बसपार्क बनाउँदा अहिले निल्नु न ओकल्नु जस्तै बनेको छ ।’
बसपार्कसम्म जाने सडकमा ७ जनाकाे जग्गा परेकाे छ । जग्गाधनीहरुले मुआब्जा माग गरेका कारण समाधान हुन नसकेकाे नगरपालिकाकाे दाबी छ । जग्गाधनी मीनबहादुर थापाले नगरपालिकाकाे बेवास्ताले बसपार्क संचालनमा नआएकाे बताए । 'सडक वरिपरीकाे जग्गा बराबर च्याप्नुपर्ने माग गरेकाे हाे । नगरपालिकाले चासाे दिएकाे छैन,' उनले भने ।
बसपार्कबाहिरबाट गाडी चढ्दा यात्रु ठगिने, क्षमता भन्दा बढी यात्रु राख्नेदेखि कसैले निगरानी गर्ने अवस्था नहरेकोले व्यवसायीको दादागिरी बढेको यात्रुहरुको गुनासो छ । बिहानदेखि साँझसम्म सडकमा गाडीको भीडले पैदल हिँड्न समेत मुस्किल हुने गरेको छ । बसपार्क सञ्चालन नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । ‘एक त सडक र बजार निकै साँघुरो छ । त्यसैमाथि बस, जीप अटो सबै पार्किङ गरेपछि आवतजावतमा समस्या देखिएको छ,’ स्थानीय पदम महतले भने, ‘जताततै पार्किङ गर्दा सुरक्षित यात्रा गर्न पाउने यात्रुको अधिकार पनि हनन् भएको छ । अब तत्काल बसपार्कबाटै सवारीसाधन छुट्ने वातावरण बनाउनुपर्ने देखिन्छ ।’
