कतै घुम्ती विद्यालय चलाइँदै छ भने कतै जाडो बिदा दिइएको छ भने नौवटा प्रहरी इकाइ सदरमुकाममा विस्थापित भएका छन् ।
What you should know
सुर्खेत — हुम्लास्थित नाम्खा गाउँपालिका–६ लिमीमा कात्तिक दोस्रो साता झन्डै आधा फिट हिमपात भयो । त्यहीबेला अधिकांश स्थानीय गाउँ छोड्ने तयारीमा थिए । ‘यसपालि छिट्टै हिउँ परेकाले १/२ दिन त गाउँमै थुनियौँ, त्यो हिउँ बिलाएपछि तल झरेका छौँ,’ गाउँ छोडेर सदरमुकाम सिमकोट पुगेका लिमीस्थित जाङगाउँका राङडोल तामाङले भने, ‘अब कम्तीमा ५ महिना बसाई नेपालगन्ज र सुर्खेततिर हुन्छ ।’ उनका अनुसार अहिले गाउँमा केही घर कुरुवा मात्र छन् ।
लिमीमा जाङ, हल्जी र तिल गरी गाउँ छन् । तीनवटै गाउँका बासिन्दाले हिमपात अघि नै बर्सेनि गाउँ छोड्छन् । हिउँदको समयमा गाउँमा हिँड्न नसक्नेहरु, अशक्त र घर कुरुवा मात्र बाँकी रहने तामाङले बताए । उनका अनुसार गाउँ छोडेकाहरु हिउँदका ५ महिना सदरमुकाम सिमकोट, नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत ठाउँमा बस्छन् । केही युवाहरु जडीबुटी र स्थानीय उत्पादनको व्यापारका लागि विभिन्न ठाउँमा डुल्ने उनले जानकारी दिए ।
लिमीमा अत्यधिक हिमपात हुँदा अन्नबालीको उत्पादन न्यून हुन्छ । गाउँ बस्नेका लागि खाद्यान्नको जोहो गरेर अधिकांश परिवार जाडो छल्न निस्किएको तामाङले बताए । उनका अनुसार गाउँमा हिमपात भएपछि सञ्चार र अन्य सम्बन्ध विच्छेद हुन्छ । ‘हिउँ परेपछि जनजीवन कष्टकर हुने भएकाले हिमपात नहुँदै गाउँ छाड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘बालबालिका पनि हामीसँगै आएपछि विद्यालयमा पनि जाडो बिदा भयो, गाउँका स्वास्थ्यचौकी र प्रहरी चौकी पनि सदरमुकाम सरिसके ।’
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले नाम्खा गाउँपालिकाका अधिकांश बस्ती झन्डै मानवविहीन बनेको बताए । उनका अनुसार नेपाल–चीन सीमास्थित हिल्साका झन्डै ३ दर्जन होटेलहरु चिसोले बन्द भएका छन् भने नारा लेकमा बाक्लो हिउँ जमेपछि सिमकोटदेखि हिल्सासम्मको यातायात सेवा बन्द भएको छ । ‘विद्यालयहरुमा जाडो बिदा दिइएको छ,’ उनले भने, ‘अहिले सीमान नाका हिल्सामा सशस्त्र प्रहरीको बीओपी र प्रहरी चौकीका सुरक्षाकर्मीको भरमा मात्र छ ।’
मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित मुगु, चितै, डोल्फू, कार्ति, किम्रीलगायत बस्ती पनि अहिले सुनसान छन् । चिसोका कारण गाउँका धाराहरुमा बरफ जम्न थालेपछि स्थानीयहरु सदरमुकाम गमगढी, सिरानीचौर, चितै कुना, गमगढीलगायत ठाउँमा झर्न थालेका हुन् । आधारभूत विद्यालय चितैका शिक्षक गुरुटसी तामाङका अनुसार चिसोले बस्ती खाली हुने भएपछि घुम्ती विद्यालय चलाउने गरिएको बताए । ‘अभिभावकसँगै बालबालिका आएपछि हामी शिक्षक पनि न्यानो ठाउँतिर आउँछौँ,’ उनले भने, ‘जता विद्यार्थी छन् त्यतै गएर घुम्ती स्कुल चलाउँछौँ ।’ उनका अनुसार गाउँ आसपासका खोलाहरुमा बरफ जमेपछि हिमाली बस्तीहरु सेताम्मे देखिन थालेका छन् ।
अत्यधिक चिसो बढेपछि मुगुस्थित सीमा प्रहरी चौकीलाई पनि सदरमुकाम सारिएको छ । चिसो बढेपछि कर्णालीभरिका ९ प्रहरी कार्यालय सदरमुकाम सारिएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी माधव श्रेष्ठले डोल्पाका ७, हुम्लाको एक र मुगुको एक वटा प्रहरी चौकी सदरमुकाम विस्थापित भएको बताए ।
बर्सेनि कात्तिकमा गाउँ छोडेका स्थानीयबासी गर्मी सुरु भएपछि फागुनमा मात्र गाउँ फर्कन्छन् । गाउँमा झन्डै ४ महिना घरकुरुवा र हिँड्न नसक्नेहरु मात्र बस्ने गरेको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार स्थानीयहरु चौरी, झोवा र घोडासहित गाउँ झरेका छन् । उनका अनुसार स्थानीयबासी गाउँ नउक्लिँदासम्म विकास निर्माणका कामकाज प्रभावित हुने गरेका छन् । ‘बाक्लो हिमपात र अत्यधिक चिसोले गाउँमा कोही बस्न सक्ने अवस्था हुँदैन, गाउँमा कोही नभएपछि वडा कार्यालयहरुको सेवाप्रवाह पनि ठप्प हुन्छ,’ उनले भने, ‘गाउँमा वर्षभरिमा एक बाली उवा मात्र फल्छ, जडीबुटी पाइने भएकाले मात्र स्थानीयले गाउँ छोड्न सकेका छैनन् ।’ उनका अनुसार फागुनदेखि असारसम्म हुने निर्माणका कामले मात्र पालिकाभरिको विकास धानिएको छ ।
