उपल्लो डोल्पामा हिँउमा फसेका ५ प्रहरीकाे हेलिकप्टरबाट उद्धार

नाम्दाेबाट धाे हुँदै दुनै हिँडेकाे करिब ३६ घण्टामा हिउँ र अत्यधिक चिसाेले खुट्टा खाएर हिँड्न नसक्ने अवस्था आएपछि उद्धार गर्नुपरेकाे हाे ।

कार्तिक २८, २०८२

रामचन्द्र न्यौपाने

5 policemen trapped in snow in Upper Dolpa rescued by helicopter

डाेल्पा — उपल्लो डाेल्पाबाट हिँउमा फसेका पाँच जना प्रहरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । शुक्रबार डाेल्पाेबुद्व गाउँपालिकास्थित धाेबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएकाे हाे ।

उद्वार हुने प्रहरीमा प्रहरी सहायक निरीक्षक देवदत्त पाण्डे, वरिस्ठ हवल्दार मणिराज जाेशी, हवल्दार जनकबहादुर कार्की, जवान नवराज भट्ट र नरेन्द्र भट्ट रहेका छन् ।

 

उद्धार गरिएका पाँचै जना शे-फोक्सुन्डो गाउँपालिका-१ निजालगुम्बास्थित अस्थायी प्रहरी चाैकीमा कार्यरत थिए । उनीहरु पाँचै जनालाई गत वैशाखमा नागरिकको शान्ति सुरक्षा गर्न भन्दै उपल्लो डाेल्पामा खटाइएकाे थियाे । 

 

नाम्दाेबाट धाे हुँदै दुनै पुग्ने भनेर हिँडेकाे करिब ३६ घण्टामा  हिउँ र अत्यधिक चिसाेले खुट्टा खाएर हिँड्न नसक्ने अवस्था आएपछि उद्धार गरिएको जिल्ला प्रहरी डाेल्पाका डीएसपी रुकबहादुर खड्काले जानकारी दिए । 

 

5 policemen trapped in snow in Upper Dolpa rescued by helicopter

हिउँले उनीहरु सबैकाे हातखुट्टा र अनुहार सुन्निएकाे छ । पाँचै जनालाई हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याएर सामान्य जाँच पछि थप उपचारका लागि सुर्खेत लगिएको छ ।

 

निजालगुम्बा क्षेत्रमा बाक्लाे हिउँ जमेर बस्न नसक्ने अवस्था आएपछि पाँचै जनालाई सदरमुकाम दुनैस्थित जिल्ला प्रहरी कार्यालयमा फर्किन निर्देशन गरिएको थियाे । दुनै फर्कने क्रममा हिँउले ज्यानै जाने जाेखिम भएपछि पाँचै जनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको हाे । 

 

प्रहरी कर्मचारीलाई कर्तव्यपालनका क्रममा समस्या परेमा प्रहरी प्रधान कार्यालयबाट उद्धार हुने गरिँदै आएकाे केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले जानकारी दिए ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully