सुर्खेतबाट औषधि किन्न नेपालगन्ज धाउँछन् सिकलसेलका बिरामी

प्रदेश अस्पतालदेखि अन्य निजी स्वास्थ्य संस्था भएको वीरेन्द्रनगरमा उपचार सुविधा नहुँदा कर्णालीका सिकलसेलका बिरामी नियमित परीक्षण र औषधि किन्न लुम्बिनी प्रदेशको नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ ।

कार्तिक २५, २०८२

तृप्ति शाही

Sickle cell patients rush to Nepalgunj to buy medicine from Surkhet

What you should know

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का प्रेमबहादुर चौधरी सिकलसेल एनिमियाका बिरामी हुन् । २०७३ सालदेखि यो रोगबाट पीडित उनी कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा उपचार पाउँदैनन् ।

प्रदेश अस्पतालदेखि अन्य निजी अस्पताल भएको वीरेन्द्रनगरमा उपचार नपाउँदा उनलाई नियमित औषधि र उपचारका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । रोग पहिचान भएदेखि उपचारका लागि नेपालगञ्ज धाइरहेको उनले बताए । औषधि लिन समेत टाढा जानुपर्दा उपचार भन्दा बढी रकम यातायात र बसोबासमा खर्च बढी हुने गरेको प्रेमबहादुरले बताए । 

प्रेमबहादुरमात्रै होइन, सुर्खेतका सबै सिकलसेल एनिमियाका बिरामीले उपचारका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ । सिकलसेलको उपचारको लागि सुर्खेतमा अस्पताल नहुँदा बिरामीले भेरी अस्पतालमा पुग्नपर्छ । महिनाको एकपटक अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने सिकलसेलका बिरामी सुर्खेतबाट नेपालगञ्ज पुग्नुपर्दा आर्थिक, शारीरिक, मानसिक समस्याबाट पीडित छन् ।

‘बिरामीलाई मासिक दुई हजार रुपैयाँ जतिको औषधि लाग्छ । उपचार र औषधिको खर्च भन्दा बढी सास्ती र आर्थिक भार खेप्नुपर्छ,’ स्थानीय विमला चौधरीले भनिन्, ‘नेपालगञ्ज गएर जाँच गर्न र औषधि लिन दुई दिन र यातायात खर्च गरी ५ हजार बढी लाग्छ ।’ उपचारको लागि बाहिर जाँदा विभेद र दुव्यर्ववहार समेत हुने गरेको उनको गुनासो छ । सुर्खेतमै उपचार र औषधिको व्यवस्था भएर थोरै रकममा पनि उपचार गर्न सकिने उनले बताइन् । 

प्रदेश अस्पताल सुर्खेतमै उपचार गर्ने व्यवस्था र औषधि पाइने व्यवस्था मिलाइदिनको लागि प्रेमबहादुरले आग्रह गरे । उपचारको लागि टाढा जानुपर्दा बिरामीलाई थप मानसिक र आर्थिक बोझ भएको गुनासो उनले गरे । एकातिर बिरामीले पीडित समुदाय अर्कोतिर सहज उपचारको पहुँचमा पुग्न नसक्दा समस्यामाथि समस्या थपिएको सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका अध्यक्ष दिलबहादुर चौधरीले बताए ।

सिकलसेलको अध्ययन र बिरामीको हकका लागि पैरवी गर्दै आएको यो संस्थाले बेलाबेला औषधि, उपचारको सुविधा सहज बनाइदिन माग गर्दै आएको छ । ‘सिकलसेल एनिमियाबाट थारू समुदायको पुस्ता नै प्रभावित हुन थालेको छ । तर सरोकारवाला पक्षले सामान्य रूपमा लिँदा रोग बढ्दै गएको छ,’ उनले भने, ‘विपन्न थारू समुदायलाई लाग्ने यो रोगको सहज उपचारका लागि सुर्खेतमै औषधि, उपचारको व्यवस्था गरिनुपर्छ ।’ सिकलसेलका बिरामीलाई परिचयपत्र र उपचार खर्चको व्यवस्था गर्न सके सहज हुने उनले बताए ।  

वीरेन्द्रनगर नगरपालिका—९ कालीमाटीका रामकृष्ण थारु नजिकमा उपचारको सुविधा नहुँदा नेपालगन्ज धाउन समस्या भइरहेको बताउँछन् । ‘रोगबाट आफ्नो परिवारै पीडित छ । त्यहीँ माथि उपचारको लागि नेपालगञ्ज जानुपर्दा आर्थिक भार परेको छ । भएको जमिन बेचेर परिवारै उपचार खर्चको जोहो गरिरहेको छु,’ उनले भने । 

Sickle cell patients rush to Nepalgunj to buy medicine from Surkhet

तराईमा बसाेबास रहेकाे थारु समुदायमा मात्रै देखिएको यो रोग कर्णालीको सुर्खेतमा बस्दै आएका थारु समुदायमा  पनि देखिएको छ । कर्णालीको सुर्खेतमा यस समुदायको बसोबास छ । वीरेन्द्रनगरका ४१ जना सिकलसेल पीडितले नियमित औषधि प्रयोग गरिरहेका छन् ।

थारु समुदायको सिकलसेल एनिमिया रोगका विज्ञ एवं नेपाल संस्कृत विश्वविद्यालयका विभागीय प्रमुख डा. सुरेन्द्र चौधरीले सुर्खेतमा बसाेबास गर्ने थारु समुदायमा पनि याे रोगका बिरामी बढ्दै गएको जानकारी दिए । २०८० मा गरेको सर्भेक्षणमा सुर्खेतमा ७ सय ३७ जनामा जाँच गर्दा ७० जना र २०८१ मा गरिएको जाँचमा २ सय १ मध्येमा १८ जनालाई सिकलसेल एनिमिया रोग देखापरेको बताए । परीक्षणको दायरा बढाउने हो भने बिरामी बढ्ने उनले बताए ।  

राष्ट्रिय जनगणना २०७८ अनुसार सुर्खेतमा थारु समुदायको जनसंख्या ७ हजार बढी छ । अहिले करिब ९ हजार थारू समुदायको रहेकोमा परीक्षण पर्याप्त मात्रामा हुन नसकेको थारु समुदायका अगुवा बताउँछन् ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य निरीक्षक किरण शर्माले प्रदेश सरकारले १२ वटा जटिल रोगको उपचारका लागि एक करोड बजेट विनियोजन गरेको छ । त्यसमा सिकलसेल एनिमिया पनि पर्ने भएकाले चालु आर्थिक वर्षमा उपचार खर्च व्यवस्थापनबारे पहल गरिने उनले बताए । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully