प्रदेश सरकारको प्राविधिक सहयोग र पालिकाको ब्यवस्थापनमा घर-घरमै गएर विरामीको स्वास्थ्य परीक्षण र उपचार गर्न थालिएको हो ।
सल्यान — दार्मा गाउँपालिकामा स्क्रब टाईफसको संक्रमण फैलिएको पुष्टि भएपछि बुधबारदेखि घर-घरमै गएर स्वास्थ्य परीक्षणका साथै उपचार गर्न थालिएको छ । प्रदेश सरकारको प्राविधिक सहयोग र पालिकाको ब्यवस्थापनमा घर-घरमै गएर विरामीको स्वास्थ्य परीक्षण र उपचार गर्न थालिएको हो ।
वडामा शिविर संचालन गरी स्वास्थ्य परीक्षण गर्दा ५१ जनामा स्क्रब टाईफस पोजेटिभ देखिएपछि घर-घरमै गएर स्वास्थ्य परीक्षण गर्न थालिएको हो। स्क्रब टाईफसका बिरामीको स्वास्थ्य परीक्षण पालिका र प्रदेश सरकारको प्राविधिक टोलीले वडा नं ३ को बेरुखेत, फारुलाबाट सुरु गरेको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए ।
घर-घरमै गएर बिरामीको परीक्षण सुरु गरेको पहिलो दिनमै ३१ जनाको स्वास्थ्य परीक्षण गर्दा थप ५ जनामा स्क्रब टाईफस देखिएको उनले बताए। उनका अनुसार दुई समूहमा विभाजन गरिएको स्वास्थ्यकर्मीको टोली बिहीबार बिहानै बुढाकाफल, लिगाछाप, ओजबाङ्ग लगायत विभिन्न स्थानमा खटिएको छ ।
‘घर-घरमै खटिएको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएका छन्। स्क्रब टाईफस पोजेटिभ देखिएमा घरमै उपचार तथा विभिन्न किसिमको सल्लाह दिँदै आएका छन्,’ उनले भने, ‘दुई दिनअघि स्वास्थ्य सेवा कार्यालय सल्यान र दार्मा गाउँपालिकाको सहकार्यमा वडा नं ३ र ५ मा शिविर संचालन गरी स्वास्थ्य परीक्षण गर्दा ५१ जनामा पोजेटिभ देखिएको थियो । बुधबार वडा नं ३ को केही स्थानमा बिरामीको स्वास्थ्य परीक्षण गर्दा पाँच जना थपिएपछि स्क्रब टाईफसका बिरामी ५६ पुगेका छन्।’
ज्वरो आएको भन्दै मेडिकलबाट सिटामोल किनेर खाने गरेका र स्क्रब टाईफसका बारेमा धेरै थाहा नभएका कारण उपचारमा ढिलाई हुँदा चार जनाले ज्यान गुमाएपनि अन्यले ज्यान गुमाउन नपरोस् भनेर अभियानकै रुपमा घर-घरमा गएर बिरामीको पहिचान गरी स्वास्थ्य परीक्षण भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।
