एकै वर्षमा स्याउ बिक्रीबाट जिल्लामा भित्रियो २ करोड २० लाख ।
What you should know
डोल्पा — डोल्पाबाट यस वर्ष चार सय मेट्रिक टन स्याउ निर्यात भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन इकाइ डोल्पाका अनुसार यति परिमाणमा स्याउ निर्यात भएको हो ।
स्याउबाट २ करोड २० लाख रुपैयाँ जिल्लामा भित्रिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय डोल्पाका प्रमुख गोविन्द मल्लले बताए । उनका अनुसार कार्यालयबाट स्याउ निर्यातका लागि ५० प्रतिशत ढुवानी अनुदान सहयोगमा डोल्पाबाट जाजरकोट, सल्यान, रुकुम, दाङ, पोखरा, सुर्खेत, काठमाडौं लगायतका जिल्लामा स्याउ निर्यात भएको हो ।
यससँगै कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि कार्ययोजना सार्वजनिक गर्नुका साथै सार्वजनिक सुनुवाइ कार्यक्रम पनि सम्पन्न गरेको छ ।
जारी आर्थिक वर्षमा कार्यालयले पुँजीगततर्फ २५ लाख ९३ हजार र चालूतर्फ ३ करोड ३४ लाख ६५ हजार गरी ३ करोड ६० लाख ५७ हजार रुपैयाँ विभिन्न कार्यक्रममा खर्च गर्ने जनाएको छ । वार्षिक स्वीकृत कार्यक्रमअनुसार यस वर्ष स्याउ, ओखर, दलहन/सिमी, भेडा–बाख्रा, आलु जोन बनाई काम गर्ने कार्यालयको भनाइ छ ।
कार्यालयले त्रिपुरासुन्दरी नगरपालिकाका वडा नं ३, ४, ठूलीभेरी नगरपालिकाका ११, जगदुल्ला गाउँपालिकाका सबै वडामा स्याउ जोन, काइके गाउँपालिकाका ७ र मुड्केचुला गाउँपालिकाका ६ वडामा सिमी जोन कार्यक्षेत्र बनाई काम गरिरहेको छ । कार्यालयका अनुसार चालु आवमा ५० हेक्टर क्षेत्रमा स्याउ खेती विस्तार गर्ने र एक हेक्टर क्षेत्रमा उच्च घनत्वको फुजी जातको स्याउ विस्तार गर्ने लक्ष्य राखिएको छ ।
केही वर्षयता डोल्पामा उत्पादन गरिएको स्याउले बजार पाउन थालेपछि कृषकहरू परम्परागत खेती छोडेर स्याउ खेतीतर्फ आकर्षित भएका छन् । यस वर्ष डोल्पाली कृषकले बोटबाटै प्रतिकिलो पचास रुपैयाँमा स्याउ बिक्री गरेका थिए । डोल्पामा मात्रै एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।
