कर्णाली प्रदेशका पहाडी जिल्लाहरुमा परम्परागत मेला र जात्राको रौनक सुरु भएको छ । पहाडी जिल्लाहरुमा दसैं–तिहारदेखि नै मेला–जात्राहरु सुरु हुन्छन् ।
सुर्खेत — शनिबारदेखि रुकुम पश्चिमको मुसीकोट नगरपालिका–५ मा पाँचदिने डिग्रे मेला सुरु भयो । बर्सेनि हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलाको अवसरमा मुसीकोट नगरपालिकाले मंगलबार र बुधबार दुई दिन सार्वजनिक बिदा नै दिएको छ ।
मेला भर्न बर्सेनि झण्डै एक लाख भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिको तथ्यांक छ । ‘अन्न, धन र पुत्र बरदानको लागि पूजापाठ गर्नेहरुको घुइँचो छ,’ समितिका अध्यक्ष लालबहादुर केसीले भने, ‘लोपोन्मुख सगाल (लठ्ठी), गरुवा, पैसेरु, सिंगारुलगायत नाच र विभिन्न सांस्कृतिक झाँकी प्रर्दशन हुन्छन्, जसका कारण मेलाले सांस्कृतिक र पौराणिक महत्व पनि बोकेको छ ।’
मन्दिरमा १६४१ सालको घण्ट सुरक्षित रहेकाले त्यसबेलादेखि नै मन्दिरमा पूजापाठ हुँदै आएको र मेला लाग्दै आएको विश्वास रहेको उनले बताए । रुकुम पश्चिम र आसपासका जिल्लामा दसैं–तिहार मान्न आएकाहरुसमेत डिग्रे मेला भरेर मात्र फर्किने गरेकाले यसको सामाजिक महत्त्वसमेत रहेको उनी बताउँछन् ।
उनका अनुसार रुकुम पश्चिमसहित रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट, दाङ, सुर्खेतलगायत जिल्लाका दर्शनार्थीहरु पूजाआजा गर्न, मेला भर्न र बली दिन डिग्रेमेला पुगिरहेका छन् । मेलाकै अवसरमा पूजापाठसहित झण्डै एक हजार बोकाको बली दिने गरिएको उनको भनाइ छ ।
कर्णाली प्रदेशका पहाडी जिल्लाहरुमा परम्परागत मेला र जात्राको रौनक सुरु भएको छ । पहाडी जिल्लाहरुमा दसैं–तिहारदेखि नै मेला–जात्राहरु सुरु हुन्छन् । जाजरकोटको रामीडाँडा र रमाइलो मेला, धारपानी मेला, झादेउ मेला, कार्कीज्युला मेला, पश्चिम रुकुमको डिग्रे मेला, शंखपीपल मेला, टापु मेला, रिम्ना मेलालगायत मेला पहाडी जिल्लाका प्रसिद्ध मेलाहरु हुन् ।
कर्णालीका गाउँहरुमा मंसिर पूर्णिमा, पुस १५, माघे संक्रान्ति, चैते दसैंलगायत पर्वका मेलाहरु पनि लाग्ने गरेको संस्कृतिविद् पुरुषोत्तम उपाध्यायले बताए । ‘अब त झण्डै ३/४ महिना गावैपिच्छे मेलाहरु लाग्छन्,’ उनले भने, ‘यी मेलाहरुमा देखाइने लोपोन्मुख परम्परागत नाच, गीत र सांस्कृतिक झाँकीहरुले विभिन्न संस्कृतिलाई पुस्तान्तरण गर्न पनि सहयोग पुर्याएको छ ।’
सल्यानको कुमाख मेला, छायाक्षेत्रलगायतका मेला पनि कर्णालीमा प्रसिद्ध मानिन्छन् भने दैलेखको डाँडीमाडी र वेस्तडा मेला पनि प्रसिद्ध छन् । यी सबै मेला व्यापारिक महोत्सवभन्दा सयौं वर्षदेखि आयोजना हुँदै आएका मौलिक मेला हुन् । मेलामा वल्लोपल्लो गाउँबाट भेला भएका स्थानीयले संस्कृति झल्कने लोकनृत्यहरु प्रस्तुत गर्दा मेलामा रौनकता बढ्ने गरेको दैलेखका अगुवा अमर सुनारले बताए ।
उनका अनुसार दैलेखमा हुड्के, देउडा प्रसिद्ध छ भने जाजरकोटमा देउडा, ख्याली, खाँडो, गर्रा, टप्पा नाच लोकप्रिय छ ।
मेलामा स्थानीय कृषि उत्पादन सखरखण्ड, सुन्तला, स्याउलगायत बिक्री हुन्छ भने जेरी, सेलरोटीलगायतका परिकार बनाइने गरिएको रुकुम चौरजहारीका यदु आचार्यले बताए । उनका अनुसार मेलामा युवाहरुको आकर्षणलाई ख्याल गरी लाखौं रकम पुरस्कार रहेको भलिबल प्रतियोगितासमेत आयोजना हुन्छ । मेलामा रोटेपिङ पनि नछुट्ने उनको भनाइ छ ।
‘यस्ता मेलापर्वले हाम्रो मौलिकता कायम गरिराखेका छन्, आपसी सद्भाव र भातृत्व पनि जीवित छ,’ उनले भने, ‘मौलिक खानपिन र नाचगानले संस्कृति संरक्षणमा पनि टेवा पुर्याइरहेको छ ।’
कर्णालीका हिमाली जिल्लाहरुमा पनि अधिकांश चाडबाड र मेलाहरु पूर्णिमा केन्द्रित छन् । अधिकांश बस्तीपिच्छे देउताका मठ (मष्ठ) छन् । ती मष्ठ–थानलाई खुसी पार्न हरेक पूर्णिमामा मेला पर्व लाग्छन् । ‘मष्ठ पूजा नै हाम्रा लागि दसैं–तिहारभन्दा ठूला पर्व हुन्,’ कालीकोटको पचालझरना गाउँपालिकाका अगुवा पूर्णबहादुर शाहीले भने, ‘वर्षभरिमा पर्ने १२ वटै पूर्णिमामा कुनै न कुनै मेला र पर्व परिरहेका हुन्छन्, जसले धार्मिक, ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्व बोकिरहेका छन् ।’
