दुई वर्ष बित्याे, दार्माका भूकम्पपीडितले पाएनन् राहत 

दार्माका १ हजार ६ सय ९३ जनाले पहिलो र दोस्रो दुवै किस्ता पाउन सकेका छैनन् ।

कार्तिक १७, २०८२

विप्लव महर्जन

Two years have passed, but earthquake victims in Darma have not received any relief.

सल्यान — जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर २०८० कात्तिक १७ गते राति गएको भूकम्पबाट घर क्षति भएका परिवारलाई सरकारले तत्काल राहतका लागि अस्थायी टहरा निर्माण गर्न ५० हजार उपलब्ध गराउने भने पनि सल्यानको दार्मा गाउँपालिकाका पीडितले अहिलेसम्म राहत रकम पाउन सकेका छैनन् ।

पालिकाले सबैको विवरण जिल्ला, प्रदेश हुँदै संघमा पेस गरे पनि विभिन्न कारण जनाउँदै आलटाल गर्दा पीडितले दुई वर्ष पुगिसक्दा पनि राहत पाउन नसकेका हुन् ।

भूकम्पका कारण दार्माका सबै वडामा ४ हजार ८१ घर क्षति भएका थिए । सरकारले गरेको निर्णयअनुसार अहिलेसम्म पालिकाका २ हजार ३ सय ८८ ले मात्र पहिलो किस्ताबापतको २५ हजार मात्र पाएका छन् । १ हजार ६ सय ९३ जनाले पहिलो र दोस्रो दुवै किस्ता पाउन सकेका छैनन् । 

सरकारले तत्काल राहतका लागि ५० हजार दिने भनेपछि दार्माका सबै पीडितले ऋण काढेर अस्थायी टहरा बनाएका थिए । राहत रकम पाउन नसकेपछि ऋण लिएर टहरा बनाएका पीडित परिवारले साहु र सहकारीको ऋण अहिलेसम्म तिर्न सकेका छैनन् । 

'सरकारले अस्थायी टहरा बनाउन ५० हजार दिने भनेपछि साहुसँग ऋण लिएर टहरा बनायाैं,' दार्मा-२ ठानागाउँकी ४२ वर्षीय ललिता खत्रीले भनिन्, 'अहिलेसम्म राहत रकम भने पाउन सकेनाैं ।' टहरा निर्माण गर्दा लिएको ऋण तिर्न कठिनाइ भएको उनकाे भनाइ छ । 'टिनले छाएको अस्थायी टहरा बस्न उपयुक्त नभएपछि अहिले भत्किएको घर मर्मत गरेर परिवारसहित बस्न बाध्य भएको छु,’ उनले भनिन्, ‘सरकारबाट अस्थायी टहरा बनाउने र क्षति पुगेको भवन पुननिर्माण हुने आसै लाग्न छाडिसक्यो ।'

दार्मा-३ का डिल्लीबहादुर खत्रीले सम्बन्धित निकायमा कागजात पेस गरेर अस्थायी टहरो बनाएपछि पहिलो किस्ता २५ हजार मात्र पाएको बताए । पहिलो किस्ता पाएको एक/दुई महिनाभित्रै दोस्रो किस्ता पाउनुहन्छ भने पनि अहिलेसम्म पाउन नसकेको उनकाे भनाइ छ । ‘सरकारले अस्थायी टहरो बनाउन पहिला २५ हजार दियो । बनाइसकेपछि २५ हजार दिने भनेपछि स्थानीय सहकारीबाट ऋण लिएर टहरो बनाए,’ उनले भने, ‘५० हजारभन्दा बढी खर्च लाग्यो । बाँकी रकम अहिलेसम्म पाउन नसक्दा सहकारीमा लिएको ऋणको ब्याज तिर्न गाह्रो भइरहेको छ ।’

सरकारले पीडितको आलो घाउमा मलम लगाउन अस्थायी टहरा बनाउन ५० हजार दिने र घर पुननिर्माण गर्ने निर्णय गरेपनि कागजमा मात्र सीमित रहेको दार्मा-२ दलसिंहका ४४ वर्षीय मोहन दमाई बताउँछन् । ‘भूकम्पले घर क्षति भएपछि तत्काल गतिलो त्रिपाल त पाउन सकिएन, क्षतिपूर्तिको के आस गर्नु,’ उनले भने ।  

अस्थायी टहरा निर्माणका लागि पाउनुपर्ने राहत रकम र घर पुननिर्माणका लागि जिल्ला, प्रदेश हुँदै संघमा पुगेर पटकपटक ताकेता गरे पनि विभिन्न बहाना बनाउने गरिएकाे दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । पालिकाभित्रका भूकम्पपीडितले अस्थायी टहरा बनाउन ५० हजारका दरले झन्डै २० करोड पाउनुपर्नेमा अहिलेसम्म ६ करोड मात्र निकासा भएर पाएकाे उनले जानकारी गराए । राहत  र क्षतिपूर्ति पाउन नसकेका सर्वसाधारण दुई वर्ष बितिसक्दा टहरोमा र भत्किएको घर मर्मत गरेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले पीडितको विवरण संकलनमा केही समस्या देखिएका कारण टहरो निर्माणका लागि राहत रकम पाउन नसकेको बताए । सरकारले जाजरकोट र रुकुमलाई मात्र प्राथमिकता दिएकाले सल्यानका पीडित ओझेलमा परेको जस्तो देखिएको उनकाे तर्क छ ।

सल्यानको दार्मामा भूकम्पले क्षति पुगेको घर छेवैमा त्रिपाल लगाएर बसेकी सुत्केरी । फाइल तस्बिर : कान्तिपुर 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully